प्रकाश पाक्साँवा
आइतवार, भदौ २९, २०७६
482

तेह्रथुम-राज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि प्रतिफल शून्यझैं भएकाले सरकारी विद्यालयप्रतिको मोह घट्दै गएको छ । सम्बन्धित निकाय जिम्मेवार नभएपछि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर दिनानुदिन खस्कँदै गएको हो । शिक्षा क्षेत्रमा अर्बौं खर्च भए पनि नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा राज्यको एक रुपैयाँ पनि लगानी नभएको निजी विद्यालय नै अग्रपंतिमा छ ।
जनप्रनिधि तथा सरकारी शिक्षकहरूका छोराछोरी कोही पनि सामुदायिक विद्यालय पढ्दैनन् । सामुदायिक विद्यालय प्रतिसरकारी सेवा सुविधा लिने व्यक्ति नै उदासीन छ । शिक्षकलाई आफै प्रति पनि विश्वास छैन कि मेलै पढाउँदै आएको विद्यालयमा गुणस्तरीय शिक्षा छ भनेर । जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी शतप्रतिशत सामुदायिक विद्यालय बाहिर छन् । आफै सरकारी विद्यालयमा पढाउने शिक्षकले समेत छोराछोरीलाई निजी विद्यालयमा पढाएपछि विपन्न तथा पढाइ शुल्क तिर्न नसक्नेका मात्र सामुदायिक विद्यालय हो भन्ने सोचाइको विकास भएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका निम्ती सम्बन्धित निकायको अनुगमन, शिक्षक साथै अभिभावक पनि जिम्मेवार हुनुपर्ने शिक्षा विकास तथा समन्वय इकाई समितिका प्रमुख लिलानाथ पोख्रेलले बताए ।

सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने तथा इन्टरनेट चलाएर बस्ने शिक्षकको प्रवृत्तिले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कमजोर बन्दै गएका हुन् ।
सामुदायिक विद्यालयमा शिक्षकको अटेरीका कारण कक्षा कोठामा नियम उल्लंघन गर्ने प्रवृत्तिले शैक्षिक गुणस्तर बढ्नुभन्दा झन् खस्कँदै जान थालेको अभिभावक अर्जुन काफ्लेले बताउँछन् ।
सन् २०३० सम्ममा राष्ट्रिय योजना आयोगले आफ्नो दिगो विकासको लक्ष्यमा गुणात्मक शिक्षा सुनिश्चित गर्ने उल्लेख गरेको छ । दिगो विकासको लक्ष्यमा पुग्नका निम्ती सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर वृद्धिका निम्ती म्याङलुङ नगरपालिकाले विद्युतिय हाजिरी,अनुमगन साथै अंग्रेजी माध्यमलाई जोड दिएको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताए । छवटा स्थानीय तह रहेको तेह्रथुममा हरेक आर्थिक वर्षमा करिब १ अर्ब शिक्षा क्षेत्रमा बजेट विनियोजन हुँदै आएको छ । २ सय २६ वटा विद्यालय सञ्चालनमा रहेको तेह्रथुममा १३ सय २३ जना शिक्षकको दरबन्दी छ । निजी विद्यालय भने २६ वटामात्रै सञ्चालनमा छन् । तर विद्यार्थीको कुल संख्याको २० प्रतिशतमात्र सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।