गोपाल संग्रौला
बिहिवार, जेठ ८, २०७७
355

वैदेशिक रोजगारी संकट 


विदेशमा लाखौं नेपालीको रोजगारी गुमिरहेका बेला नेपालबाट विदेश जान तयार भएका सवा १ लाख युवाको पनि रोजगारी गुमेकोे छ । श्रम गन्तव्यमा संक्रमणदर बढ्दै गएर भएका रोजगारी समेत गुम्न थालेपछि नेपालबाट जाने तयारीमा रहेका १ लाख १५ हजार श्रमिकको रोजगारी गुमेको हो ।
वैदेशिक रोजगार व्यवसायी संघले हालै सार्वजानिक गरेको अध्ययन प्रतिवेदनमा श्रम गन्तव्यका रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागवाट विदेश जान अनुमति प्राप्त गरि गरेका श्रमिक रोकिएको उल्लेख छ । संघका महासचिव सुजीतकुमार श्रेष्ठका अनुसार कोरोनाभाइरस महामारीका कारण १ लाख १५ हजार विदेश जान पाएका छैनन् भने पूर्वस्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६८१ श्रमिक पठाउने सम्बन्धी सबै कार्य बन्द छ । “सम्भवतः यी कामदार अब जान पाउने छैनन्,” उनले प्रतिवेदन उल्लेख गर्दै भने, “विदेशस्थित नेपाली कुटनैतिक नियोगहरूले अहिले नै कति नेपालीले रोजगार गुमाउने छन् भन्ने तथ्यांक दिन नसकेको र यस महामारीले कस्तो रूप लिन्छ र कहिलेसम्म रहन्छ भन्ने निश्चित भएपछि वास्तविक तथ्यांक दिन सकिन्छ ।” नेपालको वैदेशिक रोजगारी सुचारु हुन वर्षौं लाग्ने जनाउँदै व्यवसायीले तत्काल नेपाली युवा विदेश जाने अवस्था नरहेको जनाएका छन् ।
नेपालमा वार्षिक करिब ५ लाख युवा श्रमशक्ति कामको खोजीमा श्रम बजारमा प्रवेश गरिरहेका बेला विदेश जान रोकिएसँगै नेपाली श्रम बजार ब्यबस्थापन गर्न साच्चै नै चुनौतीपूर्ण रहेको विज्ञले बताएका छन् । रोजगारविज्ञ एवम् समाजशास्त्री डा. गणेश गुरुङ नेपालमा अहिले नै उच्च बेरोजगारी र श्रमको अल्पउपयोगको अवस्था रहेको बताउदै विदेश जान नसक्ने र विदेशबाट फर्कनेका लागि कृषि र ठूला परियोजनामा रोजगारी सृजना नगरे भयाभव अवस्था हुने बताउँछन् ।
वैदेशिक रोजगारमा जाने युवा रोकिएसँगै यससँग सम्बन्धित व्यवसाय पनि ठप्प हुँदा १२ देखि १३ लाखसम्म बेरोजगार नेपालमै बढ्ने विज्ञको अनुमान छ । “यस्तो अवस्थामा स्वदेशमा रोजगारी गुमाउने र विदेशमा रोजगारी गुमाइ फर्कनेलाई काम दिन विशेष योजना वनाई रोजगारी सिर्जना गर्नु पर्ने देखिन्छ,” विज्ञ गुरुङको सुझाव छ, “कोरोना महामारीबाट संकुचनमा परिरहेको अर्थन्त्रमा वैदेशिक रोजगारीमा आइपर्ने कठिनाइ थप हुँदा आन्तरिक रूपमा बेरोजगारी समस्या झनै मौलाउने र त्यसले सामाजिक रूपमा पनि थप समस्या निम्त्याउने जोखिम रहन्छ ।” उनका अनुसार बढ्दो बेरोजगारी अन्त्यका लागि सर्वप्रथम त हाल कार्यान्वयनमै रहेका राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको तीव्र गतिमा काम अघि बढाउनु पर्छ ।
व्यवसायीले समेत वर्षौंदेखि सम्पन्न हुन नसकेका परियोजनाहरू मेलम्ची खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, सिक्टा सिचाइँ योजना, गौतम वुद्ध अन्तर्राष्ट्रिय विमास्थललगायत राष्ट्रिय गौरवका आयोजनालाई द्रुत गतिमा अघि बढाई रोजगार दिन सरकारलाई सुझाव दिएका छन् ।

विदेशबाट फर्कनेको संख्या फरक
कोरोनाका कारण वैदेशिक रोजगारीबाट कति नेपाली फर्कन्छन् भन्ने बारे सरकार र निजी क्षेत्रको अनुमानमा समेत एकरूपता छैन । सरकार र नीजी क्षेत्रको तथ्यांक फरक फरक हुदा भ्रम सिर्जना भइरहेको छ । सरकारको प्रारम्भिक अनुमानअनुसार प्रमुख श्रम गन्तव्यबाट २ लाख ५० हजार फर्कन सक्ने जनाएको छ भने व्यवसायीले समग्रमा भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ५ देखि ६ लाख नेपाली श्रमिकहरू नेपाल फर्किने अनुमान गरेको छ । सरकारले विभिन्न नियोगमार्पmत लिएको प्रारम्भिक तथ्यांक अनुसार साउदी अरव कतार, युएई मलेसियाबाट २ लाखभन्दा बढी फर्किनसक्ने अनुमान छ । संक्रमणबाहेक करार सकिएका तथा आममाफी पाएकाहरू थप १ लाख भन्दाबढी फर्किन सक्ने परराष्ट मन्त्रालयको अनुमान छ । त्यसमध्ये सवैभन्दा धेरै कतारबाट ७५ हजार, साउदी अरेबिया २० हजार, यूएईबाट १२ हजार फर्किने अनुमान सरकारको छ ।