कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६
298

धनकुटा नगरपालिका–४ निवासी लोकेन्द्रकुमार श्रेष्ठले धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिँधुवामा रहेको सरस्वती माध्यमिक विद्यालयलाई झण्डै ८२ लाख रुपैयाँ बराबरको १ रोपनी १० आना जग्गा दान गरेका छन् ।
जिल्ला मालपोत कार्यालयमा बिहीबार विद्यालयको नाममा श्रेष्ठले रजिस्ट्रेशन पास गरेका हुन् । बिहीबारै पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक किरणकुमार राईलाई जग्गा धनीपुर्जा हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै जग्गादाता श्रेष्ठले परिवारका सबै सदस्यले सोही विद्यालयबाट अध्ययन गरी उच्च शिक्षा हासिल गरेकाले नमुना विद्यालय निर्माण गर्न आफ्नै जग्गा आवश्यक भएकाले आफूले सहयोगवापत रजिस्ट्रेसन पास गरी लालपुर्जा विद्यालयलाई हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक किरण राईले विद्यालयजस्तो पवित्र संस्थालाई श्रेष्ठ परिवारबाट प्राप्त भएको सहयोगले विद्यालयलाई ठूलो सहयोग मिलेको बताए । उनले भने, “नमुना विद्यालय निर्माणको रूपमा छनोट भए पनि आफ्नै जग्गा नहुदाँ विद्यालयको भौतिक संरचना निर्माणको डीपीआर बन्न सकेको थिएन, अब यसका लागि बाटो खुला भएको छ,” राईले भने, “श्रेष्ठले विद्यालयको नाममा जग्गा पास गर्ने बित्तिकै डीपीआरको प्रक्रिया अघि बढेको छ । यो रजिस्ट्रेशन पाससँगै विद्यालय भएको स्थानमा रहेका अन्य जग्गा दातालाई समेत रजिस्ट्रेसन पास गर्नु हुन्छ भन्ने अपेक्षा विद्यालयले लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थापाले बताए ।