कारोबार संवाददाता
शुक्रवार, जेठ १६, २०७७
884

सरकारले आउँदो बजेटमा शिक्षा क्षेत्रलाई उच्च महत्व दिएको छ । सरकारले छात्रवृत्ति दिन २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै, विज्ञान र गणित शिक्षक अभावलाई पूर्ति गर्न स्वयंसेवक शिषक खटाइने भएको छ । निःशुल्क पुस्तक वितरण गर्न सरकारले २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ छुट्याएको छ । यसबाट कक्षा कोठा निर्माण, शिक्षक तालिम, प्रयोगशाला, खेल मैदान निर्माणलाई प्राथमिकता दिइने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
यस्तै ६ हजार स्वयंसेवक शिक्षक नियुक्त गर्न २ अर्ब विनियोजन गरिएको छ भने विद्यालय तहमा निःशुल्क पाठ्यक्रमका लागि २ अर्ब ७६ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. खतिवडाले बताए । उनका अनुसार उच्च शिक्षाका लागि १७ अर्ब ४३ करोड विनियोजन गरिएको छ ।
भर्चुअल शिक्षा सञ्चालन गरिने, कोरोनाका कारण मनोसामाजिक असर न्यूनीकरण गरिने, १८०० विद्यालय भवन, ५३८ क्याम्पस भवन बनाइने आगामी आवको बजेटमा उल्लेख छ ।
खतिवडाले छात्रवृत्ति कार्यक्रमलाई एकीकृत बनाउन २ अर्ब बजेट विनियोजन गरिएको बताए । माध्यमिक तहसम्म पढाउने निजी विद्यालयले एउटा सामुदायिक विद्यालयको पूर्वाधारमा सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
देशभरका १३ लाख छात्रालाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिनेछ। साथै बाल विकास केन्द्रको प्रवद्र्धन, सामुदायिक क्याम्पसलाई त्रिविको आंगिकका रुपमा रुपान्तरण गरिने कार्यक्रम छ ।
सरकारले आगामी आर्थिक वर्षमा देशभरका विद्यालयमा दिवा खाजाको व्यवस्था गर्ने भएको छ । यसको लागि ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन् ।
यो कार्यक्रमबाट २८ लाख बालबालिका लाभान्वित हुने अर्थमन्त्रीको भनाइ छ । यसअघि ४३ जिल्लामा मात्रै दिवा खाजा कार्यक्रम थियो ।