प्रा.डा. रामप्रसाद ज्ञवाली
सोमवार, मंसिर ३०, २०७६
579

सौर्य ऊर्जा, वायु ऊर्जा, जल ऊर्जा आदि नवीकरणीय ऊर्जाका उदाहरण हुन् । यसको हिस्सा बढाउनु आफैंमा चुनौतीपूर्ण छ ।

दिगो विकासको अवधारणा संयुक्त राष्ट्रसंघबाट निर्देशित र संसारभरि लागू गरिएको विकासको अवधारणा हो । नेपाल पनि संयुक्त राष्ट्रसंघको सदस्य भएका नाताले दिगो विकासका लक्ष्यहरूलाई विकास अवधारणामा आत्मसात् गर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघले यस अवधारणाअन्तर्गत निर्दिष्ट गरेका लक्ष्यहरूलाई सन् २०३० अर्थात् आगामी एक दशकभित्र हासिल गरिसक्नुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघले विश्वव्यापी रूपमा लागू गरेका यी १७ वटा लक्ष्यको प्रवधानलाई संक्षिप्त रूपमा तल चर्चा गरिएको छ । कतिपय लक्ष्य नेपालका लागि अलि महत्वाकांक्षी, कतिपय स्वाभाविक र कतिपय अलि असान्दर्भिक पनि हुन सक्छन् ।

गरिबीको अन्त्य गर्ने
संयुक्त राष्ट्रसंघको अभिलक्ष्य त गरिबीको अन्त्य भएको अर्थतन्त्रको निर्माण गर्नु हो । नेपाल सरकारले प्रस्ताव गरिएका प्रमुख परिमाणात्मक लक्ष्यहरूमा सन् २०३० सम्ममा जुनसुकै स्थानमा रहेका सबै जनताको चरम गरिबी उन्मूलन गर्ने प्रमुख लक्ष्य हो । यो लक्ष्यअनुरूप नेपालले सन् २०३० मा चरम गरिबीलाई ५ प्रतिशतभन्दा कममा झार्ने सोच राखेको छ । यसका लागि नेपालको प्रतिव्यक्ति आयलाई सन् २०३० मा २ हजार ५ सय अमेरिकी डलर पु-याउन प्रस्ताव गरेको छ । हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ३७ अमेरिकी डलर रहुको छ । निःसन्देह रूपमा नेपालका लागि यो लक्ष्य चुनौतीपूर्ण रहनेछ ।

शून्य भोकमरी
संयुक्त राष्ट्र संघले शून्य भोकमरीको दिगो विकासको लक्ष्य लिएअनुरूप सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्ने र सबै जनताको सुरक्षित, पोषणयुक्त र पर्याप्त खानामा वर्षैभरि पहुँच सुनिश्चित गर्ने परिमाणात्मक लक्ष्य लिएको छ । यस्तै सबै प्रकारका कुपोणको अन्त्य गर्ने र सानास्तरका खाद्यान्न उत्पादकहरूको कृषिको उत्पादकत्व र आय दोब्बर वृद्धि गर्नेसमेत अभिलक्ष्य लिएको छ । यो दोस्रो लक्ष्य प्रप्तिका लागि सन् २०३० मा कुपोषणलाई ३ प्रतिशतमा झार्ने, पाँच वर्षमुनिका बालबालिकामा पाइने कम तौललाई ९ प्रतिशतमा झार्ने, प्रजनन उमेरका महिला तथा बालबालिकाहरूमा रहेको रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति खाद्यान्न उत्पादन कम्तीमा ६६ प्रतिशतले बढाउने जस्ता परिमाणात्मक लक्ष्यहरू राखिएको छ । हाल पनि नेपालमा ६ देखि ५९ महिना उमेरका बालबालिकामध्ये ३०.१ प्रतिशत कम तौलका छन् ।

