कृञ्जला पुलामी
बिहिवार, असार २५, २०७७
661

सिन्धुलीका स्थानीय तहले प्राविधिक शिक्षा पढ्न प्रोत्साहन गर्दै विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । प्राविधिक शिक्षा अध्ययन गरिरहेका गरिब र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।
सुनकोशी गाउँपालिकाले गाउँपालिकाका १० जनालाई छात्रवृत्ति प्रदान गरेको जनाइएको छ । सुनकोशी घर भई प्राविधिक तर्फका विभिन्न विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रोत्साहन गरिएको हो ।

प्राविधिक शिक्षा अध्ययनरत दलित र गरिब १० जना विद्यार्थीलाई जनही ७० हजार रुपैयाँको चेक प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताइन । अध्ययन गरिरहेका विद्यार्थीहरुलाई आर्थिक सहयोग होस् भनेर छात्रवृत्ति प्रदान गरिएको उनले बताइन् ।
उनका अनुसार छात्रवृत्तिका लागि सूचना प्रकाशन गरिएको थियो । सूचनाअनुसार प्राप्त निवेदनको छानविन, स्थलगत निरीक्षणसमेतका आधारमा छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैविच, फिक्कल गाउँपालिकाले पनि प्राविधिक विषय अध्ययनरत ८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न कलेजमा प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीलाई गाउँपालिकाले छात्रबृत्ति प्रदान गरेको हो ।
फिक्कल घर भई देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीलाई मनोवल बढाउन छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ । गत वर्षदेखि सञ्चालनमा ल्याइएको छात्रवृत्ति कार्यक्रम अन्तरगत यस वर्ष पनि ८ जना विद्यार्थीहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् ।
गाउँपालिकाले ईन्जिनियरिङ, मेडिकल साईन्स, नापी विज्ञान, औषधी विज्ञान, नर्सिङ, कृषि विज्ञान, पशु विज्ञान र वन विज्ञान गरि ८ वटा विधामा प्रति विधा १ जनाका दरले छात्रवृतिको लागि छनौट गरी प्रति विद्यार्थी २५ हजारका दरले रकम प्रदान गरिएको सुनुवारले बताइन् ।