कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
387

धनगढी- सुदूरपश्चिम प्रदेशमा डेंगु र स्क्रब टाइफस प्रकोप बढ्दै गएको छ । यी रोग नियन्त्रणका लागि सरकारी निकायबाट ठोस पहल नहुँदा महामारीको रूप लिन थालेको हो ।
प्रदेशमा स्क्रब टाइफसका बिरामीको संख्या एकै दिनमा ५३ बाट बढेर ७४ पुगेको छ । शनिबारसम्म स्क्रब टाइफसका बिरामी ५३ जना थिए भने यो संख्या २१ जनाले बढेर आइतबार ७४ जना पुगेका छन् । डेंगुभन्दा स्क्रब टाइफसको संक्रमण तीव्र गतिमा बढेको भए पनि प्रदेशका सरकारी नियकायले यो रोग नियन्त्रणका लागि भने कुनै पनि क्रियाकलाप सञ्चालन गरेको छैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाजुराबाहेकका जिल्लामा डेंगुका रोगी भेटिएका छन् भने अछाम र बाजुराबाहेकका जिल्लामा स्क्रब टाइफस भेटिएको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा ४५ जनामा डेंगु र ७४ जनामा स्क्रब टाइफस देखापरेको छ ।
कैलालीमा २०, कञ्चनपुरमा आठ, दार्चुलामा आठ, डोटीमा दुई, डडेल्धुरामा तीन, बझाङमा एक, बैतडीमा एक र अछाममा दुई जनालाई डेंगु संक्रमण भएको छ । त्यसैगरी, डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, कञ्चनपुर, दार्चुला र बझाङमा २-२ जनामा स्क्रब टाइफसका बिरामीले उपचार गराएका छन् ।
डेंगुबाट डोटीका एकजनाको अस्पतामा उपचारकै क्रममा मृत्यु भएको भने धनगढीमा स्क्रबटाइफसबाट एकजनाको मृत्यु भएको छ । रोगले महामारीको रूप लिएर नागरिकको मृत्यु हुँदासम्म स्थानीय, प्रदेश र संघीय सरकारले कुनै पनि नियन्त्रणको प्रयास नगरेको जन गुनासो छ ।