कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६
786

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले १ सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत्र महिनाभरको महसुलमा २० प्रतिशत छुट दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनको अध्यक्षतामा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले महशुल छुटका लागि मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयपछि मात्र प्राधिकरणको निर्णय कार्यान्वयनमा आउनेछ । बिहीबार मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २० प्रतिशत छुट दिन निर्देशन दिएका थिए ।

प्राधिकरणका अनुसार, ४५ लाख ग्राहक रहेको प्राधिकरणको सो निर्णय मन्त्रिपरिषदले समेत गरेमा ३८ लाख घरायसी ग्राहकले चैत महिनाको महशुलमा छुट पाउने छन् । ३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजस्वमा ५० करोड नोक्सान हुने छ । मन्त्रिपरिषदले निर्णय गरेपछि सो रकम प्राधिकरणले सोधभर्नावापत पाउनेछ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो ।
कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा मन्त्री पुनले बताए ।
लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाई छ । उनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने बताए । “एकातिर विद्युत्को माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ”, मन्त्री पुनले भने, “यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो ।”
ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत् नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्नेछ । “नाकाबन्दीका बेला पनि ग्यासको हाहाकार भयो । अहिले पनि अभाव देखिएको छ”, उनले भने, “बिलुजी जस्तोसुकै संकटमा पनि आउँने भएकाले स्वीच थिचेपछि खाना पाक्छ ।” सबै उपभोक्ता एकैपटक ग्यासको विकल्पमा इलेक्टिङक कुकिङमा जान असम्भव भए पनि काठमाडौंसहित सहरी क्षेत्रबाट त्यसको सुरुआत गर्न सकिने उनको विश्वास छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवद्र्धन गर्न तथा लकडाउनका समयमा उपभोक्तालाई राहत दिने गरी विद्युत् महसुलमा छुट दिने निर्णय गरेको थियो ।
नेपालमा १ मासिक १ सय ५० युनिटसम्म विद्युत् खपत गर्नेको संख्या अधिक छ । कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १ सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् । लकडाउनका कारण विद्युत् खपतमा भारी गिरावट आएको छ ।
लक डाउनका कारण उद्योग, धन्दा कलकारखाना बन्द हुँदा १२ सय मेगावाट पुगेको पिक आवरको विद्युत्का माग झण्डै ९५० मेगावाटमा झरेको छ भने एक हजार मेगावाट रहेको दिउँसोको माग ६ सय मेगावाटमा झरेको छ । विद्युत् बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालयहरु बन्द भएकाले यस्तो अवस्था आएको हो ।


सातामा धेरै पढिएको