कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
268

ताप्लेजुङ-कञ्चनजंघा हिमालको काखमा अवस्थित श्री घुन्सा आधारभूत विद्यालयका विद्यार्थीले अझै ‘हिमाली छात्रवृत्ति’ पाएका छैनन् । आर्थिक वर्ष ०७५-७६ सकिन लाग्दासमेत हिमाली छात्रवृत्ति विस्तार कार्यक्रमअन्तर्गतको रकम पाउन सकेका छैनन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट वार्षिक १० लाख ५० हजार पाउनुपर्ने थियो । उक्त रकम विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीका लागि प्रदान गर्ने गरिएको प्रधानाध्यापक लिलाचक्र गुरुङले जानकारी दिए । प्रअ गुरुङले भने, “असार सकिन एक साता पनि छैन । अब कहिले र कसरी भुक्तानी होला ?” फक्ताङलुङ गाउँपालिकामा सम्पर्क गर्दा बुझेर भुक्तानी गर्छौं भन्ने जवाफ पाएको उनले बताए ।

असार २२ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा निवदेन पठाएलगत्तै केन्द्रले गाउँपालिकामा रकम उपलब्ध गराएको बताएपनि गाउँपालिका भने अन्योलमा छ । गाउँपालिका कार्यालयमै रहेका गाउँपालिका अध्यक्ष सरोज एभेङले भने, “गाउँपालिकाका कार्यकारी अधिकृत र कर्मचारीलाई कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझ्न भनेको छु । यदि रकम भएको भए तु–भुक्तानी गर्छौं ।” तर गाउँपालिकामा बैंकिङ कारोबार भरपर्दो नभएकाले सदरमुकाम आएर भुक्तानी लिनसमेत समस्या छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाली चुङदा शेर्पाका अनुसार सदरमुकाम आएर भुक्तानी लिने समय सुविधा न्यून छ ।
उक्त रकम ४० जना विद्यार्थी टिकाउन र सिकाउनसहित गास, बास र कपासमा खर्च हुने गरेको छ । प्रअ गुरुङले भने, “वर्षभरिको एकमुष्ट भुक्तानी दिने गरी नुन तेल र चामल उधारो किनेका छौं । यदि भुक्तानी भएन भने पठनपाठन नै प्रभावित हुने खतरा छ ।” उक्त रकम २० जनालाई मात्र दिए बाँकी विद्यार्थी पठनपाठनबाट वञ्चित हुने भएकाले उनीहरूलाई समेत छात्रवास सुविधा दिएर थप २० जना गरी ४० जनालाई सुविधा दिइएको हो । हिमाली क्षेत्रको दुर्गम बस्ती भएकाले दैनिक घन्टौ हिडेर घर–विद्यालय गर्न सम्भव नभएकाले व्यवस्थित छात्रवास निर्माण गरेर विद्यार्थी राखिएको छ । कक्षा–८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् । ४० जना विद्यालयमै बस्छन् भने १० जना विद्यालय वरपर घर भएका विद्यार्थी पठनपाठन गर्छन् ।

देवराज गुरुङ