कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
498

 
नक्सांकनमा कृषि, शिक्षा, निर्माण तथा रियलस्टेट, थोक तथा खुद्रा व्यापार र उद्योग क्षेत्रका सूचना समेटिने मन्त्रालयले जनाएको छ ।


धनगढी-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सीपको नक्सांकन गर्न थालेको छ ।

प्रदेशको धनगढी उपमहानगरपालिका, जयपृथ्वी नगरपालिका, अमरगढी नगरपालिका र लालझाडी गाउँपालिकामा रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सीप प्रदायक संस्थाको जीआईएस नक्सा तयार गर्न लागेको हो । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव जयप्रकाश आचार्यले ती स्थानीय तहमा रहेका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सीप प्रदायक संस्था र रोजगारदाता प्रतिष्ठानको विस्तृत विवरणसहितको नक्सा तयार गरिने बताए । मन्त्रालयले युवा उद्यमी तथा नेपाल माइण्ड फ्याक्ट्रीलाई कन्सल्टेन्ट नियुक्त गरी नक्सांनको काम सुरु गरेको छ ।
माइण्ड फ्याक्ट्रीका प्राध्यापाक डा. प्रमोदबहादुर श्रेष्ठले नक्सांकनका लागि दुईजना प्राविधिक सुदूरपश्चिम प्रदेशमा खटाइने बताए । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सीपसम्बन्धी सूचना संकलनका लागि स्थानीय गणक नियुक्त गरिने बताए । उनले सोसम्बन्धी तथ्यांक ट्याबलेटबाट संकनल गरिने बताए ।
नक्सांकनमा कृषि, शिक्षा, निर्माण तथा रियलस्टेट, थोक तथा खुद्रा व्यापार र उद्योग क्षेत्रका सूचना समेटिने मन्त्रालयले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष ०७५÷७६ मा गरेको आर्थिक सर्भेक्षणअनुसार सुदूरपश्चिम प्रदेशमा दर्ता भएका र नभएका गरी ६२ हजार नौ सय ६८ वटा आर्थिक प्रतिष्ठान छन् । ति प्रतिष्ठानमा एक लाख ८५ हजार दुईजना (एक लाख २५ हजार ३२ जना पुरुष र ६० हजार एक सय ६८ जना महिला) कार्यरत छन् । सुदूरपश्चिममा कम्तीमा एक जनालाई रोजगार दिने ११ हजार छ सय ७२ वटा प्रतिष्ठान रहेको आर्थिक सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ ।
यही तथ्यांकको आधारमा मन्त्रालयले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहलाई नमुना नक्सांनका लागि छनोट गरेको मन्त्रालयका सहसचिव आचार्यले बताए । तथ्यांकअनुसार कम्तीमा एक रोजगार रहेका धनगढीमा चार सय १२, अमगरगढीमा दुई १४, जयपृथ्वीमा एक सय ४५ र लालझाडीमा ५० वटा प्रतिष्ठान छन् । सहसचिव आचार्यले यी चार स्थानीय तहका आठ सय २१ प्रतिष्ठानसहित कृषि, शिक्षा, निर्माण तथा रियलस्टेट, थोक तथा खुद्रा व्यवापार र उद्योग क्षेत्रका तथ्यांक जीआईएस नक्सामा प्रस्तुत गरिने बताए ।
यो नक्सामा वडा, स्थानीय तह र प्रदेशस्तरको तथ्यांक विश्लेषण गरिने प्रा.डा. श्रेष्ठले बताए । उनले नक्सामा राखिएका तथ्यांकले वडा, स्थानीय, प्रदेश र संघीय तहका नीनि निर्मातालाई नीति निर्माणमा सहयोग पु¥याउने बताए । व्यावसायिक शिक्षालाई सीपसँग र सीपलाई रोजगारसँग नजोडिएसम्म आर्थिक विकास सम्भव नरहेको बताउँदै प्रा.डा. श्रेष्ठले बढ्दो बेरोजगारी कम गर्ने नीतिलाई नक्साले सहयोग गर्ने बताए ।
मन्त्रालयका सहसचिव आचार्यले यसअघि गरिएका कुनै पनि नक्सांकन सफल नभएको बताउँदै जीआईएस नक्सा प्रयोगशील हुनुका साथै यसलाई निरन्तर अपडेट गर्ने जनशक्ति पनि उत्पादन गर्नुपर्ने बताए । उनले नक्साको जानकारी प्रयोग गरेर सरकारले नीति र कार्यक्रम बनाउने भएको हुनाले जानकारीसमेत आधिकारिक राख्न सुझाव दिए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जिम्मेवारी पूरा गर्न नसक्दा विभिन्न आयोजना अलपत्र परेको बताउँदै सक्ने जति मात्रै जिम्मेवारी दिनुपर्ने बताए । उनले सबै क्षेत्रलाई समेट्ने गरी प्राविधिक शिक्षा दिन आवश्यक रहेको बताए । उनले सहरबाट टाढाका नागरिकलाई प्राथमिकतामा राखेर प्राविधिक शिक्षा र तालिम सञ्चालन गर्नुपर्ने बताए । त्यस्तो किसिमले काम गर्नका लागि प्रयोगशील हुने गरी नक्सा तयार गर्न मन्त्री सुवेदीले आग्रह गरे ।

मुकेश चौधरी