कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
534

राज्यका साधनस्रोत दुरूपयोग गरेर फेसनका रूपमा धान दिवस बनाउनुको कुनै अर्थ छैन ।

आम नेपाली नेपाल कृषिप्रधान देश हो भन्ने पाठ्यपुस्तक पढेरै हुर्किएका हुन् । नेपालमा औद्योगिक उत्पादन तथा सेवा व्यापार कृषिको तुलनामा नगण्य भएकाले कृषिप्रधान भनिनु स्वाभाविक पनि हो । हुन त पछिल्लो दुई दशक नेपाली अर्थतन्त्र वैदेशिक रोजगारप्रधान अर्थात रेमिट्यान्समुखी भइसकेको छ । यद्यपि, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब ३३ प्रतिशत हाराहारी योगदान रहेको कृषि क्षेत्रमा जनसंख्याको ६५ प्रतिशतभन्दा बढी जनशक्ति क्रियाशील रहेको विभिन्न अध्ययनले नै देखाएको छ । यस आधारमा भन्न सकिन्छ कि नेपालमा कृषि उत्पादकत्व न्यून अर्थात ज्यादै निराशाजनक छ । अन्य विकल्प नहुँदा ठूलो जनशक्ति कृषि पेशामा अलमलिएको छ र उनीहरूको श्रमको तुलनामा प्रतिफल निराशाजनक छ ।
कृषिसम्बन्धी प्रविधि विकास र उत्पादनमा संसारकै उदाहरणीय मानिएको इजरायलमा भने ४ प्रतिशत जनतामात्र कृषिमा संलग्न छन् तर देशको ९५ प्रतिशत खाद्य आवश्यकता पूर्ति गर्छन् । नेपालले भने ६५ प्रतिशतभन्दा बढी कृषिमा छन् भएर पनि वार्षिक २२० अर्बभन्दा बढीको खाद्यवस्तु आयात नै गरिरहेको छ । यो बिडम्बनापूर्ण अवस्थाका अनेकौं कारणमध्ये मुख्य सैद्धान्तिक कारण भने कृषि पेशालाई गरिएको हेला नै हो । कृषि क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त बजेट विनियोजनको कमी, सहुलियतपूर्ण ऋण लगानी, कृषि सामग्रीको यथोचित उपलब्धता र आवश्यक अनुदान तथा कृषि बिमा प्रभावकारी नहनुजस्ता अनेकौं समस्या रहे पनि मूल कारण भनेको कृषिलाई हेर्ने आम जनमानसको दृष्टि तथा सरकारको न्यून प्राथमिकता नै हो ।

असार १५ लाई सरकारले धान दिवसका रूपमा मनाउने गरेको छ । तर तथ्यांकमा हेर्ने हो भने नेपालले चालू आवको ११ महिनामै ३० अर्ब ८२ करोड रूपैयाँको चामल आयात गरिसकेको छ भने नेपालको उत्पादनले वार्षिक ६ लाख टन चामल अपुग हुने अवस्था छ । नेपालको जनसंख्या यसैसाता ३ करोड पुगे पनि ५० लाखभन्दा बढी मुलुकबाहिर नै रहेको अनुमान रहेको अवस्थामा यहाँको उत्पादनले वार्षिक २ करोड ५० लाख जनसंख्यालाई पनि पुग्ने अवस्था देखिन्न । यसको कारण उत्पादकत्वमा कमी नै हो । नेपालमा धानबालीको उत्पादकत्व प्रतिहेक्टर ३.८ टनमात्र छ । जबकि भारतमा प्रतिहेक्टर ४.५ टन र चीनमा ७ टन धान उत्पादकत्व छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्थाको कारण भने सिँचाइ सुविधा ३२ प्रतिशत जमिनमा मात्र हुनु हो । देशभर २५ प्रतिशत जमिन सधैँजसो बाँझो रहन्छ भने २० प्रतिशत किसानले मात्र खेतीमा यन्त्रको प्रयोग गर्छन् । यसकारण नेपालको परम्परागत खेती प्रणालीले एकातर्फ ठूलो जनशक्ति खेर गइरहेको अवस्था देखिन्छ भने अर्कोतर्फ खाद्यान्नमा अझै मुलुक परनिर्भर रहेको देखिन्छ ।
नेपालले २०६६ देखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरे पनि त्यसअघि र पछिको अवस्थामा ठूलो अन्तर देखिँदैन । धान दिवसमा गमलामा धान रोपाउने कुरूप युगको अन्त्य भए पनि अहिले पनि तस्बिरकै लागि धान रोप्ने प्रचलन हटेको छैन । यसले वास्तविक किसानका पीडा भने ओझेलमा पार्दै आएको छ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसाले पनि किसानका आधारभूत समस्या समाधान हुन नसकेकाले यो एउटा कर्मकाण्डमा सीमित भएको छ । यस दिवसमा अघिल्लो वर्षको समीक्षा तथा आगामी वर्षका रणनीति र कार्यान्वयनका पक्षमा दृढताका साथ अघि बढ्ने प्रण गर्नुपर्छ । नत्र राज्यका साधनस्रोत दुरूपयोग गरेर धान दिवस बनाउनुको कुनै अर्थ छैन ।