गोपाल संग्रौला
सोमवार, भदौ २३, २०७६
556

धेरै श्रमिक कार्यरत व्यावसायिक प्रतिष्ठान र त्यसमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सरकारले टोली नै खटाएर सूचीकरणको तयारी सुरु गरेको छ ।सामाजिक सुरक्षा कोषमा आवद्ध हुन ठूला रोजगारदाताले अनुरोध गरेपछि कार्यस्थलमा गएर सूचीकरणको तयारी सुरु गरिएको हो ।
सामाजिक सुरक्षा कार्यलयले ठूला रोजगारदाताको सूची तयार गरेर विगत १ हप्तादेखि योजनामा आबद्ध हुन सूचना समेत पठाउन थालेको छ । सामाजिक सुरक्षा योजनामा सूचीकरण हुने समयावधि कम भइरहेका बेला कोषले जनशक्ति र प्रविधिको प्रयोग गरेर सूचीकरणलाई तिब्रता दिएको कोषका कार्यकारी निर्देशक कपिलमणिज्ञवालीले बताए । “योजनाबारे जानकारी नभएका ठूला रोजगारदातालाई योजनामा आबद्ध गराउन कोषले ठूला करदाता कार्यालयको सहयोगमा सूची समेत तयार गरिसकेको छ,” कार्यकारी निर्देशक ज्ञवालीले भने, “ठूला करदाता कार्यालयबाट प्राप्त गरेको ठूला रोजगारदाताहरूलाई योजनामा सूचीकरण गर्न अनुरोध गर्ने काम भइरहेको छ ।”
कोषमा हालसम्म ४ हजार १ सययोगदानकर्ता श्रमिकले बुझाएको सामाजिक सुरक्षा रकम ४० लाख पुगिसकेको छ । ठूला रोजगारदाता र धेरै श्रमिक रहेका उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा कोषले सूचीकरणका लागि पहिलो चरणमा जानकारीमूलक कार्यक्रम सञ्चालन परिसकेको निर्देशक ज्ञवालीले बताए । भक्तपुर औद्योगिक क्षेत्रमा मंगलबार कोषको टोली गएर सूचीकरणका लागि अनुरोध गर्ने भएको छ । अन्य ठूला औद्योगिक क्षेत्रमा समेत कोषले टोली खटाएर सूचीकरण सहित अनुरोध कार्यक्रम सुरु गरिसकेको छ ।सरकारले सबै श्रमिक अनिवार्य योजनामा दर्ता हुनु बाहेकको विकल्प नरहेको जनाउँदैसाउनयता दर्ता भएका योगदानकर्ताले पेन्सन मात्र पाउने अनिवार्य नियम छ भने सो अघिका हकमा भने पेन्सन र उपदान दुवै विकल्प रहेको कोषले जनाएको छ । यसअघि सञ्चयकोषमा रकम जम्मा गरेकाहरू भने सञ्चयकोषको रकम स्वेच्छाले सामाजिक सुरक्षा कोष राख्ने÷नराख्ने विकल्प रहेको छ ।

सूचीकरण भएका र तयारी रहेको ठूला प्रतिष्ठान
सामाजिक सुरक्षा योजनामा सूचीकरणको म्याद १ महिना बाँकी रहेका बेला यसका दर्ता हुने ठूला रोजगारदाताको सख्या समेत बढदै गईरहेको कोषले जनाएको छ । पछिल्लो पटक अन्नपूर्ण होटल, म्यारियट होटल, सोल्टी होटल, डाबर नेपाल, नोबेल कलेज, वल्र्डलिंक, सुबिसु, शंकर ग्रुप, विभिन्न डिष्टिलरी, रिलायन्स स्पिनिङ मिल्स दर्ता भएका छन् । यसरी आउने अधिकांश प्रतिष्ठानमा ५०० देखि३ हजार श्रमिक रहेका छन् । कोषका अनुसार श्रमिक आपूर्तिकर्ता संघमा आवद्ध रहेकामध्ये ११७ कम्पनी योजनामा दर्ता हुने प्रक्रियामा रहेका छन् ।

ठूला रोजगारदाता थोरै
देशभर दर्ता रहेका ९ लाख २३ हजार ३५६ प्रतिष्ठानमध्ये १०० जनाभन्दा बढी श्रमिक रहेका प्रतिष्ठानको संख्या १ हजार ७८७ मात्र रहेको विभागको तथ्यांकमा उल्लेख छ । ९ लाख २३ हजार मध्ये १ जनामात्र श्रमिक वा सञ्चालक रहेको प्रतिष्ठान ३ लाख ४६ हजार रहेको देखिन्छ भने यसमध्ये ९० प्रतिशत निष्कृय रहेको पाइन्छ । यसैगरी ३ देखि १० जना श्रमिक रहेको प्रतिठानको संख्या २ लाखभन्दा बढी रहेको देखिन्छ । १० देखि ९९ श्रमिक रहेको प्रतिष्ठानको संख्या ४१ हजार रहेको देखिन्छ । यी प्रतिष्ठान दर्ता रहेको देखिएपनि सञ्चालन भए नभएको भने तथ्यांकमा उल्लेख गरिएको छैन ।