कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५
235

ओखलढुंगा-ओखलढुंगाका दुई स्थानीय तहलाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरिएको छ । सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको घोषणा गरिएको हो ।
सिद्धिचरण नगरपालिकाभित्र ५ देखि १२ वर्षसम्मका सबै बालबालिका विद्यालयमा भर्ना भएपछि सो घोषणा गरिएको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताए । उनले भने, “नगरमा अब विद्यालय बाहिर कुनै बालबालिका छैनन्, उनीहरुलाई विद्यालयमा टिकाई राख्न चाहिँ चुनौती छ ।” भर्ना गरिएका सबै बालबालिकालाई विद्यालयमा टिकाएर सिकाउन सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नगर प्रमुख श्रेष्ठले शिक्षकहरु सुध्रिने र परिवर्तित परिवेश अनुसार अध्यावधिक भएर शिक्षण गर्नु पर्ने बताए ।

नगर क्षेत्रभित्रका ५–१२ उमेर समूहका ४ हजार ५ सय ९९ बालबालिका विद्यालयमा भर्ना भएका छन् । अब नगरपालिकाका १२ वटा वडामा एक जना पनि सो उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख फडिन्द्र कट्वालले बताए । आइतबार सिद्धिचरणका मेयर श्रेष्ठले नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको घोषणा गरेका हुन् ।
त्यस्तै मोलुङ गाउँपालिकालाई यस अघि नै आधारभूत शिक्षा अनिवार्य शिक्षा सुनिश्चित स्थानीय घोषणा गरिएको छ । गाउँपालिका प्रमुख मणिराज राईले विद्यालयमा विद्यार्थीलाई भर्ना मात्र नभई निरन्तर उपस्थित गराउन शिक्षक र अभिभाव जिम्मेवार बन्नु पर्ने बताए । उनले मोलुङ गाउँपालिकामा शैक्षिक सुधारको पहलिो खुट्किलोका रुपमा आफूले यही घोषणालाई लिएको जनाए ।
सरकारले वैशाखमा पहिलो चरण र जेष्ठमा दोस्रो चरणको राष्ट्रिय भर्ना अभियान चलाएको थियो । यो अभियानको दोस्रो चरणमा सिद्धिचरण नगरपाmिकाभित्र १६ जना विद्यार्थी मात्र भर्ना भएका थिए । अन्य विद्यार्थीहरु पहिलो चरणमै भर्ना भइसकेको शिक्षा शाखाले जनाएको छ ।