कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
394

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ लायन्स क्लब अफ काठमाडौं अल्का र लियो क्लब अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङ्गणमा शिविर आयोजना गरेको जनाएको छ ।
मुटु दिवसका अवसरमा अल्का अस्पतालले बिरामीहरूका लागि विभिन्न ल्याब परीक्षणमा छुट दिएको छ । ईसीजी, ईको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ ।
मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरू निःशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दिलिप थापाले बताए । उनकाअनुसार निःशुल्क शिविरका जाँच गरिएका बिरामीहरूलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिएको भन्दै उनले शिविरमा जाँच गरेकाहरूको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने पनि बताए ।