कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
1889

उनको जन्म तनहुँ किहुको हुक्का गाउँमा ०२४ सालमा भएको हो । २०३४ सालमा पढ्नको लागि बर्दिया पुगेका सिग्देलको स्थायी बसोबास नै बन्न पुग्यो, बर्दियाको मधुवन नगरपालिका– ४ ढोडरी । विद्यालय टाढा भएकाले उनी कक्षा ४ पढ्नका लागि पुगेका थिए । शिक्षा शास्त्रमा दूर शिक्षा प्रणालीबाट भारतको अन्नामलाई विश्वविद्यालयबाट भ्यालु एजुकेशनमा स्नात्तकोत्तर गरेका सिग्देलले एसएसली परीक्षा दिएपछिको खाली समयमा वन पैदावर विकास समितिमा ५ वर्षसम्म मोरङ, चितवन, बाँके, सर्लाहीमा काम गरे । व्यवस्थापनमा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेपछि शिक्षणको लागि सुर्खेतस्थित जनज्योति प्रस्तावित निम्न माध्यमिक विद्यालयमा ०४६ सालमा फागुनमा पुगे । ०४८ सालबाट प्रधानाध्यापकको जिम्मेवारी सम्मालेका सिग्देल अहिलेसम्म सोही पदमा कार्यरत छन् ।
कक्षा ७ पढेपछि त्यतिबेला कसैले पनि पढ्ने चलन नभएको गाउँमा मावि विद्यालय सञ्चालनमा योगदान गरे उनले । भन्छन्, “मावि नभएकाले ७ कक्षा पढेपछि यहाका अधिकांश भारतीय सेना बन्ने चलन थियो ।” आफ्नो बाल्यकाल सम्झेर उनले विद्यालयलाई ८ कक्षा चलाउने सोचले अभिभावकसँग हातेमालो गरेको बताउँदै अभिभावकको साथ दिएको उल्लेख गरे । हाल यस विद्यालयमा सिटिइभिटीको टिएसएलसी र डिप्लोमाको बाली विज्ञान र पशुविज्ञान कक्षा सञ्चालन गर्न सफल छ भने ८ वर्षदेखि यो कोर्स चलिरहेको छ । यस कोर्समा ३२० जना विद्यार्थीहरुले बर्सेनि पढिरहेका छन् । २६ जिल्लाभन्दा बढीका विद्यार्थी अध्ययनरत छन् । “सोलुखुम्बुदेखिका बालबालिका इन्टरेनटमा युट्युब भिडियो हेरेर विद्यालय आइपुगेका छन्,” उनले भने, “कतिपय पालो पर्खेर बसेका छन् ।” विद्यालयमा हाल १ हजार २ सय ८७ जना विद्यार्थी छन् । यसै सन्दर्भमा कारोबारले उनीसँग गरेको कुराकानी :

विद्यालयले मुलुकको समृद्धिको लागि कसरी भूमिका खेल्छ ?
विद्यालयबाट उत्पादित विद्यार्थीहरु दक्ष जनशक्तिको रुपमा तयार भयो र देशमै सम्भावना देख्नेगरी पढायो भने त्यसले समृद्धिमा भूमिका खेल्छ र गर्ने पनि त्यही रहेछ । मेरा एक थरी विद्यार्थीहरुले ४६ वटा फर्म सञ्चालन गरिरहेका छन् । बाँकेमा एउटाले ७ विघा र अर्कोले २२ बिघामा फर्म चलाइरहेका छन् । त्यसबाट उत्पादन हुने वस्तुले अरुलाई पनि रोजगार दिएका छन् र बाहिरबाट आउने उत्पादन रोकेका छन् । ओखलढुंगामा २४ जना विद्यार्थीले ८ हजार अनारका बिरुवा रोपेर फर्किएका छन् । झापाको गोल्यान समूहमा पनि हाम्रा विद्यार्थी काम गर्न गएका छन् ।

