कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४
1900

विश्वमा उच्च माग रहेको नेपाली कफी उत्पादन वृद्धिका लागि चालू आर्थिक वर्षमा करिब ७ लाख नयाँ बिरुवा रोपिएको छ । सरकारले चालू वर्षलाई कफी रोपण वर्ष घोषणा गरेपछि मुलुकभर गुणस्तरीय कफीका बिरुवा रोपिएको हो ।
गत वर्ष कफी नर्सरी वर्ष घोषणा गरी कफी प्रवद्र्धनको सुरुवात गरिएकोमा यो वर्ष नर्सरीमा तयार गरिएका विरुवा रोपण गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । “अन्तर्राष्ट्रिय बजारमा वार्षिक ८ हजार टन नेपाली कफीको माग छ, नेपाली कफी मात्र विश्व बजारमा प्रतिकिलो १० डलरसम्ममा बिक्री भइरहेको छ,” बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने, “अत्यधिक मागलाई पूर्ति गर्न कफी क्षेत्र विस्तार प्रथम उपाय हो, यसका लागि हामीले यो वर्ष विरुवा रोपणलाई प्राथमिकतामा राखेका हौं ।” कफी उत्पादन र बजारीकरण प्राथमिकतामा रहेको बताउने उनले कफी क्षेत्रको विकासको लागि बोर्डले पाँच वर्षे रणनीति तयार गरेको जानकारी दिए ।
नेपालमा ४२ जिल्लामा व्यावसायिक कफी खेती हुँदै आएको छ । बोर्डका अनुसार गत वर्ष ०७३÷७४ मा २ हजार ६ सय ४६ हेक्टरमा कफी बिरुवा रोपिएको थियो भने ४ सय ६६ टन कफी उत्पादन भएको छ । गतवर्ष कफीमा लाग्ने सिंन्दुरे रोगको प्रभावका कारण उत्पादन घट्ने अनुमान गरिए पनि अघिल्लो वर्षको तुलनामा ३२ टन थप कफी उत्पादन भएको हो । रकममा वार्षिक ३० करोड मूल्य बराबरको कफी उत्पादन हुन्छ भने उत्पादनको करिब ५० प्रतिशत निर्यात हुन्छ । बाँकी मुलुकमै खपत हुन्छ । नेपालबाट प्राङ्गारिक कफी निर्यात हुने गरेको छ भने यहाँको आवश्यकता पुरा गर्न निर्यातकै हाराहारीमा कफी आयात पनि हुने गरेको छ ।
गत आर्थिक वर्षमा आयात र निर्यात दुवैको तथ्यांक भने घटेको पाइएको छ । बोर्डका अनुसार गतवर्ष ८ अर्ब ४५ करोड ३९ लाख बराबरको कफी निर्यात भएको छ । गत वर्ष नै ५ करोड मूल्य बराबरको कफी आयातसमेत भएको छ । अघिल्लो आव ०७२÷७३ मा १० अर्ब ८२ करोडको निर्यात भएको थियो भने ५ अर्ब ५६ करोड बराबरको आयात भएको थियो । सबैभन्दा बढी कफी निर्यात गर्ने जिल्लामा गुल्मी, सिन्धुपाल्चोक र ललितपुर छन् । विश्वमा सबैभन्दा बढी रुचाइएको कफी उत्पादन गर्ने तीन जिल्लाबाट मात्र वार्षिक करिब ४० टन कफी निर्यात हुँदै आएको छ ।
बोर्डले मंसिर १ गतेदेखि लागु हुने गरी मूल्य नबढाएर गत वर्षकै कफीको मूल्य कायम गरेको छ । अग्र्यानिक प्रमाणीकरण भएको ए ग्रेडको प्रतिकिलो फ्रेस चेरी कफीलाई ३ रुपैयाँ र अर्गानिक प्रमाणकरण नभएको बी ग्रेडको कफीलाई ७ रुपैयाँ कायम गरिएको छ । पार्चमेन्टतर्फ अर्गानिक प्रमाणीकरण भएको ए ग्रेडको प्रतिकिलो कफीलाई ४ सय १५ र अग्र्यानिक प्रमाणीकरण नभएको बी ग्रेडको प्रतिकिलोलाई ४ सय रुपैयाँ, ड्राइ चेरीतर्फ ए ग्रेडको प्रतिकिलोलाई १ सय ४०, बी ग्रेडको प्रतिकिलो १ सय र सी ग्रेडको प्रतिकिलोलाई ४० रुपैयाँ किसान मूल्य कायम गरिएको बोर्डले जनाएको छ ।
यसै वर्ष बोर्डले विश्व कफी क्षेत्रको सर्वोच्च संस्था ‘इन्टरनेसनल कफी अर्गनाइजेसन’ को सदस्यतासमेत लिएको छ भने अन्तर्राष्ट्रिय व्यापार केन्द्र र वाणिज्य मन्त्रालयको अगुवाइमा कफीको राष्ट्रिय निर्यात रणनीति तयार भएको छ । नेपाली कफीको राष्ट्रिय मापदण्ड तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग मार्फत काम अगाडि बढाइएको बोर्डले जनाएको छ ।

कफी दिवस ठूला दुर्लुङमा
कफी प्रवद्र्धनका लागि हरेक वर्ष मंसिर १ गते गते बोर्डको अगुवाइमा राष्ट्रिय कफी दिवस मनाउँदै आइएको छ । यो वर्षको कफी दिवस ललितपुरको ठूला दुर्लङमा मनाइँदै छ । ललितपुरको सो क्षेत्रमा कफीको व्यावसायिक खेति हुँदै आएको छ । ललितपुर विश्वमा सहकारीमार्फत औपचारिक रूपमा कफी निर्यात गर्ने जिल्लासमेत हो । यो वर्षको कफी दिवसको नारा ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन, सरकारी नीजि र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ तय गरिएको छ ।