कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
516

आन्तरिक रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्र दुवै कमजोर रहेका बेला अझै केही वर्ष वैदेशिक रोजगारीको अर्को विकल्प देखिँदैन ।
विगतदेखि रोजगारीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको जापानले नेपालीहरूलाई रोजगारीका कोटा बढाउन दिएको सहमतिले वैदेशिक रोजगारीमा नयाँ सम्भावना बढाएको छ । विगतमा अनौपचारिक रूपमा नेपालीहरू रोजगारीका लागि जापान जाने गरेकोमा जिट्कोमार्फत नेपाली कामदारहरू लिने प्रक्रिया सुरु भएको हो, जुन अहिले केयर गिभरसम्म विस्तारित भएको छ भने अन्य क्षेत्रहरूमा पनि नेपाली कामदारको मागका लागि सरकारस्तरमा पहल थालिएको छ ।

जापानले नेपालसहित ९ देशबाट १४ क्षेत्रमा विदेशी कामदार लिन लागेको हो, जसमध्ये नेपालबाट केयर गिभरमा पहिलो चरणमा १ हजारभन्दा बढी नेपालीको माग गरिएको छ । जापानी भाषा परीक्षाका साथै सीप परीक्षामा समेत सफल भएका नेपालीहरूले मात्र यो अवसर पाउनेछन् । जापान बढी पारिश्रमिक पाइने र श्रमिकहरूको पर्याप्त सामाजिक सुरक्षासमेत भएको श्रम गन्तव्यमा पर्छ । औपचारिक रूपमा जापानको रोजगारी खुल्नुपूर्व नेपालीहरूका लागि दक्षिण कोरिया आकर्षक श्रम गन्तव्य रहँदै आएको थियो ।
कोरिया भाषा परीक्षाका लागि हजारौं नेपाली युवा सहभागी हुँदै आएका छन् । भाषा परीक्षामा अव्यवस्थाले त्यसमा सहभागी हुन रातभर लाममा बस्नुपरेको अवस्थामा कुनै सुधार हुन सकेको छैन । जापानको रोजगार अवसर पनि त्यस्तै अव्यवस्थित नहोस् भनेर बेलैमा सावधानी अपनाउनुका साथै उचित व्यवस्थापन रणनीति बनाइनुपर्छ । जापानमा रोजगारीका लागि दुवै देशका सरकारहरूबीच सहमतिपत्रमा हस्ताक्षर भएदेखि नै जापानी भाषा सिकाउने नाममा युवाहरूलाई आधारभूत भाषाज्ञान मात्रै दिएर ठगी गर्ने क्रम बढेको छ । भोलि रोजगारी अवसर खुल्ला गर्ने बित्तिकै यस्तो क्रम अझ नबढोस् भनेर सावधानी अपनाउनु पनि जरुरी छ ।
दक्षिण कोरिया र जापानमात्र होइन, केही युरोपली देशहरूमा पनि नेपालीका लागि रोजगारी अवसर हुनसक्छ । बेलायतमा गोर्खा सैनिकहरूले कमाएको ख्यातिका कारण त्यहाँका केही क्षेत्रमा नेपालीप्रति निकै सकारात्मक धारणा रहेको पाइन्छ । यस्ता सम्भाव्य रोजगार गन्तव्य पहिचान गरेर सकेसम्म सरकार स्तरबाटै पहल गर्ने, नभए निजी क्षेत्रको सहकार्यमा प्रक्रिया अघि बढाउन सकिए, वैदेशिक रोजगारीमा थप योगदान पुग्नसक्छ । आन्तरिक रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्र दुवै कमजोर रहेका बेला अझै केही वर्ष वैदेशिक रोजगारीको अर्को विकल्प देखिँदैन । यस्तो अवस्था थोरै पारिश्रमिक प्राप्त हुने र बढी जोखिम हुने खाडी मुलुकहरूमा मात्र नेपाली कामदार पठाउनेभन्दा अन्य वैकल्पिक श्रम गन्तव्य खोजिनु आवश्यक छ ।
द गार्जियन अखबारका अनुसार कतारमा अत्यधिक गर्मीका कारण नेपालीसहित आप्रवासी श्रमिकहरू यतिखेर प्रभावित भएका छन् । अत्यधिक गर्मीले बिमारी पर्नेदेखि मृत्युसमेत हुने जोखिम बढेको छ । यो हाम्रो वर्तमान वैदेशिक रोजगारीको अँध्यारो पाटो हो । हरेक महिना सयौंका संख्यामा बिमारी र अंगभंग भएर फर्कने नेपालीहरूको संख्या बढ्दै गएको छ । यसका साथै विदेशको श्रम गन्तव्यबाट दैनिक तीनवटासम्म नेपाली श्रमिकहरूको शव बक्साबन्द भएर त्रिभुवन विमानस्थलमा उतारिने गरिएको छ ।
यस सन्दर्भमा आप्रवासी श्रमिकहरूको सुरक्षाका विषय पनि अहिले उत्तिकै गहन भएर गएको छ । सम्बन्धित श्रम गन्तव्य मुलुकहरूसँग यसका लागि द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्नुमात्र पर्याप्त छैन । सहमति पालनाका भए नभएका विषयमा समेत निरन्तर अनुगमन गरिनुपर्छ । सबैभन्दा उत्तम उपाय भने सुरक्षित श्रम गन्तव्यहरूको पहिचान गरी त्यतातिर नेपाली कामदारहरूलाई पठाउनु नै हुनेछ ।