रासस
शुक्रवार, मंसिर २०, २०७६
338

दमौली- तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शंकर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ ।
पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत ७१ लाख ६१ हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी दिए । गत वर्षको मंसिरबाट निर्माण सुरु भएको भवन यही कात्तिकमा सम्पन्न भएको उनले जानकारी दिए ।
नयाँ भवन निर्माणपछि पठनपाठनमा सहज हुने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । ‘पुरानो भवन जीर्ण हुँदा हावाहुरी र पानी आएको बेला पठनपाठनमा समस्या हुँदै आएको थियो’, उनले भने, ‘नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहज हुने भएको छ ।’ प्रधानाध्यापक श्रेष्ठका अनुसार चारकोठे भवन निर्माण भए पनि विद्यालयलाई अझै पनि थप भवनको आवश्यकता छ । ‘हाल भइरहेको भवन जीर्ण अवस्थामा छ, सुरक्षित छैनन्’, उनले भने, ‘थप भवनका लागि प्राधिकरणमा माग गरेका छौं ।’ विद्यालयमा हाल २७६ विद्यार्थी अध्ययनरत छन् ।