कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४
927

उपभोगमुखी संष्कृति बढ्दै गएकाले आयातमा उल्लेख्य वृद्धि भएको तर निर्यात बढाउन नसकेपछि मुलुकको वैदेशिक व्यापारघाटा चुलिँदै गएको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपालले बढ्दो आयातका कारण प्रतिदिन करिब ३ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनासम्ममा कुल वस्तु निर्यात ७.९ प्रतिशतले वृद्धि भई २० अर्ब ४३ करोड पुगेको छ । तर, उक्त अवधिमा कुल वस्तु आयात १६.९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८७ करोड पुगेको छ । जसका कारण कुल वस्तु व्यापारघाटा १७.७ प्रतिशतले बढी २ खर्ब ३७ अर्ब ४४ करोड पुगेको छ । असोज मसान्तसम्ममा भारततर्फ ३.२ प्रतिशत, चीनतर्फ २७.७ प्रतिशत र अन्य मुलुकतर्फ १३.१ प्रतिशतले निर्यात बढेको तथ्यांक केन्द्रिय बैकले देखाएको छ भने बस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घ्यू, पिना, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ । तर, जुस, अलैंची, जिआई पाइप, ऊनी गलंैचा, पोलिष्टर धागोलगायतका बस्तुहरूको निर्यात भने घटेको छ ।

चालू आवको पहिलो तीन महिनामा भारतबाट १७.७ प्रतिशत, चीनबाट ९.५ प्रतिशत र अन्य मुलुकबाट १९.५ प्रतिशतले आयात बढेको छ । जसमा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सुन, हवाईजहाजका उपकरण, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, रासायनिक मल, सेनिटेरी वेयर, विद्युतीय सामान, खाने तेल लगायतका वस्तुहरूको आयात समीक्षा अवधिमा घटेको छ ।
केन्द्रीय बैंकले भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार र कृष्णनगर भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आए पनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको जनाएको छ । आयाततर्फ त्रिभुवन विमानस्थल भन्सार कार्यालय र कन्चनपुर भन्सार नाकाबाट आयातमा कमी आए पनि अन्य नाकाबाट आयातमा वृद्धि भएको जनाएको छ ।

शोधानान्तर स्थिति बचत
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तमा शोधानान्तर ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । साउन र भदौमा शोधनान्तर घाटामा गएको थियो । शोधनान्तर बचतमा फर्के पनि चालू खाता भने २१ अर्ब ९४ करोड रुपैयाँले घाटामा गएको छ । शोधनान्तर बचतमा गएको तथा कृषि उत्पादन बढेको कारण अर्थतन्त्र सुधारमा आएको राष्ट्र बैंकको दावी छ । “अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्यांकले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको छ,” राष्ट्र बैंकले चार आधारले अर्थतन्त्र राम्रो भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादन बढेको, ऊर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत् आयोजनाहरू सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरूको क्षमता उपयोग बढ्ने भन्दै बैकले होटलहरूमा बुकिङ तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्बन्धित सेवा क्षेत्रको विस्तार भएकोजनाएको छ । यसले सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको पनि जनाएको छ ।
भदौ मसान्तसम्ममा ०.७७ प्र्रतिशतलेमात्र रेमिट्यान्स बढेको थियो । तर, राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा रेमिट्यान्स वृद्धिदर २.६ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । तर, अघिल्लो वर्षको तुलनामा भने रेमिट्यान्सको वृद्धिदरमात्र घटेको छैन । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक)मा पनि कमी आएको देखिएको छ ।