विद्यालयमा प्राविधिक शिक्षा सोच कताबाट आयो ?
एउटा उद्योगले आफ्ना उत्पादनले बजारमा बिक्री नभएपछि जति पीडा हुन्छ, हामी शिक्षकलाई पनि बजारमा उत्पादन बिक्री नभएपछि चिन्ता हुनु स्वाभाविक हो । त्यसैले हामी त्यस किसिमको प्राविधिक शिक्षा दिनको लागि उत्प्रेरित भयौं । जस्तैः चाउचाउ, बिस्कुट उत्पादन गर्ने उद्योगले उसको उत्पादन बजारमा बिक्री नभए स्वाद परिवर्तन गर्छ । अनि कुन क्षेत्रमा कति बेच्ने भन्ने यकीन गरेर उत्पादन गर्छ र बारम्बार बजारको सर्वेक्षण गर्छ । कुन खाए, कुन खाएनन् भन्ने अनुसन्धान गरी आफ्नो उत्पादनको स्वाद, संख्या, क्षेत्र आदिमा हेरफेर गरेर नयाँ योजनासहित उत्पादनमा लाग्छ । हामीले पनि त्यही अनुसार देशको अवस्थालाई अध्ययन गर्दा कृषिमा ठूलो संख्यामा विदेशबाट वस्तु आयात गरिन्छ । सरकारी तथ्यांक अनुसार १.६ खर्ब रुपैयाँ बराबरको कृषि जन्य वस्तुहरु आयात हुन्छ तर हाम्रो २० लाख बिघा जमिन बाझो छ । यसमा सम्भावना देख्यो, जनज्योतिले । कृषि पढाएर रोजगारी दिँदै, देशमै उत्पादन बढाउने गरी प्राविधिक शिक्षामा लाग्यौ । 

विद्यालयका सफल उदाहरणहरु के–के हुन् ?
आफ्नै २० विघा जति जमिन छ । जहँ ४ सय अनार लगाइएको छ । ६० वटा बाख्रा छन् । १ विघामा माछा छ । ६५ घार मौरी छन् । यसैगरी जटिबुटी प्रशोधन केन्द्र छ । गाई, कुखुरा, हास, बंगुर, बटटइ, टर्की चरा, खरायोलगायतका जनावर पालिएको छ । टनेलमा मौसमी बेमौसमी खेती गर्दै आएका छौ । विद्यालयले कमाउँदै पढ्दै अभियानलाई जोड दिएको छ र विद्यार्थीहरु कमाउँदै पढ्दै पनि छन् । हामी विद्यार्थीलाई ऋण दिन्छौं । उनीहरु सानोसानोबाट बिस्तारै बढ्दै ठूलो उत्पादन गर्छन् ।
देशका ८३ लाख विद्यार्थीलाई कमाउन पट्टी लगाउन सकिन्छ । कक्षाकोठामा त्यो वस्तु उत्पादन गर्न सिकाउछौं । विद्यार्थीई मल बिउ निःशुल्क दिन सकिन्छ । हिजो हाम्रो हजुरआमाले गरेको अभ्यास गरेमा बेमौसमी तरकारी खेती कसैले खानुपर्दैन ।ओभरसियर पढ्नेलाई बाटो पीच गर्ने, घर बनाउने काममा लगे पो ती काममा विदेशी कामदार ल्याउनु पर्दैन । उसलाई अनिवार्य व्यवाहारिक ज्ञान दिने गरी पाठ्यक्रम बनाउन सकिन्छ । एक उद्योगपतिले मलाई बोलाउनु भयो । उहाँको जमिनलाई योजना बनाएर खेती गर्न भन्नुभयो । मेरा विद्यार्थीहरु गएर कृषिको योजना बनाएर आएका छन् । तिनले अब त्यहाँ खेती गर्दै छन् । विद्यार्थीसँग क्षमता छ बाहिर निकाल भन्ने उत्प्रेरणा विद्यालयले दिएको छ । पुरानो सिकाइले शिक्षा दिएका छौ तर आधुनिक शिक्षा दिन सकेका छैनौ । त्यसमा खेल्न दिएर शिक्षा दिएमा हाम्रा विद्यार्थीले आगो बालिदिन्छन् । विडम्बना कस्तो छ भने उद्योग भर भारतीय कामदार छन् तर सरकारले एमओयु, आइइए, इआइएलगायतका कार्य गर्र्दा किन कामदारको प्रावधान राख्दैन ? 

