अमरराज आचार्य
सोमवार, भदौ ३०, २०७६
370

दाङ-जिल्लामा आर्थिक समस्याका कारण आँखाको उपचारबाट वञ्चित हुनु नपर्ने भएको छ । नेपाल नेत्रज्योति संघ र स्थानीय सरकारबीच मोतिया विन्दुको निःशुल्क सल्यक्रियाको सहमति भएको छ ।
यससँगै राप्ती आँखा अस्पतालले आँखा उपचार सेवामा थप विशिष्टिकृत सेवा ल्याउने पहलसमेत जारी राखेको छ । साथै आफ्नो कार्य क्षेत्र विस्तारको गुरुयोजना समेत अघि सारेको छ । सम्भवतः स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यो गुरुयोजनामा सघाउ पु¥याउने छन् । पछिल्लो जानकारी अनुसार दृष्टि क्रान्तिको अभियान थालेको नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले प्रदेश नंं ५ र ६ का विभिन्न जिल्लामा निःशुल्क आँखा शिविर आयोजना गरी उज्यालो प्रदान गरिरहेको छ । स्थानीय सरकारको सहयोगमा आठ सय बढी मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङले संघद्वारा सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको प्राविधिक सहयोग तथा स्थानीय निकायको आर्थिक सहयोगमा ८ सय २२ जना आँखामा मोतिया विन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको जनाएको छ । आर्थिक अभावका कारण मोतिया विन्दुको शल्यक्रिया गर्न नसकेका बिरामीलाई स्थानीय निकायसँग साझेदारी कार्यक्रम सञ्चालन गरी निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गरिएको संघका सभापति कृष्णकुमार गिरिले जानकारी दिए । उनले कर्णालीको विकट क्षेत्र जुम्लाकोट, कालिकोटमा समेत पुगेर अस्पतालले करिब ५ सय बढीलाई उज्यालो प्रदान गरिसकेको बताए । उपचार सेवाको सीमा नहुने बताउँदै जहाँ बिरामी त्यहीं स्वास्थ्य सेवाको अभियानमा आफूहरू लागेको पनि उनले बताए ।
भरखरै सकिएको आर्थिक वर्षमा जिल्लाका १० वटा स्थानीय निकाय र कर्णाली प्रदेशको सल्यान जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । जसअन्तर्गत तुलसीपुर उपमहानगरपालिका भित्रका १ सय १४ जना, घोराही उपमहानगरपालिकाका ४० जना, लमही नगरपालिका भित्रका १ सय ५८ जना, बबई गाउँपालिकामा ७९ जना, गढवा गाउँपालिकामा १ सय ४७ जना राजपुर गाउँपालिकामा १ सय ८ जना, शान्तिनगर गाउँपालिकामा ५० जना, राप्ती गाउँपालिकामा २१ जना, सल्यानको छत्रेश्वरी गाउँपालिकामा ५५ जना र कपुरकोट गाउँपालिकाका ५० जना ज्येष्ठ नागरिकहरुको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले जानकारी दिए ।
आर्थिक अभावका कारण आँखामा लागेको मोतिया विन्दुका कारण कोही कसैले पनि अन्धोपनमा जीवन बिताउ नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग साझेदारी गरी निःशुल्क मोतिया विन्दुको शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको संघका अध्यक्ष गिरिको भनाइ छ ।
त्यस्तै स्थानीय निकायका जनप्रतिनिधिले पनि ज्येष्ठ नागरिकलाई उज्यालो प्रदान गर्ने उद्देश्यले साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उज्यालो संसार कार्यक्रमअन्तर्गत यो अभियान अस्पतालसँग साझेदारीमा सञ्चालन गरेको जानकारी दिए । उनले यस कार्यक्रमलाई निरन्तरता दिन आर्थिक वर्ष ०७६-७७ मा पनि ‘उज्यालो संसार’ अभियानअन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिका भित्रका मोतियाविन्दु भएका बिरामीको निःशुल्क आँखाको शल्यक्रियाका लागि १० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले आर्थिक अभावका कारण घरमा नै मोतियाविन्दुको कारण आँखा बन्द भएका ज्येष्ठ नागरिकलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्न यस कार्यक्रमले सहयोग पु¥याएको भन्दै निरन्तर्ता दिने बताए ।
त्यस्तै प्रदेश नंं ५ ले पनि आँखा अस्पतालहरुको सहकार्यमा निःशुल्क आँखाको शल्यक्रिया शिविरको सञ्चालन गरी दृष्टिविहीनता अन्त्यका लागि ५ करोड ४५ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै राप्ती गाउँपालिकाले यस वर्ष करिब १३ लाख बजेटको व्यवस्था गरेको छ । त्यस्तै अन्य स्थानीय निकायहरुले पनि उज्यालो प्रदान गर्ने उद्देश्यले बजेट छुट्याउने बताएका छन् ।