कारोबार संवाददाता
आइतवार, आश्विन २६, २०७६
178

उच्चस्तरीय राजकीय भ्रमणहरू भनेका लेनदेनका विषयमात्र होइनन्, दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा लैजाने एक बृहत् अवसर पनि हो ।
यतिखेर चीनका राष्ट्रपति सी जिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा छन् । उनको नेपाल भ्रमण चिनियाँ राष्ट्रपतिका तहबाट भएको २३ वर्षपछिको राजकीय भ्रमण भएकाले मात्र होइन, विश्व अर्थराजनीतिमा चीनको बढ्दो भूमिकाका कारणले पनि महत्वपूर्ण छ । सन् १९५५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना हुनुभन्दा शताब्दिऔं पहिलेदेखि नेपाल र चीनबीचको सम्बन्ध रहँदै आएको छ । नेपाल हुँदै चीनतर्फ बौद्धधर्म फैलिएको मानिन्छ भने नेपाल चेली भृकुटीको चिनियाँ सम्राट्सँग भएको विवाह र उनीसँगै नेपालबाट गएका कलाकार अरनिकोले चीनमा फैलाएको प्यागोडा शैलीको कलाकृतिले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएको छ । ७० को मध्यदशकबाट आर्थिक सुधार कार्यक्रमहरू अवलम्बन गरेको चीन ९० को दशकसँग विश्व सम्बन्धबाट केही अलगथलग नै बस्न रुचाउँथ्यो । सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियान जेमिङको भ्रमणपछि सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री बेन वियाबाओले केही घण्टाका लागि भए पनि नेपालका भ्रमण गरेका थिए । नेपालबाट प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका उच्चाधिकारीहरू पटक–पटक चीन जाने क्रम जारी छ । राष्ट्रपति जिनपिङको नेपाल भ्रमणका लागि प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालदेखि नै प्रयास भए पनि अहिले आएर त्यसले मूर्तता पाएको छ । यो नेपालका लागि एक ऐतिहासिक अवसर पनि हो, किनकि चिनियाँ राष्ट्रपति सी अहिले विश्वकै शक्तिशाली राजनेताहरूमध्ये पर्छन् । उनको नेतृत्वमा चीनले हासिल गरिरहेको विकासलाई उदाहरण बनाउँदै एक्काइसौं शताब्दीको चीन भन्ने गरिएको छ ।

नेपाल भ्रमण गर्नुपूर्व भारतमा करिब डेढ दिन बिताएका सीको दक्षिण एसिया भ्रमणलाई अहिले हामीले मात्र पूरै विश्वका कूटनीतिक ¥याडरमा विशेष निगरानी भइरहेको छ । यसले केही खास सामरिक अर्थ राख्नेछ, जुन अहिले तत्कालै परिदृश्यमा देखिने होइन । सी दक्षिण एसिया भ्रमणका नतिजा सामुन्ने आउन केही समय लाग्नेछ, तर हाम्रो मानसिकता भने सीमित ‘लेनदेन’मा अड्किएको छ । अर्थात्, सीको नेपाल भ्रमणका बेला कति रुपैयाँबराबरको लगानी आउँछ वा कुन कुन क्षेत्रमा सहयोग दिने प्रतिबद्धता हुन्छ भन्ने विषयमा भइरहेको बहसले हाम्रो कूटनीतिक अपरिपक्वता देखाउँछ । उच्चस्तरीय राजकीय भ्रमणहरू भनेका लेनदेनका विषयमात्र होइनन्, दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा लैजाने एक बृहत् अवसर पनि हो ।
नेपालको कूटनीति दक्षिणतिरमात्र अधिक ढल्किएको देखिँदै आएको छ । कुनै एक मुलुकसँग मात्रको अत्यधिक निर्भरता कतिसम्म कष्टदायक हुन्छ भन्ने कुरा सन् २०१५ को भारतीय आर्थिक नाकाबन्दीका बेला देखिइ नै सकेको छ । सोही समयमा चीनले नेपालतर्फ सहृदयताका साथ अघि बढाएको सहकार्यका हातहरूले अझ बढी फैलिँदै जानका लागि यो उच्चस्तरीय भ्रमणले अवश्य मार्गप्रशस्त गर्नेछ । विशेषगरि चीनले अघि बढाएको बेल्ट एन्ड रोड (बीआरआई) मा सहभागिताले नेपालको पनि आर्थिक विकासका लागि महत्वपूर्ण अवसर उपलब्ध गराउँदैछ । केरुङ–काठमाडौं रेलवे त्यसको एक अवयवमात्र हो । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाह र गन्तव्य दुवैका दृष्टिले विश्वकै अग्रणी स्थानमा रहेको चीनबाट बढीभन्दा बढी औद्योगिक लगानी भित्र्याउनका लागि औपचारिक सरकारी संयन्त्र परिचालन गर्न सकियो भने पनि यो नेपालका लागि विशेष अवसर हुनसक्छ, किनकि अधिकांश चिनियाँ लगानीकर्ताहरू सरकारी संयन्त्रकै संस्थानहरू रहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा सीको भ्रमणपछि नेपालमा चिनियाँ पर्यटकहरूको संख्या पनि बढ्न सक्छ, उनीहरूको स्वागतका लागि हामी तम्तयार भएर बस्नुपर्छ ।