गोपाल संग्रौला
बिहिवार, भदौ २६, २०७६
594

सामाजिक सुरक्षा कोषले श्रम कानुन र सामाजिक सुरक्षाको दायरामा नपरेका अनौपचारिक र स्वरोजगार श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा ल्याउने गृहकार्य सुरु गरेको छ । औपचारिक क्षेत्रमा रहेका रोजगारदाता प्रतिष्ठानहरू सामाजिक सुरक्षा योजनामा भइरहेका बेला सरकारले अनौपचारिक र स्वरोजगारलाई समेत योजनामा ल्याउने योजना सुरु गरेको छ ।
अधिकांश ठूला रोजगारदाताले योजनामा सामेल हुन इच्छा देखाए पनि सामाजिक सुरक्षा कोषले आवश्यक कानुनी संरचना बनाएर श्रम कानुन र सामाजिक सुरक्षाबाट टाढा रहेका अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई समेत योजनामा आबद्ध गर्ने तयारी गरेको हो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले औपचारिक क्षेत्रमा रहेका श्रमिक र रोजगार प्रतिष्ठान योजनामा समेल हुन देखाएको रुचीसँगै अनौपचारिक र स्वरोजगारलाई समेत ल्याउन लागिएको बताए । “तर यसका लागि कानुनी र संरचनागत रूपमा केही सुधार भइरहेकाले आगामी आर्थिक वर्षबाट योजना अघि बढाइने छ,” उनले भने “हाल संगठित क्षेत्रको सूचीकरण, नेटवर्क स्थापनाको काम भइरहेकोले यसले पुर्णता पाएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा जान ऐन, नियम बनाएर जाने योजना छ ।” कोषले कानुनी प्रक्रिया मिलाएर सबैलाई योजनामा सामेल गराउने लक्ष्य सहित कोषको वार्षिक कार्यक्रममा नै राखेको जनाएको छ ।

कोषले अनौपचारिक क्षेत्रलाई योजनामा ल्याउन अहिले कानुनी प्रक्रियाको बारेमा अध्ययन गरिरहेको जनाएको छ । स्वरोजगार र अनौपचारिक श्रमिकलाई योजनामा ल्याउन कोषले प्रक्रियागत गृहकार्यका लागि चालुआर्थिक वर्षको कार्यक्रम तथा योजनामा नै राखेर अध्ययनको तयारी सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत अनौपचारिक र स्वरोजगार क्षेत्रलाई सामाजिक सुरक्षा योजनामा ल्याउने जनाउदै केही कानुन भने बनाएपनि पूर्ण भने छैन । सामाजिक सुरक्षा ऐनमा अनौपचारिक क्षेत्रमा रहेकाहरूले पनि योजनामा सामेल हुनसक्ने गरी कानुनी प्रावधान भने गरेको छ ।
श्रम शक्ति सर्वेक्षण २०१७-२०१८ मा ५९ लाख ९ हजार ९९४ मानिस अनौगचरिक क्षेत्रमा कार्यरत रहेका छन । यो सम्पूर्ण श्रमिकमध्ये ८४ प्रतिशत हुन आउछ । जबकी औपचारिक क्षेत्रमा १५ प्रतिशत अर्थात १० लाख मानिस कार्यरत रहेको देखिन्छ । अनौपचारिक क्षेत्रका निर्माण, सेवा, यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा औपचारिकभन्दा अनौपचारिक श्रमिक धेरै रहेका छन् । अनौपचारिक र स्वरोजगारका क्षेत्रमा श्रम कानुन पूर्ण रूपमा लागू नभएका कारण यसलाई सामाजिक योजना ल्याउन भने चुनौतीपूर्ण देखिन्छ । प्रदेशअनुसार सबैभन्दा बढी प्रदेश २ मा अनौपचारिक क्षेत्रका श्रमिक रहेको देखिन्छ भने सबै कम अनौपचारिक श्रमिक रहेको ३ नं. प्रदेश रहेको छ । अनौपचारिक श्रमिकमध्ये ९० प्रतिशत ग्रामिण क्षेत्रमा कार्यरत रहेको राष्ट्रिय तथ्यांक विभागले गरेको अध्ययनमा उल्लेख छ । अनौपचारिक क्षेत्रमा काम गर्ने महिला ९.५ प्रतिशत रहेका छन भने पुरुषको संख्या १९ प्रतिशतको हाराहारीमा रहेको छ । अनौपचारिक क्षेत्रमा कार्यरत ९४ प्रतिशत श्रमिक १८ देखि २४ वर्ष समूहका छन् ।
योजना ५ हजार प्रतिष्ठान र ५० हजार श्रमिक
बुधबारसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार पुगेको छ भने ५ हजार प्रतिष्ठान दर्ता भइसकेका छन् । अनलाइनमार्पmत सूचीकरणका राखिएको सफ्टवेयरमा सुधार गरेपछि सूचीकरण हुनेको संख्या बढेको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार योजनामा सुचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको छ ।