कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
234

आयुर्वेदिक औषधिका सम्बन्धमा कायम केही भ्रमलाई चिर्ने हो भने नेपालभित्रै यसको बजार ठूलो छ ।
दशकौंदेखि नेपालको आर्थिक समृद्धि वा उन्नतिका क्षेत्रहरू औंल्याउँदा, पहिलो नम्बरमा जलस्रोत, दोस्रोमा कृषि, तेस्रोमा पर्यटन, चौथोमा खानी तथा खनिज भन्दै जडीबुटीलाई सधैँ पाँचौं स्थानमा राख्ने गरिन्छ, तर यस क्षेत्रको विकासका लागि अहिलेसम्म ठोस योजना, नीति, रणनीति तथा कार्यक्रमहरू भने बनाइएको देखिँदैन । नेपालमा कति थरी औषधिजन्य जडीबुटी पाइन्छन् भन्ने अहिलेसम्म ठोस अध्ययन नै भएको छैन, वनस्पति विभागले हाल करिब २ सय प्रजातिका जडीबुटी व्यावसायिक रूपमा औषधिजन्य प्रयोग गर्न सकिने भनेर सूचीकरण गरेको भए पनि त्योभन्दा कैयन् गुणा बढी जडीबुटीमा नेपालमा पाइने आयुर्वेदका ज्ञाताहरू बताउने गर्छन् ।

नेपालको भिन्दाभिन्दै परिस्थितीय प्रणाली (इकोलोजिकल सिस्टम) र जैविक विविधताका कारण संसारमै दुर्लभ जडीबुटीसमेत नेपालमा पाइने अध्येताहरूले उल्लेख गरेका छन् । पतञ्जली योगपीठमातहतको दिव्या फार्मेसीका संस्थापक आयुर्वेदाचार्य बालकृष्णका अनुसार संसारमा ३ हजारभन्दा अधिक किसिमका जडीबुटी पाइने गरेकोमा १ हजारभन्दा अधिक प्रजातिका जडीबुटी नेपालमा पाइन्छन् । उनकै नेतृत्वमा अहिले पतञ्जली योगपीठ देहरादूनमा विश्वकै ठूलो जडीबुटी नर्सरी बनाइएको छ, त्यहाँ उब्जाइएकामध्ये धेरै जडीबुटी नेपालबाटै लगिएको हो । औषधिजन्य जडीबुटी र अन्य सहायक सामग्रीकै कारोबारका आधारमा दिव्या योग फार्मेसीका संस्थापक आचार्य बालकृष्ण अहिले भारतकै धनाढ्यमध्येमा परिसकेका छन् । हामी भने आफ्नै नाभीको बास्ना चाल नपाउने कस्तूरी मृगसरह भएका छौं ।
देशका वनजंगलमा अहिले अर्बौं मूल्यका जडीबुटी कुहिएर–सडेर गइरहेका छौं ।
जडीबुटीको उत्पादन, उपभोग, प्रशोधन र निर्यातसम्बन्धी स्पष्ट नीति नै नभएका कारण या त धेरैजसो जडीबुटी जंगलमै कुहिएर बसेका छन्, संकलन भएका पनि सही प्रशोधन, प्याकेजिङ र बजारीकरणको अभावमा कौडीको भाउमा मात्रै निर्यात भइरहेका छन् । जडीबुटीको मुख्य बजार भारतले बेलाबेलामा लगाउने गैरभन्सारजन्य अवरोधका कारण निकासी नै हुन नपाएर नष्ट हुने अर्को समस्या पनि छँदैछ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ९८ लाख रुपैयाँबराबरको जडीबुटी तथा ४० करोड ८० लाख रुपैयाँ मूल्यबराबरको सुगन्धित तेलको निर्यात भएको छ । जडीबुटी निर्यात २७ प्रतिशतले बढेको देखाए पनि यो सम्भाव्यताको आधा पनि होइन । किनभने गत वर्ष नै भारतले लगाएको एकीकृत कर प्रणाली (जीएसटी) का कारण नेपालबाट हुने जडीबुटी निर्यात ठप्प भएको भन्ने समाचार आएको थियो ।
अतिदुर्लभ केही संरक्षित प्रजातिका बाहेक विश्व बजारमा बढी सम्भाव्यता भएका जडीबुटीको नेपालमा व्यावसायिक खेती गरी त्यसको मूल्य अभिवृद्धिसहितको निर्यातका लागि अब सोच्नुपर्ने बेला भइसकेको छ । जडीबुटीको अन्तर्राष्ट्रियमात्र होइन, स्वदेशमै पनि ठूलो बजार छ । हामीले अहिले कौडीका मूल्यमा जडीबुटी भारतसहितका देशमा निर्यात गरेर उताबाट प्रशोधन गरी प्याकिङ भएर आएको त्यही जडीबुटी औषधिका रूपमा महँगो मूल्यमा किन्दै आएका छौं ।
आयुर्वेदिक औषधिका सम्बन्धमा कायम केही भ्रमलाई चिर्ने हो भने नेपालभित्रै यसको बजार ठूलो छ । तर विडम्बना, देशभित्र रहेका आयुर्वेदिक औषधि उत्पादन गर्ने र तिनलाई प्रशोधन गर्ने स्वदेशी उद्योगहरू धमाधम बन्द हुँदै गएका छन् । सिंहदरबार वैद्यखानादेखि जडीबुटी उत्पादन तथा प्रशोधन लिमिटेडजस्ता सरकारी संस्थानहरूमात्र होइन, निजी क्षेत्रका जडीबुटीजन्य उद्योगहरू संकटग्रस्त बन्दै वा बन्द हुँदै जानु विडम्बनाकै कुरा हो । यस्ता स्वदेशी कच्चापदार्थमा आधारित र मुलुकका हितमा उपयोग गर्न सकिने उद्योगहरू सञ्चालनका लागि वातावरण बनाउन सरकारले केही नीतिगत, कानुनी र वित्तीय संरक्षणको वातावरण बनाउनैपर्छ ।