कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
561

अर्थतन्त्रको बागडोर सम्हालिरहेका व्यक्तिको अभिव्यक्ति र प्रस्तुती बारम्बार विश्वसनियताको कसीमा असफल हुनु राम्रो सूचक होइन ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई कुनै पनि तथ्यांक अनुकुलता हेरी आफ्नो पक्षमा व्याख्या गर्न सक्षम व्यक्तिका रूपमा चिनिन्छ । नेपाल राष्ट्र बैंकदेखि राष्ट्रिय योजना आयोगसम्म यही छविमा परिचित खतिवडाले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको अढाई वर्षसम्म पनि कायम राखेका छन् । अर्थशास्त्री र यसका जानकारहरू समेत अर्थमन्त्रीको यो चलाखीसँग परिचित छन् तर कतिपयले यसमा चुनौती दिनु आवश्यक ठान्दैनन् । यसकारण अर्थमन्त्री डा. खतिवडाले मुलुकको अर्थतन्त्र ठिक लयमा अघि बढिरहेको भने पनि त्यसमा आँखा चिम्लेर विश्वास गर्न कठिन छ र अर्थतन्त्रको अवस्था निकै खराब रहेको भन्दै श्वेतपत्र नै निकाल्दासमेत अर्थतन्त्रका जानकारहरूले उनलाई पत्याएनन् र आलोचना भयो । यसरी मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका व्यक्तिको अभिव्यक्ति र प्रस्तुती बारम्बार विश्वसनियताको कसीमा असफल हुनु राम्रो सूचक होइन ।
कोरोना संकटपछि मुलुकमा आम्दानीको स्रोत कमजोर हुँदा चालू खर्च धान्न नै मुश्किल परिरहेको छ । दुई साताअघि प्रतिनिधिसभामा अर्थमन्त्रीले नै सरकारको दैनिक खर्च राजस्वले धान्ने स्थिति नभएकोे उल्लेख गर्दै कोरोनाका कारण समग्र अर्थतन्त्र कमजोर बन्दा सरकारको ढुकुटी नै रित्तो भएको बताएका थिए । आफूले नेतृत्व सम्हालेपछि पहिलोपटक देशको अर्थतन्त्रको अवस्थाबारे सही टिप्पणी गरेका खतिवडाको इमानदारिताको सर्वत्र चर्चासमेत भएको थियो । उनले राजस्वको स्थिति अप्ठ्यारोमा रहेको र त्यसलाई स्वीकार गर्नुपर्ने बताए पनि केही सातामै बोली फेरेका छन् । दैनिक उठ्ने राजस्वले दैनिक खर्च धान्ने स्थिति छैन भन्ने इमानदार अभिव्यक्तिबाट उनी फेरि पुरानै अवस्थामा फर्किएका छन् ।

१५ दिनमा राजस्व संकलन केही बढे पनि आशालाग्दो स्थिति छैन तर अर्थमन्त्री उत्साहित हुँदै असार १ गतेदेखि लकडाउन खुकुलो हुँदा पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख रहेको र ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दावीसमेत गरेका छन् । उनको यो अभिव्यक्तिले मानिसलाई उत्साह त जगाउला तर अर्थतन्त्रको कखरा बुझ्नेले भने यसलाई आफ्ना कमजोरी लुकाउने उनको नियतका रूपमा बुझेका छन् । सरकारमाथि चौतर्फी संकट आइरहँदा यसको बचाउका लागि पनि यस्तो अस्त्र फालिएको हुनसक्छ भने भोलि सरकार ढलिहाल्यो भने पनि आफ्नो कार्यकालमा यस्तो अवस्था थियो भन्ने दावी गर्ने आधार बाँकी राख्ने चलख्याइँका रूपमा यसलाई बुझ्न सकिन्छ । जबकि पछिल्लो ५ महिना अत्यन्तै काम बढी हुने समयमा कोरोनाले असर गरेको र अब बिस्तारै आर्थिक क्रियाकलाप लयमा आउने दाबी उनले गरिरहँदा उनमा द्वैध मानसिकता देखियो ।
निश्चय पनि लकडाउनले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन, अन्तर्राष्ट्रिय व्यापारलगायत हुन् । लकडाउन अघिदेखि नै पर्यटक आगमन शून्यप्राय छ भने लकडाउनको सुरुवाती दुई महिनासम्म जम्मा २० प्रतिशतमात्रै आयात भएको थियो । त्यसपछिका महिनामा व्यापारमा केही सुधार भए पनि अपेक्षित छैन । सरकारको खर्च र राजस्व संकलनको अवस्थामा केही सन्तुलन नै देखिए पनि विकास खर्चका लागि आवश्यक वाह्य सहयोग र ऋण आउन नसक्दा अर्थतन्त्रले गति लिनसक्ने अवस्था देखिँदैन । यसरी दुई सातामा फेरिएको अर्थमन्त्रीको बोलीमध्ये कुन पत्याउने भन्ने अन्योल जनतामा देखिन्छ । सरकारका जिम्मेवार अर्थमन्त्रलिे मौका हेरेर आफनो बोली फेर्दै जाँदा अर्थतन्त्रको वास्तविक तस्बिरबारे नागरिक जहिले पनि अन्योलमा रहने हुनाले यसप्रकारका बोलीले ब्यवासायिक वातावरण बिगार्ने पक्का छ । कोरोना कहरले आम नागरिक तथा निजी क्षेत्रको आत्मविश्वास डगमगाएको बेला फरक फरक बोली बोल्दा झन् ब्यावसायिक वातावरण खल्बलिने हुन्छ । तसर्थ यस्ता अभिब्यक्ति दिनु अघि अर्थमन्त्री सदैव सचेत रहनु आवश्यक छ ।