कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
358

नेपालको अर्थतन्त्र उद्धारका लागि भोलि विभिन्न दातृ निकाय गुहार्नुपर्ने दिन नआओस् ।

सरकारले मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धिको एकोहोरो रटान लगाइरहेका बेला अर्थतन्त्रका सबैजसो परिसूचक भने निराशाजनक छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा गर्ने अचूक अस्त्र भनेकै दोहोरो अंकको आर्थिक वृद्धि हो भनेजसरी सरकार प्रस्तुत भइरहँदा अहिलेको आर्थिक वृद्धि भने जगबिनाको सुन्दर घरजस्तो मात्रै हुने जोखिम बढेको छ । अर्थतन्त्रका सबै आधारभूत संरचना बलियो भएमात्र आर्थिक वृद्धिको पनि महत्व रहन्छ, तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक सूचकांकहरू नकारात्मक राखेर आर्थिक वृद्धिको उपलब्धिमा रमाउनु भनेको तथ्यांकीय खेलमात्र हो । यसले जनतामा केही दिन भ्रम छर्न सकिए पनि मुलुक कुनै पनि दिन ठूलो दुर्घटनामा पर्नेछ र नेपालको अर्थतन्त्र उद्धारका लागि विभिन्न निकाय गुहार्नुपर्ने दिन आउन सक्छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने वैशाखसम्ममा मुलुकको शोधनान्तर घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ अर्ब २७ करोड रुपैयाँले बढेर ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । शोधनान्तर स्थितिमा चाप पर्नुमा व्यापारघाटा नै मुख्य कारण हो । वैशाखसम्ममा कुल व्यापारघाटा १९.७ प्रतिशतले वृद्धि भएर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कुल वस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ भने कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । यतिमात्र होइन, चालू खाता घाटा विस्तार भई २ सय २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पनि ५.३ प्रतिशत पुगिसकेको छ । विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भई ७ सय २५ अर्ब ३० करोड रुपैयाँ पुग्नेबाहेक अर्थतन्त्रका कुनै पनि परिसूचक आशालाग्दा छैनन् । विप्रेषण पठाउने युवा रोजगारीमा जाने क्रमसमेत घटेकाले यसलाई आम्दानीको भरपर्दो आधार मान्न सकिने अवस्थासमेत छैन । राष्ट्र बैंककै तथ्यांकअनुसार पनि अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले भने तीव्र आर्थिक विकास हासिल गरिरहेका बेला व्यापारघाटा बढ्दै जानु स्वाभाविक भएको टिप्पणी गर्दै आएका छन् । तर, नेपालको व्यापारघाटा बर्सेनि ठूलो मात्रामा बढ्दै जान थालेको दशकभन्दा बढी भइसकेको छ र आर्थिक वृद्धि भने विगत तीन वर्षयता मात्रै आशालाग्दो छ । अर्कातर्फ निकासीको वृद्धि पनि उत्साहजनक भएको अवस्थामा अर्थमन्त्रीको तर्कलाई मान्न सकिन्थ्यो । मुलुकभित्र औद्योगिक उत्पादन वृद्धि नभएको तथा कृषि उत्पादन वृद्धिको आधार अनुकूल मौसममात्र भएको अवस्थामा व्यापारघाटालाई आर्थिक वृद्धिसँग लगेर जोड्ने अर्थमन्त्रीको तर्कसँग सहमत हुने बलिया आधार छैनन् । यसैले अर्थतन्त्र संकटमा छ र यसलाई तर्क–वितर्क गरेर ढाक्नमात्र खोजियो भने भोलिका दिनमा झन ठूलो संकट आउनेछ र उक्त संकट नेपालको काबुबाहिर पनि हुनसक्छ ।
अर्थतन्त्रलाई सही दिशा दिनका लागि राज्य उदार हुनुपर्छ । शोधनान्तर स्थितिमा सुधार्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने तथा राजस्वका स्रोत बढाउने आधार भनेकै उत्पादन वृद्धि र निकासी व्यापारको प्रवद्र्धन हो । यसर्थ, उत्पादन र निकासी बढाउन राज्यले छाती चौडा पार्नैपर्छ । यसका लागि निजी क्षेत्रमाथि भरोसा गर्नुपर्छ र बाह्य लगानीमा पनि धेरै उदार हुनुपर्छ । परम्परागत मनोविज्ञान र कार्यशैलीबाट न उत्पादन वृद्धि सम्भव छ, न निकासी बढाएर व्यापारघाटा कम गर्न सकिन्छ । यसैले अर्थतन्त्रलाई सही दिशा दिन अर्थमन्त्रीले र समग्र सरकारले साहसिक निर्णय लिनु जरुरी भइसकेको छ ।