कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
350

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नं. ७ छोटेबगरमा अस्पताल सञ्चालनमा ल्याएको हो । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अस्पतालको उद्घाटन गरे ।
गाउँपालिकाले अस्पतालका लागि आवश्यक भवन निर्माणका साथै बेडसहित विभिन्न उपकरण, औषधि खरिद गरेको छ । त्यस्तै चिकित्सकसहित अस्पतालका लागि आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारी भर्नासमेत गरेको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए ।

अस्पतालका लागि गाउँपालिकाले हालसम्म करिब ६० लाख बजेट खर्च गरेको छ । अस्पताल व्यवस्थापनका लागि चालू आवका लागि गाउँपालिकाले डेढ करोड बजेट विनियोजन गरेको अध्यक्ष पुनको भनाइ छ । अस्पतालको मुख्य भवन भने संघीय सरकारको बजेटबाट निर्माण भएको हो । स्वास्थ्य चौकीको भवनका लागि आएको बजेटबाट निर्माण भएको भवन अस्पतालका लागि प्रयोग गरिएको छ भने बाँकी संरचना गाउँपालिकाले निर्माण गरेको गाउँपालिका अध्यक्ष पुनले बताए ।
संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवालाई सुनिश्चित गर्नका लागि आफ्नै लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । “प्रत्येक नागरिकले सहज र सुलभ आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार राख्नुहुन्छ,” उनले भने, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरपालिकाले २५ र गाउँपालिकाले १५ शैयासम्मको अस्पताल सञ्चालन गर्ने प्रावधानअनुसार हामीले अस्पताल सञ्चालन गरेका हौं ।”
अस्पताल सञ्चालनमा आएपछि अब सानीभेरी गाउँपालिकाबासीले गाउँमै चिकित्सकीय सेवा पाउने भएका छन् । गाउँपालिकाले अस्पतालका लागि एमबीबीएस डाक्टर नियुक्त गरेको छ । अस्पतालबाट आकस्मिक सेवा, ल्याब सेवा, एक्सरे सेवासहित आधारभूत चिकित्सकीय सेवा प्रदान हुने गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले जानकारी दिए ।