कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
562

जापानी कम्पनी ह्युमन रिसोसिया प्रालिले फेरि नेपाली इन्जिनियरलाई जापानमा रोजगारीको अवसर दिने भएको छ । नेपाल इन्जिनियरिङ कलेजका ४ विद्यार्थीलाई सो कम्पनीले अघिल्लो वर्ष रोजगारी दिएको थियो । सो अवसर पाउनेहरूमा २०१५ ब्याचका कम्प्युटर इन्जिनियर सुसन माडिकर्मी र सुवास निरौला, २०१५ ब्याचकै इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियर एडा रिजाल र २०१४ ब्याचका कम्प्युटर इन्जिनियर इसारा देसार हुन् । एडा रिजाल तिनै विद्यार्थी हुन् जसको टिमले अमेरिकामा भएको इमेजिन कप–२०१८ नामक विश्वव्यापी प्रतियोगिता जितेकी थिइन् ।
नेपाल इन्जिनियरिङ कलेजमा हालै सो कम्पनीले लगातार दोस्रो वर्ष पनि जब फेयर गरेको छ । सो जब फेयरका संयोजक कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागका प्रमुख ई. दिनेश डंगोलका अनुसार ३० विद्यार्थीलाई सो कम्पनीले इन्टरभ्यु परीक्षा लिएको थियो । २००१, २०१२, २०१४ र २०१५ ब्याचका कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूले इन्टरभ्यु परीक्षा दिएका थिए । परीक्षाबाट ७ विद्यार्थीहरूलाई छनोट गरिएको थियो । उनीहरूको स्किल परीक्षा नेपाल इन्जिनियरिङ कलेजको आईसिटी सेन्टरमा जापानबाटै अनलाइन लिइएको थियो ।
उक्त परीक्षाबाट अन्तमा ४ विद्यार्थीहरू छनोट गरिएको छ । यसरी छनोट हुनेहरूमा इन्जिनियर भर्खरै सकाएका सञ्जय बम्जोन, करण कसौला, सन्दिप मल्ल र अन्तिम वर्ष पढ्दै गरेका विनयराज बिष्ट छन् । नेपाल इन्जिनियरिङ कलेजले अघिल्लो वर्षदेखि २५५ सहुलियतमा कम्प्युटर इन्जिनियरिङ र ५०५ सहुलियतमा इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ सञ्चालन गर्दै आएको छ । रोजगारी पाएका विद्यार्थीहरूले जापानको आइटी क्षेत्र र रोवोटिक्समा भएको विकासले आफूलाई आकर्षित गरेको बताएका छन् ।