राम्रो, स्वस्थ र समृद्ध जीवनस्तर
यो लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्ममा मातृ मृत्युदरलाई ७० भन्दा कम गर्ने; नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाहरूको रोक्न सकिने मृत्युलाई अन्त्य गर्ने; एचआईभी एड्स, क्षयरोग, औलोज्वरोजस्ता रोगहरूको अन्त्य गर्ने; यौन एवं प्रजनन स्वास्थ्यमा सवेको पहँुच निश्चित गर्ने जस्ता लक्ष्य लिएको छ, जसअन्तर्गत मातृ मृत्युदरलाई ७० भन्दा कम गर्ने लक्ष्य राखिएकोमा विश्वव्यापी लक्ष्यअनुरूप भएको पाइन्छ । नेपालले नवजात शिशुहरू र ५ वर्षमुनिका बालबालिकाको रोक्न सकिने मृत्युलाई सन् २०३० सम्ममा कम्तीमा क्रमशः १२ र २० मा ओराल्ने परिमाणात्मक लक्ष्यहरू राखेको छ । सन् २०१५ मा यो तथ्यांक क्रमशः २३ र ३८ थियो । नेपालले स्वास्थ्य उपचार खर्चलाई सन् २०३० मा कम्तीमा कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत पु-याउने विश्वव्यापी लक्ष्यअनुरूप लिएको छ ।

गुणस्तरीय शिक्षा
गुणस्तरीय शिक्षाको अन्तर्राष्ट्रिय लक्ष्यमा सन् २०३० सम्ममा सबै बालबालिकाहरूलाई निःशुल्क, समानतामूलक र गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा उपलब्ध गराउनु हो । नेपालले सन् २०३० सम्ममा प्राथमिक तहमा खुद भर्नादर र प्राथमिक तह पूरा गर्ने दर ९९.५ प्रतिशत र माध्यमिक तहमा सहझै देखिने भर्नादर ९९ प्रतिशत पु-याउने लक्ष्य रहेको छ ।

लैंगिक समानता
सन् २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपालले सबै महिला र किशोरीहरूविरुद्ध हुने सबै प्रकारका विभेदलाई अन्त्य गर्ने; बेचबिखन, यौन र अरू प्रकारका शोषण, हिंसा अन्त्य गर्ने; बालविवाह, जबर्जस्ती विवाह र महिला जनेन्द्रिय अंगभंग गर्ने जस्ता सबै हानिकारक व्यवहारहरूको अन्त्य गर्ने; राजनीतिक, आर्थिक र सार्वजनिक जीवनको निर्णय–निर्माणका महिलाहरूको सहभागिता र समान अवसरहरूको सुनिश्चितता गर्ने जस्ता लक्ष्यहरू पर्छन् । समान कामका लागि समान ज्याला दिने; संघीय संसद्मा महिलाको प्रतिनिधित्व ४० प्रतिशत पु-याउने; सार्वजनिक सेवामा महिलाको हिस्सा ३३ प्रतिशत पु-याउने; लैंगिक असमानता सूचकांक ०.०५ मा झार्ने जस्ता लक्ष्यहरू यसअन्तर्गत पर्छन् ।

स्वस्थ पानी र सरसफाइ
सुरक्षित खानेपानी र स्वस्थ शौचालय यस लक्ष्यका प्रमुख सूचकहरू हुन् । असल स्वास्थ्यका लागि यी दुवै तŒव अनिवार्य छन् । सन् २०३० सम्ममा आधारभूत खानेपानी सेवामा पहुँच भएको जनसंख्या ९९ प्रतिशत पु-याउने, पाइपबाट आपूर्ति गरेको खानेपानीमा पहँुच ९० प्रतिशत र सुधारिएको सरसफाइमा पहुच ९५ प्रतिशत पु-याउने लक्ष्य छ । सफा शौचालयमा पहुँच हुने जनसंख्या ९८ प्रतिशत बनाउने लक्ष्य ताकिएको छ ।
सन् २०१५ सम्ममा आधारभूत खानेपानी सेवामा पहँुच भएको जनसंख्या ८७ प्रतिशत र सरसफाइमा पहुँच भएको जनसंख्या ८२ प्रतिशत थियो । अझ पनि ८२.२ प्रतिशत प्रदूषित खानेपानी प्रयोग गरेका अाँकडा छ । त्यस्तै ६७.६ प्रतिशत जनसंख्याले मात्रै शौचालय प्रयोग गरेका आँकडा छ । सहरमा मात्र ३० प्रतिशत परिवार ढल प्रणालीमा जोडिएका छन् । अतः यो अभिलक्ष्य पनि त्यत्तिकै चुनौतीपूर्ण देखिन्छ ।

