कारोबार संवाददाता
मंगलबार, असार २३, २०७७
611

काठमाडौंमा पानी आइपुग्ने मिति पटकपटक सार्दै आइरहेको सरकारलाई विश्वास गर्ने आधार बाँकी नरहेकाले यसपटक पनि जनताले पत्याउन सकेका छैनन्

 काठमाडौं उपत्यकाको खानेपानी अभाव पूर्तिका लागि सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउने योजना अर्थात मेलम्ची खानेपानी आयोजना भन्नेवित्तिकै सबैको मनस्थितिमा विकासको अत्यन्त विवादास्पद र असफल मोडल चित्रण हुन्छ । दशकौंदेखि काकाकुल काठमाडौंका लागि सपनामात्र भएको तर स्वदेशका नीति निर्माता र प्रशासकमात्र नभइ विदेशी विकास साझेदारदेखि निर्माण कम्पनीसम्मको असफलताको मापन गर्ने मुलुकको ठूलो परियोजना हो– मेलम्ची । यसको असफलताले सिंगो मुलुकको विकास प्रणालीकै कमजोरी उजागर गरेको छ । हाम्रो शासन प्रणालीसमेत प्रत्यक्ष जोडिएको यो कुरूप विकास आयोजनामा सरकारी अधिकारीहरूले फेरि अर्को तुरूप फ्याँकेका छन् । अर्थात, आउँदो २ महिनामा काठमाडौंमा मेलम्चीको पानी आइपुग्नेछ ।
पटकपटक मेलम्चीको पानी काठमाडौं आइपुग्ने भन्दै झुक्याइएका काठमाडौंवासीले सरकारको घोषणा पत्याइहाल्न सकेका छैनन् । मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक स्व. दिनेशचन्द्र प्याकु¥यालले सन् २००६ मा नै मेलम्चीको पानी काठमाडौं आइपुग्छ भन्दै एक पत्रिकालाई दिएको अन्तर्वार्ताको तस्बिर अहिले पनि मानिसले व्यंग्यका रूपमा सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । तत्कालीन सचिव किशोर थापाले पनि काठमाडौंवासीको धारामा मेलम्चीको पानी २०७२ वैशाख १ मा झर्नेछ भन्दै गरेको घोषणा मानिसहरूले अहिले पनि पटक पटक सम्झिने गर्दछन् । यतिमात्र नभइ हालका खानेपानीमन्त्री विना मगरले मन्त्री भएलगत्तै तीन महिनामा मेलम्चीको पानी आइपुग्ने घोषणा गरेकी थिइन् भने त्यसपछि पनि पटकपटक यसको भाका सरिसकेको छ । यसरी काठमाडौंमा पानी आइपुग्ने मिति पटकपटक सार्दै आइरहेको सरकारलाई विश्वास गर्ने आधार बाँकी नरहेकाले यसपटक पनि जनताले पत्याउन भने सकेका छैनन् ।

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने जनाइएको छ । यसको लागि परियोजनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्चीमा याङ्ग्री र लार्के नदीलाई समेत डाइभर्ट गर्नेछ । यो आयोजनालाई एसियाली बिकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यसयताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको छ ।
आयोजना निर्माण सुरु भएको पनि आउँदो पुसमा १९ वर्ष पूरा हुनेछ । आयोजनामा तोकिएको लागतभन्दा २२ अर्ब १० करोड बढी खर्च भइसकेको छ । २०५८ मा आयोजना सुरु गरिँँदा तत्कालीन अमेरिकी डलरअनुसार ३१ अर्ब ७० करोड रूपैयाँमा सम्पन्न हुने प्रक्षेपण गरिए पनि हालसम्म यसको लागत बढेर ५३ अर्ब ८० करोड रूपैयाँ पुगेको छ । यो २२ अर्ब १० करोड रूपैयाँले बढी हो । यद्यपि, समय बढेर मात्र नभइ डलरको मूल्य अस्वाभाविक रूपमा बढ्दा पनि आयोजनाको लागत बढेको देखिन्छ । लागत बढेसँगै मुलुकले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा निकै ठूलो मूल्य चुकाएपछि बल्ल आयोजना पूरा हुने अवस्थामा पुगेको छ । मुलुकको असफल आयोजनाका रूपमा रहेको मेलम्ची अन्ततः पूरा हुने अवस्थामा पुगेको अवस्थालाई भने सकारात्मक रूपमा नै लिनुपर्छ । यसपटक फेरि सरकारले गरेको घोषणाअनुसार २ महिनामै काठमाडौंमा मेलम्चीको पानी झरोस् र जनताले फेरि धोका खानु नपरोस् ।