मीनकुमार नवोदित
मंगलबार, पुष १५, २०७६
401

विराटनगर-छिनमै हँसाउँदै छिनमै रुवाउँदै ‘छिँडीभरिको आकाश’ नाटकको मञ्चन सकिएको छ । गत मंसिर २८ गतेदेखि विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाटकको मञ्चन सुरु भएको थियो ।
वरिष्ठ साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेका थिए– ‘छिँडीभरिको आकाश’ कथा । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर विभिन्न जिल्ला पुग्दा देखेको घटनालाई प्रधानले कथामा उनेका थिए । युवा साहित्यकार कटवाल दीपकले कथाको नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । हरेक दिन हाउसफुल मञ्चन भएको नाटकले कुलतले एउटा परिवारलाई कसरी तहसनहस बनाउँछ भन्ने देखाएको थियो । नाटकले रुवाउने मात्रै होइन पेट मिचिमिची हँसाएको थियो । हसाउने र रुवाउने सिन भएकाले पनि दर्शकले बढी रुचाएको पत्रकारसमेत रहेका आयोजक संस्था विराट आदर्श साहित्यिक मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले बताए ।

नाटक हेरिरहँदा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीमात्रै होइन मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारी, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठी, प्याब्सन मोरङकी वरिष्ठ उपाध्यक्ष शितला सुब्बा, सचिव प्रेमलाल सुवाल, वरिष्ठ समाजसेवी वेनिगोपाल मुन्दडालगायत पनि आँसु झार्न बाध्य भए । आँसु थाप्न नसकेपछि गोजीबाट रुमाल झिकेर आँसु पुच्छ बाध्य भए उनीहरू । “वास्तवमै नाटकले आँसु नै झा-यो,” उपमेयर कार्कीले भनिन्, “नाटकको कथामा घटेको घटनाक्रमभन्दा माथि उठ्न सकेको छैन अझै पनि हाम्रो नेपाली समाज ।” नाटक हेरेर पहिलोपटक रोएको उपमेयर कार्कीले बताइन् ।
नाटकबाट प्रभावित भएर समाजसेवीसमेत रहेका उद्योग संगठनका कोषाध्यक्ष नन्दकिशोर राठीले कलाकारलाई हौसला प्रदान गर्न १० हजार रुपैयाँ प्रदान गरे । दुव्र्यसन र कुलतका कारण परिवार ध्वस्त भएको विषयलाई मात्रै उठान गरेको छैन नाटकले बेरोजगारी, महिला हिंसा, बालमनोविज्ञानलाई पनि सशक्त रुपमा उठाएको थियो । ३२ वटा शो हाउसफुल भएको मञ्चका अध्यक्षसमेत रहेका कटवालले जानकारी दिए । ११ हजारभन्दा बढी दर्शकले नाटक हेरेको आयोजकको भनाइ छ ।
विद्यालय र क्याम्पसहरूले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाएका थिए । ग्रामीण र सहरिया जीवनलाई सशक्त रुपमा उठान गरिएको नाटक मानिसलाई सही मार्गमा लाग्न प्रेरित गर्ने खालको भएकाले पनि दर्शकको चाप बढेको प्रमुख सल्लाहकार नवोदितको भनाइ छ । “दुव्र्यसनका कारण एउटा परिवार कसरी ध्वस्त हुन्छ भन्ने विषय कारुणिक रुपमा प्रस्तुत गरिएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भयो,” नवोदितले भने, “नराम्रो काममा लाग्दा कस्तो परिणाम प्राप्त हुन्छ भन्ने सन्देश दिएकाले पनि विद्यार्थीले बढी रुचाए ।” अहिले विद्यार्थीलाई नाटक देखाउनु भोलिका लागि दर्शक तयार गर्नु भएको उनको भनाइ छ । “युवा विद्यार्थीलाई सही मार्गमा लाग्न अभिप्रेरित गर्नुका साथै भोलिका दर्शकसमेत तयार गरिरहेका छौं,” उनले भने ।
नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको थियो । काबरा ग्रुपको बुलेट चाउचाउले मुख्य प्रायोजन गरेको नाटकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुलले प्रायोजन र सोम्स कलेजले सहप्रायोजन गरेका थिए । नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, विवेक आचार्य, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल र अनुसा भण्डारीले अभिनय गरे । मञ्चले यो नाटक यसअघि पनि आरोहण गुरुकुलमा दुईपटक मञ्चन गरेको थियो ।