मनिषा चम्लागाईँ
बुधवार, श्रावण १, २०७६
380

झापा अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीका जितबहादुर कुमालले माटोको भाँडा बनाउन छाडेको दुई वर्ष बित्यो । बुबाले जीवनभर गरेको पेसालाई जितबहादुरले निरन्तरता दिन सकेनन् । माटोको भाँडा बनाउनु कुमाल जातिको पुख्र्यौली पेसा हो । बजारमा आएका प्लास्टिक र अन्य सामग्रिसँग प्रतिस्पर्धा गर्न नसक्दा उनले पुख्र्यौली पेसाबाट हात नै धुनुप-यो ।
जितबहादुर मात्र होइन, अहिले खुदुनाबारीमा रहेका कुमाल बस्तिमा कसैको घरमा माटोका सामग्री बन्दैनन् । पहिले यसै क्षेत्रबाट ठूलो परिमाणमा माटोका भाँडा झापाका मुख्य बजारसहित विभिन्न ठाउँसम्म पुग्ने गरेको थियो । बजारमा माटो बाहेकका जस्तो भन्यो, त्यस्तै सामग्री पाइने भएकाले आफुहरूले बनाएको माटोको भाँडा नबिक्ने हुँदा पेसा परिवर्तन गर्नुपरेको जितबहादुर सुनाउँछन् ।

“मेरो बुबाले पनि माटोको भाँडा र गाग्रो बनाउनुभयो, मैले पनि केहि समय बनाएँ, तर बजारमा आएका अन्य सामग्रीसँग प्रतिस्पर्धा गर्न सकिएन अनि छाडेँ । अहिले घरकै काम र कृषि कर्म गर्छु,” उनले भने । पहिले जस्तै अहिले खुदुनाबारीसँगै जोडिएको चुरे पहाडमा गएर माटो खन्न नदिने भएकाले पनि पेसा जोगाउन नसकिएको उनको भनाइ छ । “माटोको भाँडा बनाउन राम्रो माटो चाहिन्छ, जहाँ पायो त्यहाँको माटोले हुँदैन, पहाडको खाँदबाट माटो खनेर ल्याउनुपर्ने हुन्छ । मिहिनेत धेरै लाग्छ, अहिले पहाडको फेदमा रहेका वनमा माटो खन्न दिदैँनन्, त्यो पनि समस्या भयो,” जितबहादुरले भने, “मिहिनेत गरे जतिको लगानी नउठ्ने भएकाले पनि कुमाल जातिहरू पेसा परिवर्तन गर्न बाध्य बनेका छन् ।”
कुमाल जातिको उद्गम थलो गारेखा जिल्लालाई लिइन्छ । माटोको भाँडा बनाउँदै र माटोका सामग्री बनाउन उपयुक्त माटो खोज्दै हिँड्दा धेरै वर्षअघि झापाको खुदुनाबारीमा पनि कुमाल जातिको बसोबास सुरु भएको इतिहास भेटिएको कुमाल सुधार समिति झापा जिल्ला अध्यक्ष खड्कबहादुर कुमाल बताउँछन् । “माटोको भाँडा बनाउनका लागि यो क्षेत्रको माटो धेरै राम्रो भएकाले यो स्थानमा कुमाल जाति आएर बसेको पुर्खाहरूले बताउने गरेका छन्,” खड्कबहादुर भन्छन्, “अहिले जंगलमा माटो खन्न नपाइने र सामानले बजार नपाउने हुँदा पेसा परिवर्तनसँगै बसाइँ सर्ने क्रम पनि बढेको छ ।”
देशभर असंगठित रुपमा कुमाल जातिहरू छरिएर बसेकाले पनि कुमाल जातिको संस्कृति, रितिरिवाज, परम्परासँगै पुख्र्यौली पेसा पनि मासिँदै गएको खड्कबाहदुर बताउँछन् । “संगठित भए सबै कुरा जोगाउने अभियान चलाउन पनि सजिलो हुन्थ्यो तर कोहि कता कोहि कता । यसले गर्दा काम समस्या भयो,” उनी भन्छन् । पेसा संरक्षणमा स्थानीय तहले नै योजना बनाउनुपर्ने खड्कबहादुर बताउँछन् ।
झापामा कुमाल जातिको पेशा, संस्कृति र रितिरिवाज संरक्षणका लागि कुनैपनि काम भएको देखिँदैन । राष्ट्रिय जनगणना २०६८ अनुसार झापामा कुमाल जातिको संख्या २ हजार ३ सय रहेको छ । तर जिल्ला अध्यक्ष खड्कबहादुर झापामा ३ हजारको हाराहारीमा कुमाल जातिको बसोबास रहेको बताउँछन् । लामो सयमदेखि कुमाल जातिले बनाएको माटोको भाँडा बिक्री गर्दै आएका झापा बाह्रदर्शी गाउँपालिकका दिपक पण्डित अहिले भारतबाट आयात गरिएका माटाका सामग्री बिक्री गर्नुपरेको बताउँछन् । “अहिले नेपालका कुमाल जातिले बनाएका भाँडा पाइँदैनन्,” पण्डितले भने, “झापामा नै बनाइएका भाँडा पाउन छोडेपछि भारतबाट ल्याएर व्यवसाय सञ्चालन गर्नु परेको छ ।”
खुदुनाबारीमा मात्रै २६७ जनाको संख्यामा कुमाल जातिको बसोबास रहेको छ । यो स्थान जिल्लामा नै दोस्रो धेरै कुमाल जातिको बसोबास भएको स्थान हो । पहिलो क्षेत्र दमक नगरपालिका हो । कनकाई नगरपालिकाको घैलाडुब्बामा पनि कुमाल जाति उल्लेख्य छन् । ४८१ जनाको संख्यामा कुमाल जातिको बसोबास रहेको सरकारी तथ्याङ्कले देखाएको छ । झापामा सबैभन्दा कम १२ जनाको संख्यामा जुरोपानीमा कुमाल जातिको बसोबास रहेको छ ।
शैक्षिक, आर्थिक अवस्था कमजोर र सरकारले कुमाल जातिको पेसा संरक्षणका लागि चासो नदिएका कारण उनीहरूको जातीय पहिचान संकटमा पर्दै गएको छ । चार प्रतिशतको हाराहारीमा मात्र शिक्षित रहेको सो समुदायमा अशिक्षा र गरिबीको भार धेरै छ । कुमाल जातिको पेशालाई टिकाइराख्न सरकार र स्थानीय तहले समेत केही योजना नबनाउँदा कुमाल जाति पेशा परवर्तन गर्ने र बसाइँ सरेर अन्य जिल्ला समेत जान थालेका छन् । स्थानीय तहले योजना बनाएर उनीहरूको पेसालाई पनि बजेटमा समेट्दै स्थानीय बजारमा माटोका भाँडालाई पनि प्रोत्साहन गर्न सके कुमाल जातिको लोप हुन लागेका पेसालाई टिकाउन सकिने कुमाल जातिका अगुवाहरू बताउँछन् ।