लक्ष्मी सापकोटा
मंगलबार, असार ३०, २०७७
676

सरकारले चाडपर्वलाई लक्षित गरेर चिनी आयात गर्ने तयारी गरेको छ । चाडपर्वको समयमा बजारमा चिनीको खपत धेरै हुँदा बजार मूल्य नियन्त्रण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसनलाई चिनी आयात गर्ने अनुमति दिन लागेको हो । यसअघि साल्ट्र ट्रेडिङ कर्पाेरेसनले भारतबाट चिनी आयात गरेर बजारमा सस्तो मूल्यमा बिक्री गर्दै आएको थियो । यो वर्षदेखि खाद्य कम्पनीलाई समेत चिनी आयात गर्ने अनुमति दिन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
चाडपर्वमा बजारमा चिनीको खपत धेरै हुने हुँदा व्यवसायीले अस्वाभाविक मूल्य लिइ उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्नका लागि सरकारी दुई कम्पनीमार्फत आयात गर्न लागिएकोे मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले दुई वटा कम्पनीलाई चिनी आयातको अनुमति दिन लागिएको जानकारी दिइन् । “चाडपर्वमा बजारमा चिनी अभाव हुन नदिनको लागि आयातका लागि अनुमति दिन लागिएको छ,” उनले भनिन्, “कति परिमाणमा चिनी आयात गर्न दिने भन्ने बारेमा मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ ।”

खाद्य कम्पनीले पाँच हजार टन चिनी आयातका लागि प्रस्ताव गरेको छ । कर्पाेरेसनले चार महिनाअघि नै ५० हजार टन चिनी आयात गर्नका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । गत वर्ष कर्पाेरेसनले १० हजार टन चिनी आयात गरेको थियो । चिनीको आयातमा अहिले भन्सार महसुल ४० प्रतिशत छ । तर सरकारी सुविधामा २० प्रतिशतमै आयात गरिन्छ । दुबै कम्पनीले फास्ट ट्रयाकबाट चिनीको आयात गर्ने प्रक्रिया सुरु भएकोे मन्त्रालयले जानकारी दिएको छ ।
चिनी आयातका लागि ट्रेडिङ र खाद्यले मन्त्रालयसमक्ष निवेदन दिइसकेका छन् । उद्योगमा रहेको मौज्दात चिनी सवै बिक्री भइसकेकाले आयात नगरे बजारमा अभाव हुने उद्योगीले बताएका छन् ।
नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगसँग भएको चिनी बिक्री भइसकेकाले मौज्दात नरहेको बताए । गत वर्ष चिनीको उत्पादन पनि धेरै भएको र लकडाउनका अवधिमा भारतबाट तस्करीबाट आउने चिनी रोकिएकाले खपत बढी भएको उनको भनाइ छ । साउनसम्म उद्योगमा रहेको चिनीले बजार धान्ने र त्यसपछि तीन महिनाको लागि ५० हजार टन चिनी आयात गर्नुपर्छ भनेर सरकारलाई सुझाव दिइसकेको उनको भनाइ छ । बजारमा चिनीको अभाव हुनासाथ मूल्य बढ्ने देखिन्छ ।
मुलुकमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग रहेकोमा गत वर्ष एक लाख ८० हजार टन चिनी उत्पादन भएको थियो । वार्षिक ५० हजार टन चिनी अभाव हुने गर्छ । खुला सीमाका कारणले ठूलो संख्यमा तस्करीबाट नेपालमा चिनी भित्रिने गरेको छ । उद्योगीका अनुसार अब एक–दुई उद्योगमा थोरै मात्र चिनी बाँकी छ । साउनको पहिलो हप्तासम्ममा कुनै पनि उद्योगमा विक्रीका लागि चिनीको मौज्दात सकिने छ । नेपालमा ११ वटा सुगर मिल सञ्चालनमा रहेको र सबैको क्षमता जोड्दा एक सिजनमा ४ लाख ५० हजार टन चिनी उत्पादन हुनसक्ने अनुमान छ ।
संघका अनुसार गत १ लाख ८० हजार टनमात्र चिनीको उत्पादन भएको थियो । दुई वर्षअगाडि पाकिस्तानको सस्तो चिनी नेपालमा भित्रिएका कारण नेपालका उद्योगको उत्पादन समयमा विक्री हुन नसकेको उद्योगीको भनाई छ । बजारमा चिनीको खुद्रा मूल्य ८० देखि ८५ रुपैयाँ रहेको छ ।
भारतमा अहिले चिनीको निकासी मूल्य प्रति किलो भारु २७ रुपैयाँ ५० पैसा छ । भारत सरकारले चिनीको निर्यातमा अनुदान दिएका कारण मूल्य सस्तो भएको हो । उक्त चिनी नेपालमा पैठारी गर्दा ४० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिर्नुपछ। नेपालको भन्सारको विभागले चिनीको आयात गर्दा भन्सार मूल्य प्रतिकिलो भारु ३० तोकेको छ तर भारतबाट निर्यातको कोटाको चिनी प्रतिकिलो भारु २७ रुपैयाँ ५० पैसामै ल्याउन सकिन्छ । नेपालगञ्ज भन्सारबाट भने चिनीको आयात भइरहेको व्यवसायीको भनाइ छ । चिनीमा लगाइएको परिमाणात्मक बन्देज सरकारले गत वर्षको साउनमै हटाएको थियो । गत वर्षको भदौ महिनादेखि नै चिनीको आयात भइरहेको छ ।