कारोबार संवाददाता
आइतवार, चैत्र २३, २०७६
1097

धनगढी-कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित भएका तीनै जनालाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गर्न थालिएको छ । शुक्रबार राति गरिएको परीक्षणबाट थप तीन जनामा कोरोना संक्रमण देखिएपछि तीनै जनालाई सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको हो । उपचारमा संलग्न चिकित्सकले तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको जनाएका छन् ।
यसअघि कोरोना संक्रमण देखिएका धनगढी उपमहानगरपालिका–५, का युवकका भाउजु, कैलालीको लम्कीचुहा नगरपालिकाका २१ बर्षीय पुरुष र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । कैलालीका कोरोना संक्रमित भारतको मुम्बईबाट आएका हुन् भने कञ्चनपुरका कोरोना संक्रमित भारतको उत्तराखण्डबाट आएका हुन् । लकडाउन भएपछि नेपाल छिरेका दुबै जनालाई स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित भारतबाट आएका दुई जना भारतबाटै संक्रमित भएर आएका हुन् भने धनगढीकी ३४ वर्षीया महिलामा घरमै संक्रमण भएको हो । सुदूरपश्चिममा एकै दिन तीन जना संक्रमित देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । तीमध्ये चार जना सुदूरपश्चिम र बाँकी पाँच जना मात्रै अन्य प्रदेशका रहेका छन् ।
सेती प्रादेशिक अस्पतालका आकस्मिक सेवा बिभाग प्रमुख डाक्टर जगदिश जोशीले उपचाररत धनगढीमा युवाकी भाउजुमा कोरोना संक्रमण पोजेटिभ भएको रिपोर्ट आएपनि कुनै लक्षण देखा नपरेको बताए । उनले केन्द्रबाट आएको निर्देशन अनुसार समान्य लक्षण मात्र रहेकी उनलाई ल्याएर अस्पतालको आईसोलेसनमा राखिएको बताए ।
संक्रमण भएका युवाका परिवारलाई लक्षण देखा नपरेपनि चैत १९ गते परिवारका सहित १० जानको नमुना संकलन गरेर जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाएको थियो। यसअघि बिश्व स्वास्थ्य संगठनको गाईडलाईन अनुसार लक्षण नदेखिएको भन्दै नमुना जाँच गर्न नमिल्ने भन्दै चिकित्सकहरुले उनीहरुको नमुना संकलन गर्न मानेका थिएनन् ।
दुवईबाट चैत ८ गते आएका धनगढी उपमहानगरपालिका–५, तारानगरका ३४ बर्षीय युवक लक्षण देखा परेपछि चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना भाइरसको पोजेटिभ देखिएपछि धनगढीको रंगशालामा चैत १५ गतेदेखि दुई दिन उनको परिवारका ९ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । चैत १७ गते नमुना पनि संकलन नगरी उनीहरुलाई घर फर्काइएको थियो । संक्रमित परिवारका मान्छेले नमुना जाँच गर्न आग्रह गर्दापनि लक्षण नदेखिएसम्म गर्न नमिल्ने भन्दै स्वास्थ्यकर्मीले शुरुमा अस्विकार गरेका थिए । चौतर्फी आलोचना भएपछि बुधबार मात्रै उनीहरुको नमुन संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले संक्रमित युवाको सम्पर्कमा भएका व्यक्ती प्रहरीले पत्ता लगाइरहेको बताए । सेती अस्पतालमा अहिलेसम्म आईसोलेसनमा भर्ना भएका २३ जना मध्ये २१ जना डिस्चार्ज भएर घर गइसकेको डाक्टर जोशीले बताएका छन् ।
यसैगरी, लम्कीका कोरोना संक्रमित युवा लकडाउनको बेला भारतबाट फर्किएका थिए । कैलालीमा चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेको हुनाले उनले भारतबाट फर्किने क्रममा त्रिनगर नाकामा जम्मा भएको भिडमा उनी पनि सहभागी भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार चैत ११ गते गौरीफन्टा नाकाबाट उनीहरुलाई गाडी चढाएर लम्की पु¥याइएको थियो । नेपाल प्रवेशको माग गर्दै गौरीफण्टामा भएको नाराजुलुशमा उनी सहित झण्डै एक हजार जना सहभागी थिए ।
सुदूरपश्चिम प्रदेशमा भारतबाट समेत कोरोना देखिएपछि भारतबाट फर्किएका व्यक्तिहरुको पनि खोजी हुन थालेको छ । भारतमा कोरोना देखिएपछि रोजगारीका लागि भारत गएका करिब एक लाख जना सुदूरपश्चिमेली घर फर्केका थिए । ति मध्ये लकडाउन भइसकेपछि आउने केहीलाई मात्रै अनिवार्य क्वारेन्टाइनमा राखिएको छ भने अधिंकाश घर गएका छन् ।
भारतबाट आएका दुई जनामा एकै दिन र एक जनालाई घरबाटै कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिममा कोरोना संक्रमणको त्रास बढेको छ । सरकारले लकडाउन गरेपनि मानिसहरुले सडकमा हुलमै हिड्ने र भारतबाट फर्केका युवाहरु पनि गाउँघर डुल्ने गरेकाले सुदूरपश्चिममा कोरोनाको जोखिम बढि छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्वास्थ्य निर्देशनालयका अधिकारीकारीलाई बोलाएर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा अहिलेसम्म भए गरेका कामबारे जानकारी लिएका छन् । सो क्रममा उनले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने पनि बताए ।

 


सातामा धेरै पढिएको