कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६
341

भारतले काठमाडौंको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको छ । बुधबार भएको औपचारिक कार्यक्रममा नेपालका लागि कार्यबाहक भारतीय राजदुत डा. अजय कुमारले भवन हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्रीअरविन्द योग मन्दिरले स्थापना गरेको हो । विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ । जसमध्ये ५३ प्रतिशतभन्दा बढी छात्रा रहेका छन् । गरिब, विपन्न र अनाथ विद्यार्थीका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ ।
भारत सरकारले करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको अत्याधुनिक तीन तले भवनमा ११ वटा कक्षाकोठा, तीनवटा प्रयोगशाला, चार वटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ ।