प्रकाश लम्साल
सोमवार, भदौ २, २०७६
291

सराहनीय सामुदायिक


बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक नमुना विद्यालय जिल्लाकै ४ ओटा संकाय सञ्चालन गर्ने एकमात्र सामुदायिक विद्यालय हो । विज्ञान, वाणिज्य, शिक्षा र मानविकि गरी हाल ४ ओटा संकायमा पठनपाठन गराइरहेको विद्यालयमा विज्ञान संकायमा भने प्रदेश २ मै नमुना विद्यालयका रुपमा पहिचान बनाउन सफल रहेको छ ।

सफल बनेकै स्थानीय बाहेक छिमेकी जिल्ला रौतहट, सर्लाही, महोत्तरी लगाएतका स्थानबाट विज्ञान संकायमा विद्यार्थीहरूको विद्यालयको पठनपाठन उत्कृष्ट बने पछि यहाँ बर्षेनी अध्ययनका लागि आउने गरेका छन् ।
विज्ञान संकाय अध्ययन गर्न जिल्लाका विद्यार्थीहरू अन्यत्र जिल्ला जान छाडेका छन् । सिमरा माविमा स्तरिय विज्ञान संकायको पठनपाठन हुँदा उनीहरूको पहिलो रोजाइ नै यस विद्यालय बनेको छ । अध्ययनका लागि छिमेकी जिल्लाहरूबाट राजधानी बाहिरिने विद्यार्थी केही वर्षदेखि बाराको सिमरामै अध्ययनरत छन्् ।
विज्ञान संकायमा अध्ययनरत छात्रा प्रतिक्षा सिवाकोटी सर्लाहीबाट सिमरा पढ्न आएकी हुन् । उनले राजधानीका निजी स्कुलमा पाइने सेवासुविधा सरह सिमराको सामुदायिक विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला सहित अध्ययन गर्न पाउँदा खुशी छिन्् ।
“काठमाडौं पढेको भए खर्च धान्नै नसक्ने हुन्थ्यो, तर यहाँ अन्य संकाय जत्तिकै न्यून शुल्क छ, शिक्षकहरू पनि अनुभवी हुनुहुन्छ,” उनले भनिन्, “राम्रो पढाइ हुन्छ भनेर विश्वास लागेको थिएन, तर काठमाडौंभन्दा पढ्न रमाइलो र मज्जा छ । शैक्षिक वातावरण पनि राम्रो छ ।”
विज्ञान संकायका सर्लाहीका सन्दिप सिम्खडा पनि नतिजा उत्कृष्ट आउने आसामा छन्् । उनी काडमाडौंको निजी स्कुलमा खर्च धेरै लाग्ने भएपछि यहाँको गुणस्तरीय शिक्षाको प्रदेशमै नाम सुनेपछि आफू भर्ना भएको बताए । “विज्ञानका सबै सुविधा पाएका छौँ,” उनले भने, “निजी विद्यालयले लिने भर्ना शुल्कले मात्रै यहाँ आधा वर्षको शुल्क तिर्न पुग्छ ।”
विज्ञान संकायमा अघिल्लो वर्षको शतप्रतिशत नतिजाले विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै गइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमले बताए । जिल्लामा ८ ओटा विद्यालयले विज्ञान संकाय पठनपाठनको सम्बन्धन लिएपनि प्रभावकारी व्यवस्थापन हुन नसक्दा नतिजा राम्रो दिन नसकिरहेको बताउँदैे गौतमले सिमरामा भने स्थापनादेखि नै ९० प्रतिशत भन्दा बढी नतिजा ल्याउन सफल भएको दाबी गरे ।
“हामीले विज्ञान संकायमा प्रदेशमै उत्कृष्ठ नतिजा ल्याएका छौँ । शतप्रतिशत नतिजाले विद्यार्थीको चाप यस वर्ष अझ बढेको छ,” उनले भने, “हामी निजी विद्यालय भन्दा कुनै पनि कुरामा कम छैनौँ ।” उनले आगामी योजनामा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको सुरुवात गर्ने तयारीमा लागेको समेत बताए । हाल विज्ञान संकायमा कक्षा १२ मा २७ विद्यार्थीसहित कक्षा १ देखि १२ सम्म १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन्् । सीमित सिटमा कक्षा ११ मा भर्ना गरिएको उनले बताए ।
विद्यालयका प्राचार्य शंकर कुमार आचार्यले विद्यालयलाई आगामी दिनमा अझ गुणस्तरीय शिक्षाको विकासमा कटिबद्ध रहने बताएका छन्् । अहिले एसइइ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू भर्ना हुने क्रम जारी रहेको भन्दै उनले स्तरीय पठनपाठनका कारण निजी विद्यालयमा एसइइ उत्तीर्ण गरेका अधिक विद्यार्थीहरू सामुदायिक विद्यालयमा भर्ना हुन आएका जानकारी दिए ।
जिल्लाका अन्य निजी विद्यालयहरूले प्रायः वाणिज्य संकायलाई मात्र प्राथमिकता दिएपनि सिमरा माविमा भने ४ ओटा संकायको पठनपाठन भइरहेकाले प्रदेशमै विद्यार्थीहरूको यस विद्यालयमा रुचि बढेको हो । हाल विद्यालयमा विज्ञान, वाणिज्य, शिक्षा र मानविकि संकायको कक्षा सञ्चालन भइरहेको छ ।
जिल्लाको शैक्षिक हबका रुपमा विकास गर्ने उद्देश्यले विद्यायलको भौतिक पूर्वाधारलाई समेत आधुनिक गर्दै लगिएको प्रअ आचार्यले बताए । विद्यालयमा सांकेतिक भाषाका विद्यार्थीहरू समेत अध्ययनरत छन्् । राज्यले देशका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने नीतिअनुरुप विद्यालयले सबैखाले सुविधा दिइरहेको विद्यालयका सह–प्राचार्य अच्युतदेव सिटौलाले बताए ।

नमुना विद्यालयका लागि काम सुरु
सिमरामा रहेको नेपाल राष्ट्रिय माध्ममिक विद्यालय जिल्लाको नमुना विद्यालय निर्माणको काम सुरु भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग अन्तर्गतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले नमुना विद्यालय छनौट सम्बन्धमा जिल्ला शिक्षा कार्यालयहरूलाई जारी गरेको पत्र अनुसार सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नमुना विद्यालयमा छनौट हुन सफल भएको छ ।
विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, सिर्जनात्मक क्रियाकलाप लगायत अन्य पक्षहरूका अधारमा विद्यालय नमुनामा छनौट भएको हो । वि.सं. २०१४ सालमा प्राथमिक तहमा स्थापना भएको सो विद्यालयले २०२८ सालमा निमाविको पठनपाठन सुरु गरेको थियो । त्यसैगरी २०४३ सालमा माध्यमिक तह कक्षा ९ र १० पठनपाठन सुरु गरेको थियो । २०५४ सालमा उमाविको सम्बन्धन ल्याउन सफल भएको सो विद्यालयले हाल नेपाल सरकारको परिमार्जित शैक्षिक नीतिलाई समेत अबलम्बन गरी माध्यमिक तह अन्तर्गत कक्षा १ देखी १२ सम्मको पठनपाठन गराइरहेको छ ।
यसअघि कक्षा ११ र १२ लाई उच्च माध्यमिक शिक्षा परिषद्ले मध्य तराईकै उत्कृष्ट उच्च माविका रुपमा घोषित गरेको थियो । यसपटक भने नेपाल सरकारले नै नमुना विद्यालयमा छनौट गरेर विद्यालयको मनोबल वृद्धि गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमले बताए ।
२०६८ सालदेखि नै अंगेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सुरु गरेको विद्यालयले हाल कक्षा १ देखि १२ सम्म नै अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यापन गराइरहेको छ । स्थापना कालदेखि नै स्तरिय पठनपाठन र मर्यादित परिक्षामा नाम स्थापित गराउन सफल विद्यालयमा हाल कक्षा १ देखि १२ कक्षामा १ हजार ८ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।
यसै वर्षबाट नमुना विद्यालय निर्माणका लागि काम अघि बढेको छ । अघिल्लो वर्ष आएको नमुनाको रकम स्थानीय तह जीतपुर सिमरा उपमहानगरको बेवास्ताले रकम फ्रिज भएपनि यस वर्षको रकम भने आएको छ । सोही अनुसार विद्यालयले विभिन्न काम गर्न थालेपछि विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेको विद्यालयको भनाइ छ ।
विद्यालयमा अहिले सिसि क्यामेरा जडान गरी विद्यार्थीको पठनपाठनलाई सिसि क्यामेराको निगरानीमा राखिएको छ । यसैगरी प्रारम्भिक चरणमा विद्यालयमा अध्ययनरत आधारभूत तहका तल्ला कक्षा (कक्षा १ देखी ५) सम्म बाल मैत्री र डिजिटल कक्षा व्यवस्थापनका लागि विद्यालयले काम सुरु गरेको छ ।