कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
199

जाजरकोट - ठुलिभेरी नगरपालिका–२ कुम्ली डोल्पाकी दिलमाया विक सधै घरको काम गर्दै आएकोमा आजभोलि विद्यालयमा आएर नियमित छलफल गरिरहेकी छन् । उनले आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित रुपमा शिक्षकसँग छलफल गर्ने गरेकी छन् ।
घरआँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका अधिकांश महिलाहरु दिलमायाको क्रियाशिलता देखेर दंग मात्र छैनन्, सल्लाह सुझाव समेत माग्न थालेका छन् । विद्यालयमा आफ्ना बालबालिकालाई पढाउने मात्र होइन, पढे–नपढेको प्रभावकारी अनुगमन समेत दिलमायाले गर्दै आएकी छन् ।

घरबाट २० मिटरमात्र टाढा रहेको मन्मा आधारभूत विद्यालय कुम्लीमा दैनिक आएर छलफल गरिरहेको शिक्षक जयकृष्ण हमालले जानकारी दिए । उनी आएर छलफल गरेको देखेका अन्य अभिभावक समेत आजभोलि विद्यालयमा आएर बालबालिकाको विषयमा बुझ्न थालेका छन् । अभिभावकमा चेतनाको विकाससमेत भएको उनीहरुको भनाइ छ । अनावश्यक रुपमा घुमेर खर्चिने समय अहिले बालबालिका पढाएर बित्ने गरेको अर्का अभिभावक दिनेश रोकायले बताए ।
विद्यालयमा आएर छलफल गर्दा शिक्षक र अभिभावकबीच सम्बन्ध समेत राम्रो हुने गरेको रोकायको भनाइ छ । विद्यालयमा नियमित अभिभावक आएर कुरा गर्दा शिक्षकहरु समेत विद्यालयमा नियमित र समयमा पुग्ने गरेको उनको भनाइ छ । डोल्पाको दिगो तथा न्यायोचित विकास प्रतिष्ठान (सेडा नेपाल) ले साविकका ३२ वटा गाविसमा यूएसएआईडी, आरटिआईको आर्थिक सहयोगमा कार्यक्रम गर्दै आएको छ ।
प्रारम्भिक चरणमा बालबालिको शिक्षामा सुधार ल्याई उनीहरुको सर्वागिंण विकास गर्ने लक्ष्यका साथ डोल्लाका कक्षा १ देखि ३ सम्मका करिब १०९ वटा विद्यालयमा १९ महिने कार्यक्रम सुरु भई काम भइरहेको कार्यक्रम संयोजक योगेन्द्र बुढाले बताए । कार्यक्रम लागू भएदेखि अहिलेसम्म जिल्लाका ८ वटा स्थानीय तहका विद्यालयमा अन्तरक्रिया, अभिभावक भेला र संयुक्त छलफल गरी खेलबाट पढाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने ज्ञानसमेत दिइएको छ ।
विद्यालयमा मुखसम्म नदेखाउने र बालबालिका समेत विद्यालयमा नपढाउने अभिभावकहरु अहिले विद्यालयमा छोराछोरी ल्याएर विद्यालयमा छोड्ने र बेलुका लिन आउनेसम्मको वातावरण तयार भएको बुढाले दावी गरे । कार्यक्रमको प्रभावकारिता निकै बढेको अर्का अनुगमनकर्ता शेरबहादुर खत्रीले बताए । अहिले डोल्पाका सबै घरमा विद्यार्थी पढाउनका लागि पढाइ कुना निर्माण गरिएको छ ।
खाना पकाउने कोठामा सीमित आकारको स्थानमा पढाइ कुना बनाएर दैनिक खाना पकाउने समयमा अभिभावकले छोराछोरी पढाउने गरेको कुम्लीका अर्का स्थानीय डम्वर रोकायले बताए । त्यस्तै यो कार्यक्रममा ठाउँठाउँमा पढाइको लागि मेला आयोजना समेत हुने गरेको छ । अभिभावक विद्यार्थी र जनप्रतिनिधि सँगै राखेर पढाइ मेला हुँदै आएको छ । पढाइ मेला भएपछि फोक्सुण्डो आधारभूत विद्यालय खदाङमा आफ्ना बालबालिकाहरूको शैक्षिक गुणस्तर बुझ्न सजिलो भएको अभिभावक तिले बुढाले बताए । विद्यालय परिसरमा शैक्षिक सामग्रीको प्रयोग र प्रभावका विषयमा समेत दिनहुँ छलफल हुँदै आएको छ ।
कक्षा १, २ र ३ का बालबालिकाका लागि छुट्टाछुट्टै राखिएको कक्षा स्टलहरूमा बालबालिकालाई एक-एक गरेर निश्चित समय दिएर पढ्न, भन्न र लेख्न लगाइएर पढाइ मेलामा छलफल गरिँदै आएको छ ।
आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न पहिलो पटक पढाइ मेलामा सहभागी भएका अभिभावक जंगबहादुर रोकायाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गतको पढाइ कुना मेलाले पढाइमा सुधार ल्याएको बताए । त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले विगतमा कृषिलाई प्राथमिकता दिएर स्याउ, ओखर र अंगुर खेतीलाई बजेट विनियोजन गरेकोमा अबको नगरको पहिलो प्राथमिकता शिक्षालाई दिएर बजेट विनियोजन गरिने बताए ।