गोपाल संग्रौला
सोमवार, असार ३०, २०७६
474

नेपालमा नै कमाई हुने २० हजारका लागि विदेश जान्छन् नेपाली

राष्ट्रिय श्रम शक्ति सर्वेक्षणले नेपालीको औषत मासिक आम्दानी १८ हजार ५ सय रुपैयाँ रहेको उल्लेख गरिरहेका बेला कतिपय गन्तव्य मुलुकमा औषत २० हजार रुपैयाँ कमाइ गर्न नेपाली युवा जाने गरेको देखिएको छ ।
नेपालमा नै रोजगारी गर्ने जनशक्तिको औषत आम्दानी २० हजारको हाराहारीका पुगेको बेला नेपाली युवा देखासिकीका लागि सीपबिना नै विदेश गइरहेका छन् । रोजगारीका लागि विदेश जाने कतिपय युवाले औषत २० हजार रुपैयाँ मात्र कमाउने गरेको देखिन्छ । लामो समय विदेशमा विताएका थोरै नेपाली बाहेक अन्यले २० हजार रुपैयाँको हाराहारीमा कमाई गर्ने गरेका छन् ।

सर्वेक्षणले रोजगारमा रहेका र तलव-ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी लगभग १८ हजार रहेको देखाएको छ । तर कतिपय गन्तव्य मुलुकमा नेपालीले औषत २० हजार रुपैयाँ मात्र पाउदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । विदेशमा काम गरी फर्किएर स्वदेशमा उद्यम व्यवसाय गरेका उद्यमीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने प्रति व्याक्ति प्रति महिना २० हजार मात्र देखिएको जानकारी दिए ।
“नेपाल श्रम शक्ति सर्वेक्षणमा नेपाल भित्र औषत एक श्रमिकले १८ हजार भन्दा बढी कमाई गरेको देखिन्छ,” मन्त्री विष्टले भने, “यसरी हेर्दा प्रतिमहिना १८ हजार भन्दा बढी कमाई गर्ने अवस्था नेपालमा नै रहेको देखिन्छ ।” यस्तो अवस्था सरकारले अझ बढीभन्दा बढी रोजगारीका अवस्था आएकाले यसमा सरकारले ध्यान दिन जरुरी रहेको छ ।
नेपाली युवामा पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकताका कारण स्वदेशमा कमाई गर्न सकिने पैसाको विदेश गइरहेको सरकारी भनाइ छ । वैदेशिक रोजगार बन्द भए देश नै गुम्ने अवस्था रहन्छ भनेर मनोवैज्ञानिक सन्देश दिएका कारण नेपालमा नै कमाई गर्न सक्ने पैसाका लागि नेपाली विदेश जाने रहेको मन्त्री विष्टले बताए । अब नेपाली युवालाई स्वदेशमा नै रोजगारी दिने गरी नयाँ ढंगले व्यवस्थापन गर्नु पर्ने बेला आएको मन्त्री विष्टले बताए । नेपालमा जनशक्ति नभएर रोजगारीका लागि विदेशी आउने गरे पनि नेपाली भने रोजगारीका लागि विदेश जाने गरेको देन्खिन्छ ।
सरकारले सही तरिकाले नेपालको जनशक्ति परिचालन गर्न नसक्ने हो भने यहाँको जनशक्तिले नेपालमा काम गर्न नचाहने र अन्तरराष्ट्रिय क्षेत्रबाट आउने जनशक्तिले नेपालमा प्रभाव पार्ने देखिएको छ । नेपाल भित्र काम गर्ने जनशक्तिले यहाँ काम नगर्ने र विदेशी जनशक्तिलाई नेपालमा काम गर्ने सार्मथ्य सरकारसँग नहुने देखिएकाले भविष्यमा नेपालमा ठूलो जनशक्ति अभाव देखिने मन्त्री विष्टले बताए ।
यसैबीच, वैदेशिक रोजगारीपछि नेपाल आएर विभिन्न उद्यम गर्ने मध्ये यो वर्ष सरकारले ६ जनालाई सम्मान गरेको छ । दुवईबाट फर्केर कान्तिपुर पोल्ट्री ब्रिडिङ फार्म सञ्चालक गरेका नवराज पौडेल १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । यसैगरी, दक्षिण कोरियाबाट फर्केका दिपक चापागाइँ स्टिल उद्योग, मनोजकुमार भारती र त्रिलोक पनेरु गार्मेन्ट व्यवसाय गरेका कारण जनही ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन् । यसैगरी भोजपुरका निरबहादुर राउत अर्गानिक खेती, एकबहादुर सिताङ गार्मेन्ट र शर्मिला अधिकारी कृर्षि फार्म सञ्चालन गरेका कारण ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन् ।