कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
246

काठ इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्नेबारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरू रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरूमा गरेको अध्ययन प्रतिवेदन अनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र न्यूमोनिया भएको देखिएको छ ।
सो सम्वन्धमा हालै आयोजना गरेको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्वन्धी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोजीजूले भने, “नेपालमा व्यवसायजन्य दुर्घटनामा वर्षेनी २ सयभन्दा वढीको मृत्यु हुन्छ तर विभाग वा मन्त्रालयमा रिपोर्ट नै आउँदैन ।”

हरेक उद्योग प्रतिष्ठानले श्रम अडिट र व्यवसायजन्य स्वास्थ्यमा वर्षेनी अडिट गरेको खण्डमा मजदुरहरूको स्वास्थ्य र जीवन सुरक्षित हुने उनको कथन थियो । मजदुरहरूमा सचेतना नहुँदा व्यवसायजन्य सुरक्षा नभएको र रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न नसक्दा धेरै मजदुरहरू अंगभंग भइरहेको उनले जानकारी दिए ।
उनले भने, “उद्योग प्रतिष्ठानमा दुर्घटना भई मजदुर अशक्त भएमा वा व्यवसायजन्य रोग लागेमा उनले खाइपाइ आएको ६० प्रतिशत बराबरको मासिक पेन्सन दिनु पर्ने प्रावधान छ । यसैले यो अवस्था आउनै नदिनका लागि उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनुपर्छ ।”
अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदुरहरूको स्वास्थ्य स्थिति भयावह रहेको र मजदुरहरूले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको बताए । उनले भने, “६९.५ प्रतिशत मजदुरले कामकै कारण स्वास्थ्य विग्रिएमा उपचार खर्च आफैले व्यहोर्दै आएको र दुर्घटना भएको अवस्थामा पनि रोजगारदाताले केही अंश मात्र व्यहोर्दै आएका छन् ।”
अध्ययनमा सहभागी ३२.५ प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै नभएको र ७.५ प्रतिशतले यससम्वन्धमा सुन्दै नसुनेको पाएको उनले बताए । मजदुरहरूको वासस्थान ४ फिटभन्दा अग्लो नभएको र भुइँको चिसोमा सुत्न भएको पनि उनले अध्ययनको क्रममा पाएको बताए । शौचालय पनि अव्यवस्थित र खानेपानी पनि स्वस्थकर नभएको पाइएको अध्ययनकर्ता दुवालले जानकारी दिए ।
कार्यक्रममा नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव केपी अवालले इँटाभट्टामा मजदुरहरू मौसमी हुने गरेकाले र वर्षेनी कामदार फेरिने गरेकाले श्रम ऐन अनुसार मजदुरहरूलाई बुझाउन गाह्रो भइरहेको बताए । उनले भने, “सरकारको नीति नियम एकातिर छ र वस्तुस्थिति अर्कै हुँदा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न समस्या भइरहेको छ ।”
इँटा भट्टाबाट हुने प्रदूषण अत्यन्तै कम भइसकेको र सरकारी मापदण्डअनुरुप काम भइरहेको बताउँदै उनले ५ ओटा प्रदेशमा इँटा प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताए । व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा इँटा उद्योग महासंघ एकदमै संवेदनशील रहेको र यसमा सवैपक्षको उत्तिकै सहयोग आवश्यक रहेको उनको टिप्पणी थियो ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकारका लागि रेस्फेकले काम गर्दै आएको र मजदुरहरूको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन बढ्ने बताए । उनले भने, “व्यवसायी, मजदुर र सरकारसँग मिलेर इँटा भट्टामा देखिएको समस्यालाई समाधान गर्न त्रिपक्षीय छलफल निरन्तर गरी कार्यक्रम अगाडि बढाइनेछ र नीति तथा कानुन कार्यान्वयनमा रहेका व्यवहारिक कठिनाइ पहिल्याइ भावी कार्यक्रम तय गरिनेछ ।” उनले अध्ययन प्रतिवेदनका आधारमा इँटा भट्टामा सचेतनामुलक तालिम चलाइने पनि जानकारी दिए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले कुनै पनि पेशा वा व्यवसायको प्रकृति अनुसार कार्यथलोमा काम गर्दा श्रमिकहरूको स्वास्थ्यमा पर्ने शारीरिक, मानसिक वा जोखिमयूक्त असुरक्षित वातावरणलाई घटाउँदै स्वस्थ र सुरक्षित वातावरण स्थापित गर्न विकसित भएको अवधारणालाई नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य भनिने जानकारी दिए । उनका अनुसार व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा ध्यान दिए औद्योगीक दुर्घटना ९० प्रतिशत रोक्न सकिन्छ ।
नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव योगेन्द्र कुँवरले कुनै पेशा-व्यवसायमा संलग्न भएकै कारण काम वा पेशाको प्रकृति अनुसारको लाग्ने अल्पकालिन तथा दिर्घकालिन विभिन्न रोगहरू व्यवसायजन्य रोग भएको जानकारी दिए । यस्तो किसिमको रोग बैंकमा काम गर्ने कर्मचारीदेखि उद्योगमा काम गर्ने मजदुरसम्मलाई लाग्ने जानकारी उनले दिए ।
जनस्वास्थ्य अभियन्ता प्राडा शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्वन्धमा नेपालमा खासै अध्ययन नभएको र रेस्फेकले गरेको अध्ययन नीति निर्मातादेखि मजदुरसम्मका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए ।