कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
576

लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाको आगामी आर्थिक वर्षको लागि ७६ करोड रुपैयाँ भन्दा बढी रकम विनियोजन गरेको छ । शुक्रबार सम्पन्न सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागी ७६ करोड १९ लाख ५७ हजारको बजेट पारित गरेको हो ।
नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको नगरसभाले आर्थिक वर्ष २०७७-०७८ को चालूतर्फ ४७ करोड ७५ लाख ४४ हजार र पुँजीगत तर्फ २८ करोड ४४ लाख १३ हजार १ सय ८० रुपैयाँ विनियोजन गरेको हो ।

विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ ५ करोड ७६ लाख ९ हजार, सामाजिक विकासतर्फ ४० करोड ५३ लाख ९३ हजार, पूर्वाधार विकासतर्फ १८ करोड १६ लाख ९ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ७० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ११ करोड ३५ लाख ७६ हजार बजेट रहेको छ ।
नगरसभामा उपप्रमुख लक्ष्मी अधिकारीले नीति, कार्यक्रम तथा बजेटमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, कृषि क्षेत्रको उत्थान तथा रोजगारी सिर्जना, उद्यमशिलता र जिविकापार्जनमा जोड दिइएको बताइन् ।
त्यस्तै कोरोना संक्रमण्को प्रभावले उच्च जोखिमा रहेका अपांगता, भएका, गर्भवती, र सुत्केरी महिला र बच्चा, अति विपन्न, असहाय नागरिक, जेष्ठ नागरिक दीर्घरोगी व्यक्ति र उक्त परिवारको लागि राहत र रोजगार विमुख हुन परेका युवा जनशक्तिको लागि कामको अवसर सिर्जना गर्न बजेटमा जोड दिइएको उप–प्रमुख अधिकारीको भनाई छ ।
नीति, कार्यक्रम तथा बजेटमा स्वास्थ्य तथा पोषण, शिक्षा, युवा तथा खेलकुँद, खानेपानी तथा सरसफाई, लैगिक समानता र सामाजिक समावशीकरण, सामाजिक सुरक्षा र न्याय, संस्कृति तथा कला साहित्य, कृषि, उद्योग वाणिज्य, सहकारी, श्रम तथा रोजगारी, पर्यटन, सडक यातायात, भवन तथा शहरी विकास, विद्युत् तथा उर्जा र सूचना तथा सञ्चारमा जोड दिइएको छ ।
नगर प्रमुख अर्यालले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि आफ्नो टिम केन्द्रीत रहेको बताउँदै चालू वर्षमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ध्यान केन्द्रीत गर्नु परेको बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण कतिपय योजना सम्पन्न गर्न कठिनाई भएपनि चालू आर्थिक वर्षका अधिकांस योजनाहरु सम्पन्न भएको नगरप्रमुख अर्यालको भनाई छ ।
नगरसभाले ४१ वटा निर्णय सर्वसम्वत पारित गर्दै आर्थिक ऐन र विनियोजन विधेयक २०७७ पारित गरेको छ भने कोरोना भाइरसले महामारीको रुप लिएमा अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि रोकथाम र नियन्त्रणमा खर्च गर्न सकिने म्याण्डेट पनि नगरसभाले पारित गरेको छ ।