खर्चले धान्न सक्ने सफा ऊर्जा
खर्चले धान्न सक्ने सफा ऊर्जामा सर्वव्यापी पहुँच कायम गर्नु, पूर्ण ऊर्जामा नवीकरणीय ऊर्जाको हिस्सा अभिवृद्धि गर्नु र ऊर्जा उपयोगको दक्षता दोबर बनाउनु यसका अभिलक्ष्यहरू हुन् । दिगो विकासका परिमाणात्मक लक्ष्यहरूमा ९९ प्रतिशत परिबारको पहुँच आधुनिक ऊर्जामा पु-याउनु, खाना पकाउन प्रयोग हुने दाउराको हिस्सा ३० प्रतिशतमा झार्नु रहेका छन् ।
सौर्य ऊर्जा, वायु ऊर्जा, जल ऊर्जा आदि नवीकरणीय ऊर्जाका उदाहरण हुन् । यसको हिस्सा बढाउनु आफंैमा चुनौतीपूर्ण छ । सन् २०१५ को आँकडाअनुसार एलपी ग्यासको प्रयोग १८ प्रतिशतमा छ भने बिजुलीमा पहुँच मात्र ७४ प्रतिशतको छ, जुन आफैंमा अपर्याप्त छ । नेपालमा आधुनिक ऊर्जाको आपूर्तिमा उतारचढाव अर्को समस्याका रूपमा रहेको छ ।

मर्यादित काम र आर्थिक वृद्धि
अर्थशास्त्रीहरूले विशेष चासोका रूपमा हेरिने दिगो विकासको आँठौ लक्ष्य हो । यसले मर्यादित काम र आर्थिक वृद्धिलाई केन्द्र बिन्दुका रूपमा लिएको छ । विश्वस्तरका लक्ष्यहरूमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ७ प्रतिशत हासिल गर्ने छ । ठूला उद्योगहरूको कुल उत्पादनको मेटेरियल इन्टेनसिटीलाई ६० प्रतिशतमा झार्ने, अर्धबेरोजगारी दरलाई १० प्रतिशतभन्दा कम गर्ने र बालश्रमको अन्त्य गर्ने जस्ता लक्ष्यहरू छन् ।
यसका अतिरिक्त नैपालमा पर्यटन क्षेत्रमा रोजगारीहरूको संख्या १० गुनाले वृद्धि गर्ने, कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान चार गुनाले वृद्धि गर्ने, प्रति १ लाख जनताका लागि वाणिज्य बैंकका शाखाहरूको संख्या सन् २०३० मा हालको भन्दा दोब्बर (३६ ले) बढाउनेजस्ता परिमाणात्मक लक्ष्यहरू पनि निर्धारण गरिएको छ । विगतको दुई दशकमा नेपालले औसत ४ प्रतिशतको वृद्धि हासिल गरेकोमा ७ प्रतिशतको दिगो वृद्धि हासिल गर्नु निःसन्देह रूपमा गाह्रो हुनेछ । प्रतिव्यक्ति आय २५ सय अमेरिकन डलर हासिल गर्न पनि नेपाललाई हम्मे पर्नेछ ।
दिगो विकासका अन्य लक्ष्यहरूमा उद्दोग प्रवद्र्धन र पूर्वाधार; असमानता घटाउने; सहरहरू र समुदायको दिगोपना; उपभोग र उत्पादनमा जिम्मेवारीपना; जलवायुसम्बन्धी कार्य; पानीमुनिको जीवन; भूसतहको जीवन; शान्ति न्याय र समृद्ध सस्थाहरू र लक्ष्यहरूका लागि साझेदारी पर्छन् । यी लक्ष्यहरूको परिपालना गर्न सकेमा नेपाल अबको १० वर्ष समृद्ध बन्ने निश्चित छ । यसका लागि सरकारले पर्याप्त गृहकार्यका साथ लाग्न ढिला गर्न हुँदैन ।