कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
487

गत जेठ महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्ला गर्न नेपाल र मलेसियाबीच सहमति भएको छ ।

दुइ देशबीच गत कार्तिक १२ गते भएको समझदारी कार्यान्वयनमा लैजानेगरी विहिबार सहमती भएको हो । नेपाली श्रमिकले कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
अब सोही अनुरुप नेपाली कामदार मलेसिया जानेछन् । उक्त सम्झौतामा नेपाली श्रमिकको हकमा आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च (फ्रि भिसा र फ्रि टिकट) रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, कामदारको बैंक खातामा रोजगारदाता कम्पनीले हरेक महिना ७ गते तलब भुक्तानी गराइसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।

सम्झौता अनुसार रोजगारीका लागि मलेसियामा कार्यरत श्रमिक बिरामी र दुर्घटनामा परे रोजगारदाता कम्पनीले अनिवार्य क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ ।
मलेसियाले लिँदै आएको लेबी, स्वास्थ्य परीक्षण लगायत अन्य प्रक्रियामा लाग्ने खर्च पनि रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ । तर सुरुमा नेपालमा स्वास्थ्य परीक्षण लगायतको खर्च नेपाली श्रमिकले स्वयं गर्नुपर्ने र मलेसिया पुगिसकेपछि पहिलो महिनाको तलबसँगै रोजगारदाताले सो रकम उपलव्ध गराउनुपर्ने बुँदामा समेटिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र उमेश ढुंगाना नेतृत्वको टोलीले मलेसियामा विहिबार समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति गरेसँगै १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला हुने पक्का भएको हो । यस विषयमा क्वाललम्पुरमा दुई देशका अधिकारी बीच तीन दिने सम्म वार्ता भएको थियो ।