कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १६, २०७६
296

टोकियो-जापानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या बढेपनि नेपालीहरू सुरक्षित रहेको नेपाली राजदूतावास जापानले जनाएको छ ।नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जापानमा रहेका सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेको जानकारी दिएका छन् । कारोबारसँगको कुराकानीमा उपनियोग प्रमुख अर्यालले हालसम्म सबै नेपाली सुरक्षित रहेपनि संक्रमणको जोखिम उच्च रहेकाले सबै नेपालीले सावधानी अपनाउनुपर्ने बताए ।
“हामीले यहाँ रहेका संघसंस्थाका प्रतिनिधि तथा सञ्चार माध्यममा कार्यरत व्यक्तिहरूसँग नियमीत सम्पर्क गरेर जानकारीहरू लिनेकाम गरिरहेका छौं,” अर्यालले भने,“केही व्यक्तिमा कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको बताइए पनि परीक्षणपछि मौसमी फ्लुमात्र भएको पुष्टि भएको छ ।” पछिल्लो तथ्यांकअनुसार जापानमा करिब ९० हजार नेपाली बसोवास गर्दै आएका छन् । सबैभन्दा धेरै करिव २० हजार नेपाली राजधानी टोकियोमा बसोबास गदै आएका छन् ।बिहीबारसम्म जापानमा कोरोना भाइरसको संक्रमणबाट ७जनाको निधन भएको छ । ९ सय व्यक्ति संक्रमित भएका छन् भने यस्तो संख्या दिनहुँ बढिरहेको छ ।

गोकर्ण अधिकारी