कसरी ऋण प्रवाह गर्नुहुन्छ तिनलाई ? 
नव प्रवेशी १ सय ६० विद्यार्थीलाई उत्प्रेरणात्मक कक्षा चलाउँछौं । त्यसमा देशले आयात गरेका तथ्यांकहरु देखाउँछौं । तिनका सिनियरले गरेको तथ्यांक देखाउँछौ । यिनी मध्ये के गर्न चाहने हो रोज्न भन्छौं र त्यो सम्बन्धि अभिमुखीकरण तालिम दिन्छांै । व्यावसायिक योजना बनाउन सिकाउँछौं । तिनले बनाएका योजना सम्बन्धित विषय शिक्षकले ठीक छ भनेर सिफारिश गरेपछि विद्यालयले निब्र्याजी ऋण उपलब्ध गराउँछ । उत्पादनबाट आम्दानी हुनासाथ ऋण फिर्ता गर्छन् र अझै ठूलो स्केलमा कम गर्छन् पनि । हालसम्म करिब ८ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । 

तिनको उत्पादनको बजारीकरण कसरी गरिदिनुहुन्छ ?
तिनले नै स्थानीय बजारमा बेच्छन् । विद्यालयले वीरेन्द्रनगर, नेपालगञ्ज लगेर बेचिदिन्छ । यसैगरी बजारको आदान प्रदान गरिन्छ । गृह जिल्लाको सामान आफू बसेपढेका बजारमा ल्याउने, पढेका विद्यालयमा उत्पादन गरेका वस्तुहरु गृह जिल्लाका बजार लैजाने गर्छन् । तिनले स्वस्फूर्त बजारको विनिमय गरेको देख्दा मेरो जीवनको सफलता त्यहीनेर देख्छु । ३ वर्षअघि ८ कक्षामा च्याउ खेती सिकेको भाइले ११ कक्षामा शिक्षा संकायमा पढ्दापढ्दै च्याउ खेती गरेर मजाले पैसा कमाइरहेको छ । मेरोमा नाफा र घाटा गर्ने विद्यार्थी छन् । एकमा घाटा लागे पनि अर्कोबाट नाफा गरी त्यसलाई पूर्ति गरेका छन् । यसले मेरो खुसीको सीमा रहन्न ।कर्णालीमा कृषिको मात्रै डिप्लोमा कार्यक्रम ५५ वटा छ भने टिएसएसलीसमेत गरी १० हजारले बाली विज्ञान र पशु विज्ञान पढ्छन् ।
मेरा विद्यार्थी झैं यिनले पनि गर्न सकेमा, त्यस अवसरमा पाएमा देशको कायापलट हुने ठोकुवा गरिदिन्छु । जस्तै प्रदेश सरकारले ती १० हजार लाई एकएकवटा फलफूलको बिरुवा दिएर यसलाई हुर्काउनै पर्ने गरी परीक्षा र संख्यासँग जोड्ने हो भने प्रत्येक वर्ष १० लाख नयाँ बिरुवा हुर्केपछि आत्मनिर्भरता बढ्छ । नेपालमा १५ दिनलाइ पनि नपुग्ने फलफूल छ । हामी अन्तबाट आएको फलफूल खाइरहेका छौं । यो स्थितिलाई शिक्षासग जोडेर उत्पादनमुखी शिक्षा दिनुको विकल्पै छैन । 

