कारोबार संवाददाता
शुक्रवार, मंसिर २०, २०७६
225

 

हामी किन भ्रमण वर्ष मनाइरहेका छौं भन्ने आम सर्वसाधारणसमेत पहिले नै स्पष्ट हुनुपर्छ ।

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन तीन सातामात्र बाँकी छ । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य बोकेको भ्रमण वर्षको तयारी हेर्दा भने त्यति उत्साही हुन सकिँदैन । भ्रमण वर्षको तयारी गर्नुपर्ने बेला लामो समयसम्म तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेतृत्वविहीन हुुनु र मन्त्रीका रूपमा नेतृत्व सम्हालेका योगेश भट्टराईलाई बुझ्न नै समय लाग्नुजस्ता कारणले यसको तयारी ओझेलमा प-यो । हुन त यतिबेला मन्त्री भट्टराई कूटनीतिक नियोगका प्रतिनिधिलाई बोलाएर सहयोगको आग्रह पनि गरिरहेका छन् र उद्घाटन समारोहमा विभिन्न मुलुकका पर्यटनमन्त्रीहरू आउने दाबीसमेत गरिरहेका छन् । तर, कम्तीमा तीन महिनापहिले हुनुपर्ने यी काम तीन साताअघि मात्र गरिँदा देशभित्रै सार्वजनिक प्रचारभन्दा बढी उपलब्धि हासिल गर्दैनन् भन्ने प्रष्ट छ ।
राज्यले भ्रमण वर्ष मनाउनुअघि हामी किन मनाइरहेका छौं भन्नेमा पहिले नै स्पष्ट हुनुपर्छ । राष्ट्रपतिले सार्वजनिक गरेको नीति तथा कार्यक्रम, अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमा पेस गरेको बजेट तथा प्रधानमन्त्रीका सम्बोधनलगायतमा यसको स्पष्ट आधार हुनुपथ्र्यो । हुन त मन्त्री भट्टराईले बुधबार कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग ‘भूकम्पपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन’ भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिसकेको देखिन्छ । भूकम्पपछि चार वर्ष बितसकेको र यो अवधिमा झन्डै ४० लाख विदेशीले नेपाल भ्रमण गरिसकेकाले यतिबेला यो अर्थहीन अभिव्यक्तिमात्र हो ।

भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको चरणमा रहेकाले पक्कै पनि पर्यटकले हेर्ने स्थानहरू साँघुरिएकै छन् भने पुनर्निर्माण कसरी भइरहेको छ भनेर हेर्न आमन्त्रण गर्ने हो भने पनि त्यसमा रुचि राख्ने मास पर्यटक हुन सक्दैनन् । यसैले सरकार भ्रमण वर्षको उद्देश्यमै अलमलिएको देखिन्छ । जबकि सन् २०२० लाई हामी किन नेपाल भ्रमण वर्ष मनाइरहेका छौं भन्ने ज्ञान सामान्य नागरिकलाई पनि हुनसके मात्र यसको सार्थकता रहन्छ र पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गर्न सबै नेपाली आतुर पनि रहन्छ ।
नेपालको प्राकृतिक सुन्दरता, सम्पदा तथा संस्कृति संसारकै अद्वितीय हुन् भन्नेमा सन्देह छैन । जलवायु परिवर्तनले विश्व नै संकटमा परिरहेका बेला नेपालले यसको प्रभावबाट आफूलाई जोगाउन तथा अन्य मुलुकले पु-याएको क्षतिलाई समेत पूर्ति गर्ने गरी कसरी पर्यावरण र वन्यजन्तु जोगाइरहेको छ भनेर हेर्नका लागि पर्यटकलाई आमन्त्रण गर्न सकिन्थ्यो । यसमा भने भ्रमण वर्षका परिकल्पनाकारहरू नै चुकिरहेको देखिन्छ । नेपालको मौलिक कला, संस्कृति भनेका नेपाल आउने पर्यटकलाई दिनसकिने अतिरिक्त सुविधामात्रै हुन् । हामीले विदेशी पर्यटकलाई देखाउने भनेकै यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधता नै हो । यसबाहेक नेपालीको आतिथ्य सत्कार तथा अर्गानिक उत्पादन सेवाका अन्य आयाम हुन् ।
सन् १९९८ को नेपाल भ्रमण वर्ष र सन् २०११ को नेपाल पर्यटन वर्षमा पनि संख्यात्मक लक्ष्य पूरा भएन । १९९८ मा ५ लाख र २०११ मा १० लाख पर्यटक ल्याउने भनिए पनि त्यसको हाराहारीमात्र पुगेका हुन् । दुवै अभियान सफल मानिन्छन् र यसो हुनुको पछाडि पूर्वतयारी नै प्रमुख रह्यो । यस वर्ष भने तयारीमा हामी धेरै चुकिसकेका छौं र पर्यटक आकर्षित गर्न बरु निजी क्षेत्रले केही घोषणा गरेको छ तर राज्यस्तरबाट सुविधाका लागि सरकारमातहतका निकायमा कुने निर्देशनसमेत भएको छैन । उदाहरणका लागि भ्रमण वर्ष अवधिभर पशुपतिनाथ, बौद्धनाथ, दरबार क्षेत्र र निकुञ्जलगायतका क्षेत्रको प्रवेशमा लाग्दै आएको शुल्क मिनाहा वा भारी छुट दिन सकिन्थ्यो । निजी क्षेत्रलाई पनि छुटमार्फत प्रोत्साहन दिन सकिन्थ्यो । यी सबैमा सरकार चुकेको देखिन्छ ।