कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
419

दमौली- सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । १० स्थानीय तहमध्ये नौ वटामा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ ।
व्यास नगरपालिकाबाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम सुरु गरिएको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत छोटो समयमै पनि ती स्थानीय तहमा विकासको राम्रो काम भएको बताइएको छ । उक्त कार्यक्रममार्फत जिल्लाको भिमाद नगरपालिकामा सडक नाला, पहिरो व्यवस्थापन, बगँैचा निर्माणलगायत काम गरिएको छ । सामुदायिक आयोजना निर्माणका लागि शुरु भएको कार्यक्रमबाट उक्त नगरपालिका–१, २, ५, ८ र ९ मा विभिन्न पाँच निर्माणको काम गरिएको रोजगार संयोजक विवेचन घिमिरेले जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका १०० जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमबाट विपन्न परिवार प्रत्यक्ष लाभान्वित हुनाका साथै ठूलो धनराशि खर्च गरी बनाइएका सडकको मर्मतसम्भार विद्यालय परिसरमा सरसफाइ, बगैँचा निर्माण कार्य भइरहेको उनको भनाइ थियो । सोही कार्यक्रमअन्तर्गत देवघाट गाउँपालिकामा ६१ जनाले काम पाएका छन् । गाउँपालिकाका रोजगार संयोजक धु्रव आचार्यले वडा नं १ स्थित गोपीटार घरबास र कराँदीप घरबासका सामुदायिक भवन निर्माणका साथै वडा नं २ को बैदीमा शौचालय, सडक पेटी तथा चौतारो निर्माणमा लगाइएको छ ।