विद्यालयको आगामी योजना के छन् ?
साधारण तर्फको विद्यार्थीलाई पनि व्यावसायिक कृषि सिकाएका छौं । ४ कक्षा पढ्ने विद्यार्थीले च्याउ खेती गरेको छ, ५ कक्षा पढ्नेले कुखुरापालन गरेको छ । १० कक्षामा पढ्नेले च्याउ खेती गरेको छ । ८ र ६ कक्षामा पढ्नेले मकै खेती लगाएका छन् । क्रमशः व्यावहारिक कृषिको ज्ञान दिएका छौं ।कल्पना के हो भने कर्णाली प्रदेशका होटल व्यवसायीसँग सम्झौता गरेर उनीहरुलाई आवश्यक पर्ने कृषि उपज विद्यालयले उत्पादन गरी आपूर्ति गरिदिने । यसको लागि हामी द्धिपक्षीय सम्झौता पनि गर्दैछौं । एक घरसँग एक प्राविधिक सहकार्य बनाउने र दोहोरो सिकाइ गरी उत्पादन बढाउने र विद्यार्थीले बढीभन्दा बढी प्रयोगात्मक सिकाइ गर्ने लक्ष्य छ ।
कसरी भने यस विद्यालयका अभिभावक अधिकांश किसान भएकाले उहाँहरुलाई एक घर बराबर एक जेटीए ल्याब सरह काम गर्ने वातावरण दिने व्यवस्था गर्ने । यसो गर्दा आधुनिक खेती पनि हुने, किसानको उत्पादन पनि बढ्ने र सिकारुका लागि कार्यमूलक सिकाइ पनि हुने । जनज्योतिमा पढ्ने विद्यार्थी खालीहात नआउने व्यवस्था गर्दैछौं । उसले कुनै न कुनै कृषि उपज विद्यालयमा लिएर आउनु पर्छ । त्यो वस्तु हामीले होटलमा छोडेर आउने हो । यो सम्भव छ भन्ने देखाइएको छ । जुम्लाको खलंगामा कृषि पढ्ने विद्यार्थी र मेरो विद्यार्थीको सिकाइ र उत्पादित वस्तु विनियम गराउने प्रणाली सुरु भएको छ र आगामी दिनमा यो कार्य अन्य विद्यालयसग पनि गर्ने योजनामा छु ।  

यी योजनालाई मूर्त रूप दिनको लागि समस्या के छन् ?
पर्याप्त पुँजी नहुँदा ऋण दिन सकेको छैन । सिकारुले मल,विउ पानी, जमिनलगायत खोर, माछापोखरी, टनेलमा आफ्नो पैसा तिर्नुपर्ने अवस्था छ । यी कुरा सरकार (संघ, प्रदेश र स्थानीय) हरुले उपलब्ध गराएमा उसलाई काम गर्न, सिक्न सहज हुन्छ । नेपालमा अब विदेशकै सिकाइ गर्न सकिन्छ । विदेशमा कक्षा ७ मा पढ्ने विद्यार्थीले मोजा, क्यालकुलेटर घडी बजारमा ल्याउँदा, त्यो काम हामी पनि सजिलै गर्न सक्छौं । के यसको लागि सरकार लगानी गर्न तयार छ ? लगानी गरोस् म गरेर देखाइदिन्छु । तर बिडम्बना अहिलेसम्म पनि हाम्रो सरकारको एउटै पनि यस्तो उदाहरण छैन । भन्नलाई आधुनिक र प्रविधिको युग भन्ने, बाइसौं शताब्दीको लागि जनशक्ति उत्पादन गर्ने भन्ने तर काम भने त्यस उन्मुख छैन । 
सरकार एक कुशल फुटबल खेलाडी चाहन्छ तर २४ वर्षमा मात्रै खेल्न सिकाउन खोज्छ । अनि कसरी बन्छ ? कक्षा १ बाटै किसान बन्न सिकाउनु पर्छ । त्यो काम अहिले भएको छैन । उद्यमी बन्दा भ-याङ चढ्दा पहिलो खुड्किलोबाट लडेर चोट लागे पनि सानो चोट कभर गर्न सक्छ । 

