प्रकाश लम्साल
बिहिवार, जेठ ८, २०७७
395

बारा-कोरोना संक्रमण बढेसँगै पथलैया–वीरगन्ज औद्योगिक करिडोरका उद्योगमा कार्यरत भारतीय श्रमिकहरू फर्किन थालेका छन । प्रहरी, प्रशासन र स्थानीय तहहरूमा श्रमिक र उद्योगले भारत फर्कने विवरणसहितको निवेदन दिएका थिए ।
दुई दिनमै करिडोरमा कार्यरत करिब १ हजार भारतीय प्राविधिक र मजदुरले घर फर्कन प्रहरी र स्थानीय तहमा आग्रह गरी निवेदन दिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । उनले एक दुई दिनमै सबै निवेदनको आधारमा सहज गर्न जिल्ला प्रशासनले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा प्रक्रिया थाल्ने बताए ।

स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डअनुसार कर्मचारी र कामदारलाई आफ्नै होस्टेल क्वाटर र आवासमा राखेरमात्र उद्योग सञ्चालन गर्न पाउने नियम बनेपछि भारतीय कामदारले उद्योगभित्र बसेर काम गर्न नचाहेपछि घर फर्कन थालेका हुन् । थोरै भारतीय प्राविधिक र अधिकांश नेपाली स्थानीय रहने केही उदोगले भने भारतीयको इच्छाबमोजिम उद्योग परिसर बसेर काम गर्नेबाहेक भारत जानेलाई फर्काउन थालेका छन् ।
सरकारले तोकेको मापदण्डमा करिडोरका केही उदोग सञ्चालनमा आए पनि धेरै उद्योग चल्न सकेका छैनन् । उद्योगले मासिक तलबसमेत कटौती गरी भुक्तान गर्ने जानकारी गराएपछि भारतिय श्रमिकहरू फर्कन लागेका हुन् । भरत फर्कन चाहने करिडोरका मजदुरहरूको तथ्यांक स्थानीय तह प्रहरी र प्रशासनले संकलन गरिरहेको छ । कतिपय उद्योगले नै श्रमिकको विवरण दिइरहेका छन् भने कतिपय श्रमिक परिवारसहित बसेका छन ।।
स्थानीय तह र उद्योगी प्रशासनको समन्वयमा केही दिनमा पूर्ण विवरण आएपछि भारतीय दुतवासलगायतका निकायमा जानकारी गराई जान दिने प्रक्रियाबारे दुवै देशका सीमावर्ती प्रतिनिधिबीच छलफल भई निर्णय हुने जनाइएको छ ।
करिडोरका फलाम, सिमेन्ट, स्टिललगायतका निर्माणजन्य र जोखिम काममा भारतीय मजदुरहरूले काम गर्दै आएका छन् । उत्पादन, लोड, अनलोडमा भारतीय मजदुर बढी छन् भने उदोगमा दक्ष प्राविधिकमा पनि भारतीयकै बाहुल्य छ ।