कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६
405

इलाम-इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट स्कुलको रूपमा विकास गरिएको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले यस विद्यालयलाई स्मार्ट स्कुल घोषणा गरिएको हो । राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई कम्प्युटर माध्यमबाट पढाइ सुरुगरेसँगै स्मार्ट स्कुलको रूपमा विकास गरिएको छ ।
केही समयअघि मात्र विद्यालयलाई आधुनिक र डिजिटलमैत्री बनाउने कार्यको सुरुवाता संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले गरेका थिए । नेम्वाङले भने, “आफू पढ्दा विद्यालय पोशाक लगाएर जान पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो,” विद्यालयको बारेमा पुरानो कुरा सम्झदै नेम्वाङले भने, “अहिले प्रदेश मध्येकै पहिलो आधुनिक विद्यालयको रुपमा देख्न पाउदा धेरै खुसी छु ।”पूर्वप्रधानमन्त्री झलनाथ खनाल र आफूले त्यो विद्यालय पढेको सन्दर्भ कोट्याउँदै नेम्वाङले का“ग्रेस नेता कुलबहादुर गुरुङले अध्यापनसमेत गराएको बताए । नेम्वाङले अझै पनि राज्यले गर्ने धेरै काम भएकाले सहकार्य र सहमितिको विकल्प नभएको वताए ।

सूचना विभागका महानिर्देशक लक्ष्मिप्रसाद यादवले प्रविधिको सञ्चालन गर्नका साथै प्रयोग गर्न पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन जरुरी भएको बताएका थिए । उनले प्रतिनिधिसभाका हरेक निर्वाचन क्षेत्रमा १-१ वटा यस्ता विद्यालयलाई स्मार्ट स्कुलको रूपमा अपग्रेड गरिने बताए । 
स्मार्ट स्कुलमा गइसकेपछि अब विद्यालयका हरेक कक्षामा चक डस्टरसहित मार्करले लेख्नु पर्ने दिनको अन्त्य भएको छ । त्यस्तै विद्यार्थी स्मार्टबोर्डमार्फत चाहेको कुरा सिक्ने छन् भने अत्याधुनिक सूचना– प्रविधिको अधिक्तम प्रयोग गर्नेछन् । यो विद्यालय सूचना प्रविधिमैत्री बन्नका लागि सञ्चार तथा सूचना मन्त्रालय र प्रदेश सरकारको सहयोग छ । सूचना मन्त्रालयबाट विद्यालयलाई ७० लाख रुपैया“ बराबरका कम्पुटर, स्मार्ट ह्वाइटबोर्ड, प्रोजेक्टर, साउण्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामग्री प्रदान गरेको हो । त्यस्तै प्रदेश सरकारबाट करिब २० लाख रुपैया“ बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलईडी टिभीलगायतका सामग्री प्रदान गरिएको छ । चक, डस्टरको प्रयोग नहुँदा अनौठो जस्तो भए पनि सूचना प्रविधिको विकासलाई पछ्याउन पाएकोमा विद्यार्थी पनि दंग छन् ।
विद्यार्थीहरूले आफ्नै पालामा यस्तो हुन्छ होला भन्नेसम्म नसोचेको तर कम्प्युटरका माध्यमबाट पढ्न पाएकोमा गर्व महसुस गरेका छन् । विद्यार्थी दिपेश तामाङले आफूहरूलाई नौलो अनुभवसहित पहिलाभन्दा अझ सहज भएको बताए । उपलब्धिमूलक कार्यक्रम भए पनि आफूहरूलाई चुनौतीसमेत थपिएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कोमल निरौलाले बताए । उनका अनुसार विद्यालयमा भौत्रिक संरचनासहित विद्यालयमा घेराबारा नहुँदा समस्या भएको बताएका छन् । कार्यक्रम थपिएकोमा आफूहरू हर्षित भए पनि यस कार्यक्रमलाई प्रभावकारी ढंगबाट स चालन गर्न सकिन्छ या सकिँदैन भन्ने चिन्तासमेत बढेको उनले बताए ।
यता विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले सूचना प्रविधिमैत्री विद्यालय घोषणाले विद्यार्थीहरूलाई अझ दक्ष बनाउने बताए । नियमित विद्युत् र इन्टरनेट नहुन सक्ने भन्दै चुनौती थपिएको बताए । कार्यक्रम सुरु गरेसँगै स्थानीय,  प्रदेश र केन्द्र सरकारले पनि यसलाई अझ बढाउन सके र नियमित सञ्चालन गर्ने गरी ब्यवस्था गर्न सक्नुपर्ने प्रधानाध्यापक पौडेलले बताए । गरिव र जेहेन्दार विद्यार्थीलाई पनि प्राविधिक विषय अध्यापनका लागि सहज भएको उनको भनाइ छ । 
१ देखि १२ कक्षासम्म सञ्चालित यो विद्यालयमा १ हजार ७ सय ६१ जना विद्यार्थी छन् । अंग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेको विद्यालयमा विद्यार्थी संख्या थपिँदै गएको अवस्थामा सूचना प्रविधिको उपयोगले विद्यार्थीको चाप थप बढ्न सक्ने विद्यालयले जनाएको छ । डिजिटल सामग्री नियमित मर्मत सम्भार, विद्युत् अनियमितता, इन्टरनेट भरपर्दो नहुनु, दक्ष जनशक्तिको अभावजस्ता समस्याले निरन्तरताका लागि  चुनौती देखिएको छ । 

टीका खतिवडा