तपाईंका विचार त कृषि मन्त्रालयले गर्ने काम जस्तो पो सुनियो । कुरामात्रै हो कि साँच्चै कामै गर्न सकिन्छ ?
ठीकै प्रश्न गर्नुभयो । जनज्योति वा अरु विद्यालयको एसइइ परिणाम नराम्रो भए जवाफ विभागीय मन्त्री, कार्यालय हुँदै विद्यालयसम्मले दिनुपर्छ । तर, बर्सेनि कृषिजन्य वस्तु बाहिरबाट आयात हुँदा खरदारदेखि कृषि सचिव, मन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन ? लगानी खेर गएको छ तर जवाफ कसैले पनि दिनु नपर्ने ? कस्तो मज्जा छ हैन ।
विदेश भमण गएको गयै छ तर देखिने गरी केही पनि हुँदैन त खै ?कागजमा सिकाइयो, कार्यक्षेत्रमा सिकाइएन । पौडी खेल्न चौरमा सिकाएर, खेल्न चाहिँ पोखरीमा पठाउँदा गति कस्तो होला ? शिक्षाको गति पनि त्यही भएको छ । मैले सुनेको इजरायलमा कृषि पढाउने प्राध्यापकका नै ठूल्ठूला कृषि फर्महहरु हुन्छ तर हाम्रोमा त सानो पनि छैन ।
उहाँहरु सायद माटो पनि छुनुहुन्न । उहाँलाई ल्यापटप र प्रोपोजल लेख्दैमा फुर्सद छैन । त्यसले त उत्पादन बढ्दैन । कागजमा फलेको आलु र गोबी खान मिल्दैन र आयात पनि रोकिन्न ।
लोकप्रिय कार्यक्रमहरु विद्यालयलाई दिएमा काम गराउन सकिन्छ । भोली व्यवसाय बढाउने हो भने त्यसको लागि आज शिक्षामा लगानी बढाउनै पर्छ ।अब कृषि प्रहरी बनाउनु पर्छ । त्यो कसरी भने निर्वाचनमा म्यादी प्रहरीमा स्नातकोत्तरसम्म गरेका युवायुवती जान्छन् ।
१८ घण्टा काम गर्ने गरी लठ्ठी समातेर काम गर्छन् १५ हजार रुपैयाँ तलबमा । आम निर्वाचनमा ९० दिनको लागि २२ अर्ब रुपैयाँ त्यस्ता प्रहरीलाई गरेजस्तै अहिलेपनि तालिमको नाममा हुने ३० अर्ब रुपैयाँ खर्च र प्रधानमन्त्री कृषि आधुनीकीकरण कार्यक्रमको नाममा हुने ५ अर्ब रुपैयाँ खर्च जस्तै र अन्य लोकप्रियमुखी कार्यक्रममा हुने अर्बौ बजेट खर्चलाई बास्केट प्रणालीबाट खर्च गर्ने गरी कृषि प्रहरी भर्ना गर्न सकिन्छ । यसो गर्दा बाझो जमिन सबै खनजोत गर्ने, बाली लगाएर उत्पादन गर्न तर्फ लाग्ने हो भने १ सय २० दिनमा त्यो कार्यक्रम पनि सकिने र उत्पादन पनि बढ्छ र आयात रोकिन्छ ।
जमिन सबै प्रयोगमा आउँछ । युवाले काम पाउँछ । यसको लागि प्राविधिक जिम्मा नेपाल भरका कृषि प्राविधिक पढाइ हुने विद्यालय- कलेजले लिनुपर्छ । पानी र जमिन दिनुस् काम गरेर म देखाइदिन्छु । 

सरकारले के गर्ने ?
प्रत्येक वर्ष एक हजार ९३ जना विएस्सीएजी र लगभग १० हजार कृषि प्राविधिक बजारमा आइरहँदा पनि किन कृषिजन्य वस्तुको आयात भइरहेछ । कृषिजन्य आयात घट्नु पर्ने होइन ? यी कोही पनि कृषिमा गएकै छैनन् कृषि वैज्ञानिकसँग पनि कृषिको ल्याबै छैन । निरन्तर अभ्यास नगरे कसरी कृषि विज्ञ भइन्छ ? ८३ लाख को संख्यामा विद्यालय- कलेज पढिरहेका छन् र २० लाख विघा जमिन बाझो छ । यी सबैलाई बाझो जमिन जोत्ने अभियान लगाएर केही न केही छरे अवश्य फल्छ । मुला, साग, लसुन, प्याज पनि भारत, चीनबाट ल्याएर खानु त पर्दैन ।