कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
371

जाजरकोट - कर्णाली प्रदेशमा पर्यटनको लागि राम्रो सम्भावना भए पनि सबै ठाउँमा सडक पहुँच नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती भएको छ । यस क्षेत्रमा शे फोक्सुण्डो ताल, नेपाली भाषाको उद्गम स्थल सिंजा, रारा, सुलिगाड झरना, जाजरकोटको दरबार, शिवालय क्षेत्र लगायतका क्षेत्रमा सहज रुपमा सडक पहुँच नहुँदा पर्यटक क्षेत्रमा समस्या हुँदै आएको हो । सुरु हुँदै गरेको नेपाल भ्रमण वर्ष २०२० कर्णालीका लागि सडक अभाव चुनौती बनेको छ ।
यहाँका पहाडी र हिमाली क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र सडकको पहुँच बाहिर हुँदा भ्रमण वर्ष कर्णालीका लागि सडक चुनौती बनेको हो । साँघुरो तथा निकै जोखिमपूर्ण मात्र नभई धुलामे सडकका कारण पर्यटकहरु दैनिक सास्ती भोग्दै आएका छन् ।

जाजरकोट हुँदै डोल्पाको शे फोक्सुण्डो जाने पर्यटकहरु दुनैबाट तालसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ११८ किलोमिटर सडकमा ८ ठाउँमा सवारी साधन बदल्नुपर्ने चुनौती रहेको छ । शे–फोक्सुण्डो ताल ३६११.५ मिटर उचाइमा रहेको उपल्लो डोल्पामा पर्दछ । नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल समुद्री सतहभन्दा करिब तीन हजार नौ सय (३९००) मिटर उचाइमा रहेको छ ।
तालको लम्बाइ ४.८ किमि, चौडाइ १.६ किमि छ भने गहिराइ ६ सय ५० मिटर छ । काञ्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ‘वाई’ आकारमा रहेको छ । फोक्सुण्डो तालबाट सुलिगाड झरना बग्छ । उपल्लो डोल्पामा रहेका विभिन्न गुम्वाहरु पनि पर्यटकको रोजाईमा पर्दै आएका छन् ।
सडक नभए पनि पैदल हिँडेर त्यहाँ पर्यटकहरु जाने गरेको पत्रकार विष्णुलाल बुढाले जानकारी दिए । विश्वको अग्लो मानव वस्ती भो र लोपोन्मुख काईके भाषाले यहाँको शोभा झ्न बढाएको छ ।
राराताल समुद्र सतहदेखि दुई हजार नौ सय ७२ मिटर उचाइमा रहेको छ भने १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिनुका साथै तालको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ । त्यस्तै गहिराइ एक सय ६७ मिटर छ । रारा राष्ट्रिय निकुञ्ज एक सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिनुका साथै कस्तुरी, रतुवाजस्ता जन्तुका साथै राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुंगीले पाईने भएकाले राराको महत्व झन बढाएको छ ।
जुम्लाको सिंजा उपत्यकामा इसाको १३औं शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो । सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो । १२औं शताब्दिदेखि इसाको १४औं शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ । यही बाटो भएर रारा जाने गरिन्छ । कच्ची बाटो रहेका कारण हिउँद याममा कम सास्ती भए पनि वर्षायाममा भने चुनौतीको पहाड मोल्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै जाजरकोटको २ सय वर्ष पुरानो दरबार क्षेत्र पनि पर्यटनका लागि महत्वूर्ण क्षेत्रका रुपमा रहेको छ । १८२५ मा निर्माण गरिएको यो दरवार पर्यटकको रोजाईमा पर्दै आएको छ । त्यस्तै जाजरकोटको भेरी नगरपालिका १ मा रहेको शिवालय क्षेत्रमा रहेका २ सय वर्ष भन्दा पुराना देवलहरु पर्यटकको मुख्य रोजाइ बन्दै गएका छन् । बारेकोट गाउँपालिकाको साईकुवारी, पजारुमा रहेको चैते लगाएतका पौराणिक कला संस्कृत अनि इतिहाससँग जोडिएका महत्वपूर्ण वस्तुहरुले पर्यटकको मन लोभ्याईरहेका छन् । सडकको पहुँच नभएका कारण पैदल हिँन्डेर जानुपर्ने बाध्यताले गर्दा रमाईलो भन्दा पीडा बढी हुने गरेको पर्यटकहरु बताउँछन् । पर्यटकहरु पुग्दा बस्ने बास र खाने कुराहरुको सही व्यवस्थापन नहुँदा अर्को समस्या थपिएको छ ।
भ्रमण वर्ष २०२० को सचिवालयबाट कर्णालीमा २५ लाख रूपैयाँ मात्र आएको छ । उक्त कार्यक्रम उद्घाटनका लागि प्रदेश सरकारले जनवरी १ तारिखमा भ्रमण वर्ष शुभारम्भका लागि १० लाख र प्रचार प्रसारका लागि १० लाख रूपैयाँ छुट्याएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वजेटमा कम प्राथमिकता भएकै कारण सबै काम यही बजेट बाट हुन चुनौती भएको देखिन्छ ।

सञ्जय केसी