सागर परियार
सोमवार, भदौ ३०, २०७६
488

जुम्ला-सामुदायिक वनको कुल आम्दानीको ४० प्रतिशत सामाजिक हितका लागि खर्च गर्नुपर्ने व्यवस्था छ । निम्न आयस्तर भएका समुदायको उत्थान, महिला उद्यमशिलता, स्वरोजगारमूलक तालिमलगायतका क्षेत्रमा सामुदायिक वनको कुल आम्दानीको ४० प्रतिशत सामाजिक हितका लागि खर्च गर्नु पर्दछ । तर जुम्लाका रहेका करिब २ सय सामुदायिक वनले हालसम्म सामाजिक कार्यमा खर्च गरेको पाइएको छैन । तर उदाहरणका रूपमा पातारासी गाउँपालिका–२ मा रहेको फुर्केसल्ला सामुदायिक वनले मावि विद्यालय सञ्चालनमा सहयोग गर्दै आएको छ ।
विगत ५ वर्षदेखि सामुदायिक वनले पातारासीको तल्फीस्थित सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गर्दै सामुदायिक वनले सञ्चालन गरेको छ । जुम्लामा १ सय ७० वटै विद्यालयमा दरबन्दी न्यून छ । दरबन्दीभन्दा निजी शिक्षक बढी छन् । स्रोत अभावले शिक्षक पाल्न निकै मुस्किल थियो ।

तर शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै, फुर्केसल्ला सामुदायिक वनले विद्यालय सञ्चालनमा योगदान दिएको सरस्वती माविका प्रअ वासुदेव यादवले बताए । उनले भने, “सामुदायिक वनले विद्यालयको भौतिक पूर्वाधार निर्माण र शिक्षकको तलब खुवाउनमा लगानी गर्दै आएको छ ।”
प्रअ यादवका अनुसार फुर्केसल्ला सामुदायिक वनले मासिक ८५ हजार रुपैयाँ शिक्षकको तलबमा सहयोग गरेको छ । जसमा १५ हजार तलबमा ३ जना शिक्षक र २० हजार तलबमा दुईजना शिक्षकलाई मासिक तलब खुवाउन सहयोग गर्दै आएको छ । सामुदायिक वनकै भरमा माध्यमिक विद्यालय चलेको छ ।
प्रावि दरबन्दी रहेको सो विद्यालयमा प्रावि शिक्षक ४ र एकजना राहतको दरबन्दी छ । शिक्षा विकास समन्वय इकाइले भने एकजना माध्यमिक शिक्षक सहयोग गरेको छ । जुम्लाका विद्यालयमा शिक्षक पाल्न धौधौ भइरहेको अवस्था, कतै तलब नपाएको भन्दै तालाबन्दी गरेको स्थितिमा जिल्लाकै एक नमुना कामका रूपमा फुर्केसल्ला सामुदायिक वनले शिक्षामा लगानी गरेको सामुदायिक वनका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । नियमअनुसार सामुदायिक वनको कुल आम्दानीको ४० प्रतिशत रकम सामाजिक हितका लागि खर्च गर्नुपर्छ । त्यसै अनुरुप वनको आम्दानीबाट विद्यालय सञ्चालन गरेका हौं उनले भने ।

वार्षिक आम्दानी ६ लाख
यता फुर्केसल्ला सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष पूर्णसिंह बोहराले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकताका साथ लगानी गरिएको बताए । उनका अनुसार सामुदायिक वनले गरेको वार्षिक आम्दानी मध्ये शिक्षामा लगानी गर्ने, वन संरक्षणका लागि स्थानीय सरकारलाई कर दिने वन व्यवस्थापनमा खर्च गर्ने गरेको बताए ।
सामुदायिक वनको आम्दानी वार्षिक रूपमा करिब ६ लाख बराबर हुन्छ । पछिल्लो समय राजस्व संकलनमा कडाइ गरेकोले आम्दानी बढ्दै गएको छ । जिल्लाका दुई सय एक सामुदायिक वन उपभोक्ता समितिमध्ये ४ वटा सामुदायिक वनको आम्दानी निकै राम्रो भएको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोर्कणप्रसाद चौलागाईंले बताए ।

६० प्रतिशत सामुदायिक वन अपारदर्शी
जुम्लाका एक नगरपालिका सात गाउँपालिकामा दुई सय सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता समितिले सुशासन भन्दा कुशासन बढी हुने गरेका कारण बेला बेलामा यस्ता प्रकारका घटना हुने गरेको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले बताए । उनले भने अहिले जुम्लाका ६० प्रतिशत सामुदायिक वन उपभोक्ता समितिमा पारदर्शिता छैन ।