गोपाल संग्रौला
आइतवार, जेठ ११, २०७७
2220

विमान सुचारु नभएसम्म खानबस्न पैसा दिइने

कतार र साउदी अरेबियामा कोरोना संक्रमण बढ्दै जान थालेपछि हाल सञ्चालनमा रहेका रोजगारदाताले समेत नेपाली कामदारलाई बिदा दिन थालेका छन् । विशेषगरी अदक्ष कामदारलाई स्वदेश फर्कने सेवा सुविधासहित बिदा दिन सुरु गरेको नेपाली श्रमिकले बताएका छन् ।
कतार एयरलाइन्सले त्यहाँ कार्यरत नेपालीहरूलाई सेवा सुविधासहित विमान सेवा सञ्चालन नभएसम्म बस्ने र खाने व्यवस्थासहित बिदा दिन थालेका छन् । कतार एयरलाइन्सको मेसमा काम गरिरहेका नेपालीलाई क्रमशः कामबाट बिदा दिने गरेको एक नेपालीले बताए । कोरोनाको संक्रमण बढ्दै जान थालेपछि धेरै कामदार भएका विभागबाट क्रमशः घर जाने बिदा दिइरहेको उनले बताए ।
“दैनिकजसो बिदा दिने गरेको छ,” ति नेपालीले भने, “यसरी बिदा दिएका नेपालीलाई सेवा सुविधा र घर नफर्किएसम्मका लागि खाने बस्ने पैसा भने दिएको छ ।” कतिपय रोजगारदाताले लकडाउनका कारण स्वदेश फर्कने अवस्था नआएसम्म कम्पनीले नै खाने र बस्ने पैसा दिने गरेका छन् ।
रोजगारदाता कम्पनीले रोजगारीबाट बिशेषगरी अदक्ष कामदारलाई निकाल्ने गरेको देखिएको छ । अन्य देशको तुलनामा नेपालबाट धेरै अदक्ष श्रमिक जाने गरेका कारण यसरी गएका नेपाली श्रमिकको रोजगारी गुम्ने गरेको छ । कतारमा बिगत एक हप्तादेखि सबै प्रकारका व्यवपार व्यवसाय र कारखाना बन्द भएका छन् । केही रोजगारदाताले भने अन कल रोजगारी प्रणाली शुरु गरेका छन । काम भएको बेला मात्र रोजगारी दिने गरी सेवा क्षेत्रका कम्पनी भने सञ्चालनमा रहेका छन् ।
वैदेशिक रोजगारीमा गएका मध्ये ठूलो संख्याका नेपालीहरू अदक्ष कामदारको रूपमा रहेका कारण कोभिड १९ को असरवाट कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेष्टुरेण्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने वैदशिक रोजगार व्यवसायीले बताएका छन् । वैदशिक रोजगार व्यवसायी संघका महासचिव सुजीतकुमार श्रेष्ठले जानकारी दिए । “कोरोना संक्रमण बढ्दै गए अदक्षमात्र होइन भिसा अवधि समाप्त भएका, गैरकानुनी रूपमा विदेश गएका वा कागजात विहिन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काइने छ,” उनले भने, “कोभिड–१९ को फैलावट अनुसार रोजगारी गुम्ने गुमाउनेको संख्यामा फेरबदल हुनेछ ।”
रोजगारी गुम्ने नेपाली श्रमिकको संख्याको अनुमान गर्न सहज नभए पनि श्रम स्वीकृति लिई विदेशमा काम गर्नेको संख्या २५ देखि ३० लाख नेपाली आवद्ध रहेको अनुमान छ । २०७४-२०७५ मा ५ लाख ७९ हजार ७२१ पुरुष र ३२ हजार ९६४ महिला गरी जम्मा ६ लाख १२ हजार ६८५ नेपाली श्रमिकहरू १४२ मुलुकमा श्रम स्वीकृति लिई गएको देखिन्छ । त्यस्तै ०७५-०७६ मा ४ लाख ७६ हजार ७०५ पुरुष र ३२ हजार १२३ महिला गरी ५ लाख ८ हजार ८२५ नेपाली श्रमिकहरू १३६ मुलुकमा श्रम स्वीकृति लिई गएको देखिन्छ ।
दुई २ बर्षे करार अबधि वा भिसाको समयावधि समाप्त भै स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत रहेको छ भने त्यस्तै कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भै श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत देखिने व्यवसायीको अनुमान छ । समग्रमा भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ५ देखि ६ लाख नेपाली श्रमिकहरू नेपाल फर्किने देखिन्छ ।
विश्व जनसंख्याको १५ प्रतिशत बेरोजगार हुने आकलनलाई नै आधार मान्ने हो भने पनि तत्काल रोजगार गुमाउने नेपालीको संख्या २५ प्रतिशतभन्दा कम हुने देखिँदैन । त्यसमा पनि पर्यटन क्षेत्रमा परेको नकारात्मक असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्टलगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ । मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने प्रारम्भिक आकलन छ ।