कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
494

कोरोना संकटले त्यसै पनि थलिएको मुलुकमा सलहले थप क्षति नपु-याओस् भनेर सतर्क हुनु उत्तिकै आवश्यक देखिन्छ ।

अन्ततः नेपालमा पनि सलह प्रवेश गरेको छ । नेपाल प्रवेश गरेको सलहले भारतमा जस्तो ठूलो क्षति नगर्ने कृषिविद्हरूको भनाइ रहे पनि ढुक्क हुने अवस्था छैन । यसअघि भारतबाट सलह नेपाल प्रवेश गर्ने सम्भावना ट-यो भन्दै आएका कृषिविद्हरूको विश्लेषण नै गलत भैसकेकोले पनि ढुक्क हुने अवस्था नभउको हो । यसैले सम्भावित संकट न्यूनीकरण गर्दै सलह नष्ट गर्न वा भगाउन किसान स्वयं जागरुक हुनुको विकल्प छैन । यसका लागि स्थानीयवासीसँगै स्थानीय सरकार र प्रदेश सरकारको भूमिका पनि अपेक्षित छ । कोरोना संकटले त्यसै पनि थलिएको मुलुकमा सलहले थप क्षति नपु-याओस् भनेर सतर्क हुनु उत्तिकै आवश्यक देखिन्छ ।
विकिपिडियाका अनुसार सलह फट्याङग्राको एक प्रजाती हो । यो एक किसिमको फौजी किरा हो । यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउँछ र यसबाट भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना हुने गरेको छ । वयस्क सलह लामो दूरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोटबिरुवा सखाप बनाउँछन् । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु-याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

नेपालमा भने अघिल्लो पुस्ताले अनुभव गरेको सलह किरा किँवदन्तीजस्तै भइसकेको थियो । सरकारी अधिकारी र विज्ञहरूको अनुमानविपरीत सलह नेपाल भित्रिए पछि यस पुस्तका कृषक तथा बैज्ञानिकका लागी थप चुनौती भएको छ । भारतको पन्जाब, हरियाणा, राजस्थान र गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा गत महिनामै देखा परेको सलह शनिबार नेपालमा देखा परेको हो । केही समयअघि भारतको बिहार राज्यमा पनि सलहले विनाश निम्त्याउन सुरु गरेको थियो । त्यसअघि पाकिस्तानमा विनाश गरेको थियो । केही दिनदेखि मनसुन सक्रिय भएर वर्षा भइरहे पनि दक्षिणबाट उत्तरतिर हावा बगेकाले त्यही हावासँगै भारतीय सीमा क्षेत्रबाट प्रदेश २, प्रदेश ५ हुँदै सलह भित्रिएको विशेषज्ञहरूको विश्लेषण छ । वायुको गति जतातिर छ सलह त्यतैतिर गइरहने भएकाले त्यसैको आधारमा यसलाई नियन्त्रणको योजना बनाउनु आवश्यक देखिन्छ । सोमबारदेखि पूर्वबाट पश्चिमतिर वायु केन्द्रित हुने प्रक्षेपण भएकाले त्यसतर्फ नियन्त्रणको तयारी आवश्यक छ ।
मरुभूमि र चिस्यान भएको क्षेत्रमा सलहले बढी समय बिताउने भएकाले सोही अनुसार नियन्त्रणको कार्ययोजना आवश्यक छ । अर्कोतर्फ किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्नुपर्छ र यसका लागि प्रदेश र स्थानीय सरकार सक्रिय हुनुपर्छ । घरायसी रूपमा पनि टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिने भएकाले घरबाहिर निगारानी गरिरहनुपर्छ । यस्तै, सलह फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि प्रयोगको विकल्प पनि देखिन्छ । भारतले प्रयोग गरेको मालाथिन र पाकिस्तानमा प्रयोग भएको डाइजिनन, फिप्रोनिल जस्ता औषधिको उपयोग गरेर सलह नियन्त्रण गर्नुपर्छ । यसको प्राकृतिक सिकारी मानिएको हाँसको पनि अधिकतम परिचालन गरेर सलहबाट हुने क्षति कम गर्न सकिने विज्ञहरुको भनाइ छ ।