कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
318

देशैभरका सडक एकैपटक स्तरोन्नतिको काम सुरु गर्दा वैकल्पिक मार्गसमेत एकसाथ बन्द भइरहेका छन् र यसबाट यात्रुलाई थप सास्ती छ

यो वर्षको दसैं नजिकिइसकेको छ । दसैंका बेला हरेक वर्ष नेपालीहरूले पाउने घर फर्कंदा यात्रामा सास्ती बेहोर्दै आएका छन् । चालू वर्षमा १२ हजार किलोमिटर सडक पिच भएको सरकारी तथ्यांक भए पनि मुख्य तथा सहायक सडकहरूको दुरावस्था उस्तै छ । हरेक वर्ष जतिसुकै सहजीकरणका कुरा गरिए पनि काठमाडौं उपत्यकाबाट बाहिर जाने र यता आउनेले मात्र होइन । देशका विभिन्न भूभागमा आन्तरिक यात्रा गर्नेहरूले सामना गर्नुपर्ने कष्टमा कुनै कमी आएको देखिएको छैन ।
यसरी बर्सेनि सडक सुधारका कुरामात्र गर्ने तर राजमार्गहरूको समस्या ज्यूँका त्यूँ रहने हो भने सरकारले चलाएका पूर्वाधार सुधारका कार्यक्रमहरू अर्थहीन हुनेछन् । विगतदेखि नै यस्ता कार्यक्रमहरू प्रभावहीन भएको अनुभूति गरिँदै आइएको छ । विशेषतः राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्गका रूपमा रहेको मुग्लिङ–नारायणगढ सडकको निर्माण सम्पन्न भए पनि उक्त सडकसमेत पहिरोका कारण जोखिममै रहेको देखिन्छ भने पूर्वतर्फका बीपी राजमार्ग र अरनिको राजमार्गको अवस्था बिजोग छ । देशैभरका सडक एकैपटक स्तरोन्नतिको काम सुरु गर्दा वैकल्पिक मार्गसमेत एकसाथ बन्द भइरहेका छन् र यसबाट यात्रुलाई थप सास्ती छ ।

गएको साउन र भदौमा परेको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका धेरै ठाउँका सडक तथा पुल धस्किएको, बगाएको, पहिरोले पुरेको भए पनि तत्कालीन अवस्थामा कामचलाउ ढंगले ढुंगा, बालुवा पन्छाउने र केही पर्खाल लगाउनेबाहेक दरिलो मर्मत–सम्भार नै हुन सकेको पाइएको छैन । राजमार्गहरूको मर्मत–सम्भारको दायित्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उसको मातहतमा रहेको सडक विभागको हो । करिब डेढ दशकअघि स्थापना गरिएको सडक बोर्ड नेपालले सडक मर्मत–सम्भार शुल्क भनेर बर्सेनि अर्बाैं रुपैयाँ पनि संकलन गर्दै आएको छ । जति संकलन गरे पनि सडकको अवस्था भने बजेट भएको निकायले गरेको काम भने सन्तोषप्रद छैन ।
यसबाहेक सरकारले हरेक सवारी साधनको दर्ता भएसँगै हरेक वर्ष सडक मर्मत–सम्भार दस्तुर पनि लगाउँछ, जुन प्रत्येक वर्ष सरकारको बजेटको आकार वृद्धि भएसँगै बढ्दै जान्छ, तर राजमार्गहरूको नियमित मर्मत–सम्भारमा भने यसरी उठाइएको राजस्वको सानो हिस्सा पनि खर्च गरिँदैन । भनिरहनु पर्दैन, सरकारी राजस्वको ठूलो हिस्सा प्रशासनिक खर्चमा नै सकिने गरेको छ ।
विडम्बना नै मान्नुपर्छ, नेपालमा सडक संरचनाहरू बनाउन जतिको हतारो र सक्रियता देखाइन्छ, बनाइसकेपछि तिनको मर्मत–सम्भारका उति नै बेवास्ता गरिन्छ । नेपालका प्रमुख राष्ट्रिय राजमार्गहरूको कुनैको पनि सद्धे हालत देख्न मुस्किल हुन थालेको छ । सहरी सडकदेखि ग्रामीण तथा कृषि सडकमा त अवस्था अझै नाजुक छ ।
सडकको अवस्था जस्तोसुकै भए पनि सवारी साधन कुदाइहाल्न हतारो गर्ने यातायात व्यावसायीका प्रवृत्ति र बिग्रे–भत्केका सडकमा कुनै ठूलो जोखिम उत्पन्न नभईकन सामान्य मर्मत–सम्भारसमेत नगर्ने सडक विभागको झनै खराब मनोवृत्तिका कारण यातायातजन्य जोखिम बढेको छ । नेपालका सडकहरूमा बेलाबेलामा दोहोरिने दुर्घटनापछि पुरानो सवारी साधन र सवारी चालकलाई दोष दिने गरिएको छ ।
त्योसँगै सडकको अवस्था कस्तो थियो भनेर न त कुनै सरकारी निकायले नै जानकारी प्रवाह गराउँछ, न दुर्घटनाका घाइतेले नै । यदि सडकको अवस्था चुस्तदुरुस्त राख्ने र सवारी नियम पालनामा कडाइ गर्ने हो भने सडक दुर्घटना न्यूनीकरणमा ठूलो उपलब्धि हासिल हुन सक्छ ।