कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
338

विदेशी मुद्रा आर्जनका लागि मात्र निर्भर रहँदै आएको देशका लागि निर्यात व्यापारमा सुधार आउनु पक्कै पनि सकारात्मक संकेत हो ।

पछिल्ला केही समयमा देशको निर्यात व्यापारमा उल्लेखनीय वृद्धि हुँदै गएको छ । विदेशी मुद्रा आर्जनका लागि मात्र निर्भर रहँदै आएको देशका लागि निर्यात व्यापारमा सुधार आउनु पक्कै पनि सकारात्मक संकेत हो । निर्यात व्यापारमा वृद्धि हुँदा त्यसले देशको विदेशी मुद्रा आर्जन मात्र बढाउँदैन, सँगसँगै व्यापारघाटामा सुधारका लागिसमेत योगदान दिइरहेको हुन्छ । यद्यपि, हाम्रो देशको निर्यात डालो निकै सानो छ, जसका कारणले विश्व बजारमा अवसर हुँदाहुँदै पनि नेपालले त्यसबाट लाभ लिन सकिरहेको भने छैन । नेपालबाट हाल निर्यात हुने वस्तुहरू या त प्राथमिक कृषि वस्तुहरू रहने गरेका छन् अथवा न्यून मूल्य अभिवृद्धि गरिएका वस्तुहरू हुने गरेका छन् । यस्ता वस्तुको निर्यात अनुपात बढेको जस्तो देखिए पनि त्यसबाट मुलुकले गर्ने आर्जन भने साँघुरो नै रहिरहेको छ । नेपाल राष्ट्र बैंकद्वारा भर्खरै सार्वजनिक गरिएको गत आर्थिक वर्ष ०७५÷७६ को आर्थिक समीक्षा तथा भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको आयात निर्यात व्यापारको विवरण दुवैले निर्यातमा उल्लेख्य अनुपातले वृद्धि भइरहेको देखाउँछ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्षभरिमा ९७ अर्ब १० करोड रुपैयाँबराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०७४÷७५ को तुलनामा १९.४ प्रतिशतले बढेको हो । उक्त वर्ष निर्यात त्योभन्दा अघिल्लो वर्षको तुलनामा ११.४ प्रतिशतले बढी ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा निर्यातको वृद्धिदर निकै निराशाजनक थियो भने ०७२÷७३ मा त भूकम्प र भारतीय नाकाबन्दीका कारणले निर्यात ऋणात्मक भएको थियो ।
चालू वर्षको साउन महिनामा पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा निर्यात प्रतिशतले बढेर ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यी तथ्यांकहरूले विगत तीन–चार वर्षयता देशको अर्थतन्त्रमा निर्यात व्यापारले निकै सकारात्मक र प्रभावकारी भूमिका खेल्न थालेको अनुभव गर्न थालिएको छ । तर, अहिलेकै ढंगको सीमित वस्तु र बजारका भरमा देशको निर्यात व्यापार रातारात अर्बौंले बढ्ने र त्यसले कहालीलाग्दो व्यापारघाटा नियन्त्रण गर्न भूमिका खेल्ने अपेक्षा भने गर्न सकिँदैन ।

निर्यात बढाउनका लागि पहिला त उत्पादन बढाउनैपर्छ । हाम्रो उत्पादन बढेर मात्र हुँदैन, विश्वबजारमा के–कस्ता वस्तुहरूको माग बढी छ र त्यसमा नेपालको तुलनात्मक लाभका क्षेत्रहरू भन्ने विषयलाई पहिले अध्ययन गरिनुपर्छ अनि मात्र बजारको मागअनुसार उत्पादन वृद्धि गरी निर्यात गर्न सकिन्छ ।
अहिले विश्व अर्थतन्त्रमा चीन र अमेरिकाको व्यापार युद्धले गम्भीर प्रभाव परिरहेको अवस्था छ । अमेरिकाले भारतबाट समेत आयात हुने वस्तुहरूमा भन्सार दर बढाएको छ । ठूला अर्थतन्त्रहरूमा यो व्यापारयुद्धले असर परिरहेका बेला बङ्गलादेशसहितका केही साना अर्थतन्त्रले अमेरिकी बजारमा बढ्दो मागका लागि आफ्नो आपूर्ति बढाएका छन् । नेपालका लागि यो पनि निर्यात बढाउने अवसर बन्न सक्छ । यसका लागि अमेरिकासँग यसअघि भएका विभिन्न व्यापार तथा लगानी सम्झौताको फाइदा उठाउँदै त्यहाँका आवश्यकता र मागअनुसार वस्तु उत्पादन बढाइ निर्यात गरिहाल्न ढिलाइ गर्नु हुँदैन, किनभने बजारको अवसरले नेपाललाई मात्र पर्खेर बस्दैन । यसका लागि सरकार र निजी क्षेत्रले तत्कालै सहकार्य गरी बजार आवश्यकताअनुसारको निर्यात प्रवद्र्धनको नीति बनाउनुपर्ने खाँचो छ ।